मौद्रिक नीतिको प्रभाव– ६३ अर्बले बढ्यो शेयर बजार पुँजीकरण

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित


काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको पुँजी बजारमा सकारात्मक प्रभाव परेको छ । फलस्वरुप पुँजी बजारको पुँजीकरणमा यो साता राम्रै सुधार देखिएको छ ।
यो हप्ता नेप्सेमा उतारचढावको भए पनि कारोबार रकम राम्रो रहेको छ । बजारमा धेरै मात्रामा शेयर कित्ताहरु कारोबार भएको छन् ।

यस साता लगानीकर्ताहरुको सम्पत्ती लगभग ६३ अर्ब ५० करोडले बढेको छ । अर्थात, गत साताको अन्तिम कारोबार दिन १८ खर्ब ३५ अर्ब ४२ लाख रहेको कुल बजार पूँजीकरण यस साताको अन्तिम कारोबार दिन ६३ अर्ब ५२ करोड ६२ लाख बढेर १८ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

यो साता पाँच दिनसम्म खुलेको शेयर बजारमा ३ दिन कारोबार घटेको थियो । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक ६ प्रतिशत बढेर त्यो दिनको लागि बन्द भएको थियो । दोस्रो दिन भने दुई चोटि सकारात्मक सर्किट लागेको बजार अन्तिम समयसम्ममा नकारात्मक भएर बन्द भएको थियो । यस साता नेप्से परिसूचक ४७.८४ (३.४३ प्रतिशत) अंकले बढेर १४४२.६१ विन्दुमा पुगेर बन्द भएको छ । यस साता १९७ कम्पनीहरुको १ लाख २८ हजार ३२४ पटकको कारोबारमा ७ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ९१ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक करिब ३.५० प्रतिशत बढ्दा यस साता एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा धेरै ३५.५६ प्रतिशत कमाएका छन् । गत साताको अन्तिम कारोबार दिन ५८५ रुपैयाँ रहेको यस लघुवित्तको शेयरमूल्य यस साता बढेर ७९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस साता ओरियण्टल होटलको शेयरमूल्य २९.५५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको २५.५४ प्रतिशत बढेको छ ।

यस साता नेपाल सेवा लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै घटेको छ । यसको शेयर मूल्य ८.६ प्रतिशत घटेको छ । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.०७ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ६.७८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस साता नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ । सो कम्पनीको यस साता ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस साता एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको ४० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यस साता नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, नबिल बैंकको ८५ करोड ७२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १२ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस साता होटल उपसमूहको परिसूचक सबै भन्दा धेरै १३.०६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने यस साता सबै भन्दा धेरै १.८० प्रतिशत घटेको छ ।