
संसारभर महामारी रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को खोप वा औषधी कहिले आउँछ सर्वत्र चासोको विषय छ । अहिले यो एउटा यस्तो विषय हो, जसको सकारात्मक खबरले पुरै विश्वमा खुसीयाली छाउनेछ।
यस्तै नतिजाका लागि विश्वका कैँयन् मुलुकहरु कोरोना भाइरसविरुद्ध खोपको अनुसन्धानमा अहोरात्र खटिएका छन् । अमेरिका र बेलायतले कोरोना भाइरसविरुद्धको खोप विकास गर्दै सफल परीक्षणको नजिक पुगेको बताएका छन्।
यस्तै चीन, इरान, रुस, इटलीलगायत अन्य मुलुक पनि अहिले यस्तै खोप तथा औषधी निर्माणको अनुसन्धानमा जुटेका छन् । अनुसन्धानरत् केही मुलुक तथा कम्पनीहरुले आफूले खोपको प्रमाणित सफलता नजिक पुगेको दाबी गरिरहेका छन्।
केही दिनअघि रुसको सेचेनोभ विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप आफूले सफल रुपमा तयार गरेको दाबी गरेको थियो । यद्यपि यसको आधिकारिता अझै सार्वजनिक भएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसबारे थप अध्ययन गर्नै बाँकी रहेको जनाएको छ।
डब्लुएचओका अनुसार अहिले विश्वका विभिन्न मुलुकमा १ सय ६३ खोपको परीक्षण भइरहेको छ । तीमध्ये थोरै खोपको मात्रै दोस्रो वा तेस्रो क्लीनिकल चरण चलिरहेको छ।
अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप जतिसक्दो छिटै ल्याउने तयारीस्वरुप तीव्ररुपमा काम गरिरहेको जनाएका छन् । दुवै देशले थालेको प्रयासमा सकारात्मक नतिजा देखा परेको समाचार पछिल्ला दिनहरुमा आइरहेका छन्।
महिनौंदेखि कोरोना महामारीबाट आक्रान्त सिंगो मानव समुदायलाई यस्ता खबरले खुसीसँगै आशावादी बनाएको छ । खोप अनुसन्धानमा संलग्न वैज्ञानिकहरु पनि यही वर्षको अन्त्यसम्म कोरोनाविरुद्ध नयाँ खोप विकास भइसक्नेमा आशावादी देखिएका छन्।
आखिर कहिले आउँछ त कोरोनाविरुद्धको खोप?
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक औषधी उत्पादक कम्पनीसँग मिलेर खोप निर्माण गरिरहेको छ । अक्सफोर्ड र आस्टजेनेकको संयुक्त प्रयासमा तयार भइरहेको खोप कोरोना भाइरसविरुद्ध लड्न सक्षम रहेको प्रारम्भिक नतिजा आएको छ । यही आधारमा अक्सफोर्डले थप परीक्षणलाई तीव्र बनाउँदै लगेको छ । उसका अनुसार यसै वर्षको नोभेम्बर वा डिसेम्बरसम्म यो खोप तयार हुने सम्भावना छ । यो खोपको प्रारम्भिक नतिजालाई लिएर सम्बद्ध वैज्ञानिकहरु समेत निकै आशावादी छन्।
यस्तै अमेरिकाको केम्ब्रिजस्थित बायोटेक कम्पनी मोडेर्नाले तीव्ररुपमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने खोपको विकास गरिरहेको छ । मोडेर्नाले पहिलो र दोस्रो चरणको क्लीनिकल परीक्षण पूरा गरेको छ । यो कम्पनीले अब छिटै ठूलो संख्यामा तेस्रो चरणको परीक्षण गर्दैछ।
हालसम्मको नतिजाबाट उत्साही मोडेर्नाले पनि यसै वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको खोप विकास गरिसक्ने ठोकुवा गरेको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउची पनि मोडेर्नाको अनुसन्धानमा धेरै नजिकबाट जोडिएका छन् । उनले यसको नतिजाप्रति आफू निकै उत्साही र आशावादी रहेको भन्दै अमेरिकाबाट कोरोनाको खोप यसै वर्षभित्रै आउने विश्वास व्यक्त गरेका छन्।
अक्सफोर्डले बेलायतका १ सय ७७ व्यक्तिमा हालै यो खोपको प्रारम्भिक परीक्षण गरेको हो । यसको नतिजा निकै राम्रो देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले उल्लेख गरेका छन् । यो खोपले कोरोनासँग भिड्ने एन्टिबडी विकास गरेको उनीहरुको भनाइ छ।
परीक्षणक्रममा धेरै जनामा टाउको दुख्ने र ज्वरो आउने साइड इफेक्ट देखिए पनि यो खोपले ती व्यक्तिमा एन्टिबडी विकास गरेको थियो । जुन कोरोना भाइरसविरुद्ध लड्ने उत्साहजनक नतिजाका रुपमा लिइएको छ । उनीहरु खोपको यस्तो साइड इफेक्टलाई सामान्य मान्छन् । जुन अरु औषधीले सजिलै निको पार्न सकिन्छ।
यसै नतिजाका आधारमा सम्बद्ध वैज्ञानिकहरु सन् २०२० कै अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप सबैका लागि ल्याउन सकिनेमा आशावादी हुँदै आएका छन् । यद्यपि यो खोपको पूर्ण नतिजा आउन र अनुसन्धान पूरा हुन अझै केही समय लाग्ने उनीहरुको भनाइ छ।
बेलायतमा अर्काे चरणअन्तर्गत थप १० हजार जनामा यो खोपको परीक्षण गरिँदैछ । त्यसपछि यसको परीक्षण ३० हजार अमेरिकीहरुमा गरिने योजना छ।
यता अमेरिकामा मोडेर्नाले दोस्रो चरणमा ४५ जनामा गरेको खोप परीक्षणको नतिजा सकारात्मक आएको छ । गत मार्चमा ८ जनामा गरिएको पहिलो परीक्षण सफल भई दोस्रो चरण थालिएपछि उक्त कम्पनीको खोपप्रति सिंगो अमेरिकाले निकै आशा गरेको छ।
यसको तेस्रो क्लीनिकल परीक्षण जुलाई २७ मा सुरु हुँदैछ । यसपटक ३० हजार मानिसमा यो खोपको परीक्षण हुनेछ । यो परीक्षणको नतिजालाई अमेरिकाभर निकै उत्साहका साथ प्रतीक्षा गरिएको छ । तेस्रो चरणको परीक्षण सफल भएमा यसै वर्षको अन्त्यसम्म पर्याप्त खोपसहित सार्वजनिक प्रयोगका लागि आउन सकिने उसको भनाइ छ।
यस्तै चीनको सिनोभेकले पनि आफ्नो अनुसन्धान तेस्रो चरणमा पुगेको बताएको छ । उक्त कम्पनीले ब्राजिलमा यो खोपको परीक्षण गरिरहेको छ । चीनकै अर्काे कम्पनी सिनोफर्मले यूएईसँग मिलेर यस्तै खोप बनाइरहेको छ।
यसरी कोरोनाको कहर जतिसक्दो छिटो अन्त्य गर्न संसारभरबाट अहिले अनेक प्रयास भइरहेका छन् । जसमा ठूला र शक्तिशाली राष्ट्रहरुले खोप अनुसन्धान र निर्माणमा ध्यान केन्द्रित गरेका छन् । यसका लागि उनीहरुले ठूलो धनराशि समेत खर्च गरिरहेका छन्।
अमेरिकाले बेलायतमा अनुसन्धान भइरहेको खोपका लागि १ अर्ब २० करोड डलर लगानी गरेको छ । अनुसन्धान पूरा भई खोप निर्माण भएपछि आफूले त्यस रकम बराबरको डोज पाउने गरी अमेरिकाले प्रिअर्डरका रुपमा यो लगानी गरेको हो । बेलायतले पनि अनुसन्धानकै चरणमा १० करोड डोज खोप अर्डर गरिसकेको छ । (बिबिसी र सिएनएनको सहयोगमा)