मेगा बैंक नेपाल लिमिटेड ११ औं बर्षमा

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ ।१० औं बार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको बर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनले बताए ।

यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको शाहले बताए ।

कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन । उहाँका अनुसार, यसका लागि बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बैंकले बनाएको बताउनु भयो । ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै बर्षभरि नै प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौं ।’– सिइओ खुञ्जेलीले भनिन ।

यसैगरी, १० औं बार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ । २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ ।

मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।