राखेप सदस्यसचिव बन्न सिलवाल, थापामगर र श्रेष्ठको नाम सिफारिस

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस समितिले रमेशकुमार सिलवाल, लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठको नाम बुधबार मात्र युवा तथा खेलकुद मन्त्री समक्ष सिफारिस गरेको हो।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्यसचिव हुन् । उनी प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।थापा मगर नेकपाका केन्द्रीय सदस्य तथा नेपाल भलिवल संघका पूर्व अध्यक्ष समेत हुन् ।त्यस्तै, महिलाबाट सिफारिस श्रेष्ठ भलिवलकी पूर्व राष्ट्रिय खेलाडी तथा पूर्व कप्तान हुन्।समितिको ६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

 मन्त्रिपरिषद्को अब बस्ने बैठकले तीन जनामध्ये एकलाई राखेप सदस्यसचिवमा नियुक्ति गर्नेछ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिफरिस भएका तिन जनाको नाम सम्भवतः विहीवार नै बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने छन् । राखेप सदस्यसचिवका लागि यसअघि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए। तीमध्ये ३ महिला थिए ।

२७ आवेदकमध्ये २ जनाको नाम प्रक्रिया नपुगेको भन्दै रद्द गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित समितिमा एक सदस्यसहित ३ जनाको नाम सिफारिस गर्नका लागि रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य बनेका थिए ।