नेकपा स्थायी कमिटी बैठक सरेको सर्‍यै, साउन १३ गते पुनः बस्ने

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि सरेको छ । मंगलबार बस्ने भनी यसअघि स्थगित भएको बैठक पुनः साउन १३ सम्मका लागि स्थगित भएको हो ।

अविरल वर्षापछि मुलुकका अधिकांश भागमा भएको बाढीपहिरोबाट भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पीडितको उद्धारमा लाग्न बैठक स्थगित भएको जनाइएको छ ।

बैठकले विपद् उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचार प्रबन्ध गर्न, घरबारविहीन भएकालाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले बाढीपहिरोले क्षति हुन गएका सडक, पुल तत्काल मर्मत गरी सवारी आवागमन चालु गर्न समेत आग्रह गरेको छ ।

बैठक बिहान ११ बजेको लागि तय भएको थियो । २ घण्टा स्थगित गरी सुरु भएको बैठक नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहालबीचको फोन संवादपछि सारिएको बताइएको छ ।

आपसी सहमति खोज्न स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ । गत असार १० देखि शुरू स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

केही दिनअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेकामा अध्यक्ष दाहाललगायतले शीर्षस्थ नेताले सहमति जनाएका छैनन् ।

दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताले प्रम ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडान छोडेका छैनन् । तर ओली सहजै राजीनामा दिने पक्षमा छैनन् ।