स्मृतिमा श्रीमान् थुलुङ पोखरामा विमोचित

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


पोखरा । गायक, संगीतकार एवं गीतकार श्रीमान् थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ पोखरामा विमोचन गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले “स्मृतिमा श्रीमान थुलुङ” नाम सो स्मृति ग्रन्थको विमोचन गर्दै स्मृति ग्रन्थले श्रीमान् थुलुङको सम्झना गराइरहने बताए ।

गायक थुलुङलाई चिरस्थायी बनाउन स्मृति ग्रन्थको महत्वपूर्ण भूमिका हुने भन्दै उनले परिवारको सक्रियता र सहयोगी मनहरूको सहकार्यमा अक्षयकोष स्थापना गरी संगीत क्षेत्रका प्रतिभालाई सम्मानको थालनी गर्न लागिएकामा खुसी व्यक्त गरे ।

नेकपा केन्द्रीय सदस्य एवं कास्की सह–इञ्चार्ज श्रीनाथ बरालले श्रीमान् थुलुङका सपना पूरा गर्न बाँचेकाहरूले विशेष काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वाञ्चल सेवा समाज, कास्की अध्यक्ष गोपाल खड्काले थुलुङ सबैसँग मिल्न सक्ने मिलनसार व्यक्तित्व भएको स्मरण गरे ।

स्मृति ग्रन्थ प्रकाशन समिति संयोजक डीबी राईको अध्यक्षतामा भएको समारोहमा अनुज कुलुङले समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा किराँत सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा. लक्ष्मीप्रसाद राई, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, प्रकाशन समितिका सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले थुलुङको व्यक्तित्वबारे बोलेका थिए । यस्तै, स्मृति राई, संगीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए ।

स्मृति ग्रन्थ बिक्रीबाट बचत रकम थुलुङको सम्झनामा अक्षयकोष स्थापना गरी हरेक वर्ष सङ्गीतको क्षेत्रमा अगाडि बढ्ने सङ्गीतकर्मीलाई सम्मान गरिने राईले जानकारी दिए ।

स्मृति ग्रन्थको प्रकाशक तराना म्यूजिक सेन्टर र संरक्षक थुलुङकी श्रीमती विमला राई छन् । स्मृति ग्रन्थमा ४६ शीर्षकमा ४६ जना विभिन्न क्षेत्रका व्यक्तिले श्रीमान थुलुङको बारेमा लेखेका लेख समावेश छ ।

संगीतकर्मी थुलुङले पोखरामा तराना म्यूजिक सेन्टर स्थापना गरी नयाँ प्रतिभा जन्माउन सहयोग गरेका थिए । उनको २०७५ चैत २८ मा स्कूटर दुर्घटनामा परी निधन भएको थियो ।