बिदेशमा खाएको स्वदेशी फल

-



     सुस्मिता दाहाल    
     श्रावण ९ गते २०७७ मा प्रकाशित



उमेर जिम्मेवारी बढे  सँगै हामी कहाँ कहाँ पुग्छौ । जहाँ पुगेपनी जन्मे हुर्केको गाँउ रहन सहन भने  कहिले नबिर्सिने रहेछ । पढाईको सिलसिलामा २ बर्ष अगाडी म अष्ट्रेलिया आइपुगे । अरु सुख दुखका कुराहरु त छँदै छन तर मलाई अष्ट्रेलियाको एउटा कुरा भने सार्है राम्रो लाग्यो, त्यो के भने यहाँ नेपालमा पाइने सबै फलफुल तरकारिहरु पाइन्छन । पिडालुको गानो देखी लिएर, मुलाका चाना सबै । माछामासु भन्दा नि पेट नचर्किए सम्म फलफुल तरकारी  खान नपाए चित्त नबुझ्ने मान्छे म, नानी पेटमा भएको बेलामा फर्सिका मुन्टा, निहुरीमुन्टी समेत खान पाउँदा धेरै खुशी  भएँ ।यस्तै कुराहरु गरी रहँदा म औटा रमाइलो घटना सधै सम्झिरहन्छु ।

म भर्खर भर्खर अष्ट्रेलिया आएको बेला धेरै हिँडडुल गर्दिन  थिएँ, भाइहरु सबै जना काममा हुन्थे, मैले चाहिँ काम पाइसकेको थिइन । कलेज गयो, पढ्यो, घर आयो बस्यो गर्दा दिन बित्थ्यो । हामी बसेको घर देखी ट्रेन इस्टेसन सम्म पुग्न १५ मिनेट हिंड्न पर्थ्यो । बाटोको छेउछाउमा धेरै पसलहरु थिए। मलाई एउटा आफ्नै बुवा कै झल्को आउने मुस्लिम बा को पसल भने छिर्न मन लाग्थ्यो । घर फर्किदा आफुलाई चाहिने दुध्, पाउरोटी त्यही बाट किनेर लान्थेँ । पसलमा सिजन अनुसारका फलफुलहरु पनि पाइन्थ्यो ।

यस्तै एक दिन म पसल  छिरेँ, पसलमा खैरो रङ्को एउटा  चिज टोकारीमा राखेको देखेँ, पहिला त मलाई फल हो कि तरकारी हो ठम्याउँन गार्हो भयो । अनि पसले बालाई सोधेँ, यो फल हो भनेर चिनाउनु भयो । मैले कसरी खाने भनेर पनि सोधेँ, फल भित्र जुस हुन्छ, बिया पनि हुन्छ अलिकती छोडाएर चम्चाले खान मिल्छ भन्नु भयो । मलाई पनि नयाँ फल कस्तो रैछ भनेर चाख्न मन लाग्यो, अनि किनेर घर  लगेँ । घर पुगेर फल खान चम्चा लिएर बसेँ, थोरै कोट्टाएर यसो हेरेको त म अचम्ममा परे । त्यो फल त लहरे आपँ पो रहेछ ।

त्यो लहरे आपँ देखे  सँगै बाल्यकालको सम्झनाहरु आउन थाले । घरमा लहरे आपँको १ बोट अनि ठुलो बुवा र सानु बुवाका छोराछोरी गरेर आठ दश जना केटाकेटी । सँगै भएको खनायो र गोगनको रुखमा चढेका लहरामा लटरम्म परेर फलेका लहरे आँपका गेडा हामीले त पाक्न नै नदिने रहेछौ । फलको भित्र गुदिमा अलि अलि अमिलो पस्न नपाई हामी कित रुखमै चढेर कित लहरो नै तानेर टिपेर सकिसक्थेउ । हजुरआमाले पाक्न त देउ पाकेपछी कती मिठो हुन्छ भन्दा पनि झन लुकी लुकी हाम्रो त बाँस नै त्यही लहरे आँपको बोटमा हुन्थ्यो । त्यही भएर पाकेको लहरे आपँको रङ कस्तो हुन्छ भनेर पनि थाहा नभएको रहेछ ।  उती महत्व पनि नदिइने यो फल पछी बोट नै मासिएर गयो । अहिले यहाँ देख्दा पो थाहा पाएँ हाम्रो पाखा बारीमा प्राय आफै उम्रेर फल्ने यो फलको पनि धेरै परिकार अनि जुस बनाउँन मिल्ने रहेछ । मिहेनत अनि खर्च पनि कम लाग्ने यो फल हाम्रो देशमा पनि व्यवसायिक रुपमा खेतीगर्न सके राम्रो हुन्छ जस्तो लाग्छ्।

अब दाई भाईका छोरा छोरी पनि हुर्किदै छन । हामी दिदी बहिनिका छोरा छोरीले पनि साथिभाइलाई “मामाघर गएर लहरे आपँ खाको” भनेर भन्न पाउछन । कुनै छोराछोरिले भोलिपर्सी म जस्तै आफ्नो अनुभव पनि सुनाउलान् । भन्दै बुवालाई अनलाईनमा कुरा गर्दै सबै कुरा सुनाएर मैले भने “बुवा फेरी लहरे आपँको बोट खोजेर रोप्नु न है” ।

हाल अष्ट्रेलिया