
यो सत्य हो, युरोपेली नागरिकहरु नेपाल भ्रमण गर्न रुचाउँछन्। युरोपेलीहरुको नेपालप्रतिको आकर्षण छुट्टै छ। एकपटक नेपाल भ्रमण गरेका युरोपेली फर्की फर्की नेपाल जान चाहन्छन् र अरूलाई पनि नेपाल जान प्रेरित गर्छन् ।
नेपाली पहिचान गर्ने पनि युरोपेलीहरूको आफ्नै पारा छ। नर्वेलीहरु नेपाली भनेका शेर्पा हुन् भन्ने ठान्दछन् । नर्वे पुगेर तपाईंले आफूलाई नेपाली हुँ भनेर चिनाउनुभयो भने, सामान्यतया तपाईंलाई प्रश्न आउँछ- आर यू शेर्पा? नर्वेमा नेपाली शेर्पाहरूले अप्ठ्यारा पहाडी क्षेत्रमा समेत बाटो बनाउन खुब सघाएका उनीहरु कहिल्यै भुल्दैनन् । नेपालीहरू साहसी, इमान्दार, सहनशील र मिलनसार हुन्छन् भन्ने छाप उनीहरुमा परेको छ । त्यसैले नेपालीलाई माया र इज्जत गर्छन्। मनले खाएका नागरिक भएको देश (नेपाल) जान उनीहरूलाई मन लाग्ने नै भयो।
त्यसैगरी युरोपका धेरै नागरिकहरुलाई नेपाल बुद्धको जन्मभूमि हो भन्ने पनि थाह छ। पछिल्ला बर्षहरुमा यसबारेको प्रचारप्रसार पनि तीब्र भएको छ। युरोपका अन्य देशहरुमा पनि नेपालीहरुप्रति राम्रो हेराइ छ। काममा दत्तचित्त, इमान्दार, मेहनती र सिक्ने इच्छाशक्तिमा नेपालीहरू अगाडि छन् भन्ठान्छन् उनीहरू। नेपालीसँग मित्रता गाँसेका युरोपेलीहरू नेपालीले पाहुनालाई गर्ने इज्जत र स्वागतबाट पनि प्रभावित छन्। युरोपमा रहेका नेपालीहरुको त्यस्तै व्यवहारले गर्दा उनीहरुको नेपाल घुम्ने इच्छालाई थप मलजल गर्छ।
युरोपेलीहरू नेपाललाई विशेष गरी ‘माउण्ट एभरेष्ट’को देश भनेर चिन्छन् । रमाइलो चाहिँ के भने, एक पटक पनि नेपाल नगएका युरोपियनहरू प्रत्येक नेपालीले जिवनमा एकपटक त सगरमाथा चढेकै हुन्छ होला भन्ने ठान्दछन् ।
नेपाल सरकारले भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको सन् २०२० दुर्भाग्यवश कोरोनाको चपेटाले अस्तव्यस्त बन्न पुग्यो। यद्यपि बर्ष २०२० को सुरुवातमै उल्लेख्य मात्रामा युरोपियन पर्यटक नेपाल गइसकेका थिए। मार्च महिनासम्ममा ६ हजार युरोपियन पर्यटक नेपाल भित्रिएका थिए भन्ने तथ्याङ्कले देखाउँछ। यदि परिस्थिति सामान्य भएको भए त्यो संख्या उल्लेख्य बढ्नेमा शंकै थिएन। मार्च २३ मा नेपाल सरकारले बन्दाबन्दी घोषणा गर्दा र त्यसअघि युरोपका सबैजसो देशले अन्तर्राष्ट्रिय उडानमा हेरफेर गर्दा नेपाल जान ठिक्क परेका कति पर्यटक युरोपमै रोकिएका थिए भने कतिपय बाटोमा अड्किएका खबर आएको थियो। नेपालको बन्दाबन्दीपछि युरोपियन पर्यटकहरू नेपालका लागि युरोपियन युनियनकी एम्बासडर भेरोनिका कोडीको पहलमा आ-आफ्ना देश फर्काइएका थिए। ती युरोपेली पर्यटकहरू नेपाल घुम्ने रहर पुगेर हैन बिषम परिस्थितिमा परिवारसँगै रहने बाध्यताले हतारमा फर्कनुपरेको थियो। परिस्थिति अनुकूल भएपछि उनीहरूले फेरि नेपाल भ्रमण गर्नेछन् भन्ने आशा गर्न सकिन्छ।
युरोपेली पर्यटकले भ्रमणका लागि नेपाल रोज्ने विविध कारणहरू छन् । नेपाल सगरमाथाको देश र बुद्धको जन्मभूमि भएकाले र नेपालीहरुको बानी व्यवहारबाट प्रभावित युरोपेलीहरूको प्राथमिकतामा नेपाल पर्ने भन्ने त यहाँ उल्लेख भइसकेको छ। माथि उल्लेख भएका केही चिजहरुबाट उनीहरू आकर्षित छन् भने थप केही उल्लेख गर्नु वाञ्छनीय छ।
भौगोलिक विविधता:
नेपालको भौगोलिक विविधताबारे विश्वभर र युरोपमा पनि चर्चा हुने गर्छ। सानो देश भइकन फरक भौगोलिक बनावटको चर्चाले धेरैलाई कौतुहल बनाउँछ। युरोपमा पनि विविध भौगोलिक अवस्थिति भएका देशहरू नभएका होइनन्। यद्यपि हिमालबाट केहि घन्टामै पहाड हुँदै तराइको समथर पुगिने सानो तर भिन्न बनावटका जमिनको मजा लिन नेपाल भ्रमण गर्नुपर्छ भन्ने उनीहरूले बुझेका छन्।
हावापानी:
नेपालको हावापानी सवैका लागि उपयुक्त छ। गर्मी मन पराउने र मन नपराउने, जाडो रुचाउने र नरुचाउने तथा न जाडो न गर्मी तर ठिक्कको मौसम चाहिने सबैलाई नेपाल उपयुक्त छ। नेपाल जाँदा हावापानीको कारण समस्यामा परिन्छ कि भन्ने चिन्ता नपर्ने भएकाले र यो कुरा अधिकांश युरोपेलीले थाह पाइसकेकाले नेपाल उनीहरूको रोजाइमा पर्दछ।
आर्थिक कारण:
नेपालमा खानपिन, बसोबासदेखि यातायात, लुगाफाटो आदि उनीहरूलाई सस्तो लाग्छ। अहिले नेपालका धेरै ठाउँमा युरोपियन स्तरकै बजारको बिकास भएपनि मुल्यमा अन्यत्रभन्दा नेपालमा सहुलियत मिल्छ भन्ने पनि कतिपयलाई थाह भइसकेको छ। अझ केही युरोपियन पर्यटक त नेपालको बजारमा मुल्यमा हेरफेर (बार्गेनिङ) गर्न पनि सिपालु भइसकेका छन्। नेपाल भ्रमण गर्दा आर्थिक भार ज्यादा नपर्ने कारणले उनीहरु नेपाल जान रुचाउँछन्।
ध्यान र योग:
यतिबेला योगा युरोपमा विस्तार भइसकेको छ। योगा गर्ने युरोपियनहरुको संख्या क्रमशः बढ्दो छ। त्यसतै ध्यान र मनोशान्ति गर्ने युरोपियनहरुको इच्छा पनि बढ्दो क्रममा छ। गौतम बुद्धले ध्यान गरेर बुद्धत्व प्राप्त गरेको ठाउँ र योगाको उत्पति भएको क्षेत्र नेपाल हो भनेर थाह पाएका युरोपियनहरुले त्यसका लागि पनि नेपाल जाने रुची राखेका पछिल्ला बर्षहरुमा पाइएको छ।
आरोहण:
धेरै युरोपियनहरु हाइकिङ र ट्रेकिङ्गका सौखिन छन्। उनीहरूलाई नयाँ नयाँ ठाउँमा हिँडेर यात्रा गर्न मन पर्छ । नेपालमा त्यसरी यात्रा गर्न सकिने धेरै ठाउँहरू छन् जहाँ हिँड्दा हिँड्दै प्राकृतिक सुदरताको रसास्वादन पनि सँगसँगै गर्न पाइन्छ। अर्को कुरा, धेरै युरोपियनहरू हिमाल आरोहणमा पनि रुची राख्छन्। नेपालमा साना ठुला थुप्रै आरोहणका सम्भावनाले पनि उनीहरूलाई त्यतातिर तान्छ। संसारकै सर्वोच्च शिखर सगरमाथाको आरोहणमा पनि युरोपियन आरोहीहरुको संख्या उल्लेख्य छ। सन् २०१९ को प्रि-मनसुन सम्ममा डेनमार्कका मात्रै १९ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका तथ्याङ्कमा उल्लेख छ। त्यो बाहेक, बेलायत, फ्रान्स, इटाली, जर्मनी लगायत अन्य देशका आरोहीहरू पनि छन्। यही आरोहणको महत्वाकांक्षाले कतिपय युरोपेलीलाई नेपालतर्फ तान्दछ। शिखर आरोहणको साहस नगर्नेहरु पनि बेसक्याम्प सम्मको यात्रामा गएका त अनगिन्ती छन्।
यी बाहेक नेपालका ऐतिहासिक स्थल, परम्परा, संस्कृति, भेषभुषा, खानेकुराका परिकार, नेपालीको पाहुनालाई स्वागत सत्कार गर्ने तरिका आदिबाट पनि युरोपियनहरू लोभिएका र फर्की फर्की नेपाल जान इच्छुक हुनेगरेका पाइएको छ। नेपाल घुमेर फर्किएका युरोपेलीले युरोपमा नेपाली भेट्दा ‘तिमी नेपाल जस्तो देशमा जन्मिएर भाग्यमानी भएका छौ’ पनि भन्ने गरेका छन्।
यसरी नेपालप्रति युरोपका पर्यटकको आकर्षण बढ्दो छ। नेपाल पर्यटन बोर्डले युरोपका बिभिन्न देशमा पर्यटन दुतहरू नियुक्त गरेर थप प्रबर्द्धनको कोसिस गरिरहेको देखिएको छ। तत्काललाई विश्व अलग्गै परिस्थितिमा भएकाले समय कुर्नुपर्ने भएको छ। परिस्थितिको अनुकुलता सँगै युरोपियन पर्यटकको नेपाल गमन आशाजनक छ।