सनराइज बैंकको आन्तरिक बिवाद सतहमा, सीईओलाई नहटाए अध्यक्ष नै हटाउने चेतावनी

-



     सफल आवाज    
     श्रावण १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० साउन । सनराइज बैंकको आन्तरिक बिवाद सतहमा आएको छ । बैंकका अध्यक्ष मोतिलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कतिपय निर्णयहरु सञ्चालक समितिमा छलफल नै नगरी काम अघि बढाएको भन्दै शुरु भएको असन्तुष्टि सतहमा आएको हो ।

गत बिहीबार बसेको सञ्चालक समिति बैठकमा शैलेन्द्र गुरागाईं लगायतका केहि सञ्चालकहरुले सीईओले अध्यक्ष दुगडलाई मात्रै बैंकको बोर्ड ठानेको भन्दै असन्तुष्टि जनाएका थिए ।

सीईओ पौड्यालले त्यसको खुलेरै विरोध गरे । त्यसपछि झन बिवाद चर्किएको थियो । बिवाद बढ्दै गए पछि सञ्चालकहरुले सीईओले राजिनामा दिए बिवाद समाधान हुने बताएका थिए ।

त्यसपछि सीईओलाई बोर्डले स्पष्टिकरण सोधेको छ । सोमबारसम्म लिखित जवाफ पेश गर्न भनिएको स्पष्टिकरण अहिलेसम्म पौड्यालले बुझाएका छैनन् । सञ्चालक समितिका अध्यक्ष दुगड पौड्याल पक्षमा नै छन् भने सञ्चालकहरु गुरागाँईं, शारदा शर्मा, ओमकृष्ण जोशी र दिपक नेपाल पौड्यालको विपक्षमा उभिएका छन् ।

पौड्याल सीईओमा नियुक्ति हुनु अगाडि पनि बैंकमा धेरै बिवाद थियो । एक वर्ष अघि संचालक समितिले निरज श्रेष्ठलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको थियो । तर अहिले बिवाद चर्काउने सञ्चालकहरुले त्यसबेला पनि निकै बिवाद चर्काएका थिए ।

बिवाद उत्कर्षमा पुगेपछि नियुक्ति पाइसकेका श्रेष्ठले नियुक्ति नलिने बताएका थिए । त्यसपछि पौड्याललाई भने सर्वसहमतिमै एक वर्ष अघि सीईओ नियुक्त गरिएको थियो ।

४ वर्षे कार्यकालका लागि नियुक्ति पाएका पौड्यालले सहमति मै राजिनामा दिए ३६ महिनाको अतिरिक्त तलब तथा सेवा सुविधा दिएर बिदा गरिने बैंकका एक सञ्चालकले बताए ।

तर राजिनामा नदिएको अवस्थामा भने माहोल फरक हुने उनले बताए । ‘अहिले आत्तिहाल्नु पर्ने केहि छैन, वहाँको ३६ महिना कार्यकाल बाँकी छ, राजिनामा दिनु भए त्यो बाँकी अवधिको सबै सेवा सुविधा लिएर सम्मानजनक बिदाई हुनुहुनेछ’ नाम नलेख्ने शर्तमा ति सञ्चालकले भने, ‘यदि राजिनामा दिनु भएन भने हामी अध्यक्षज्यूको राजिनामा माग्छौं, बोर्डबाट बहुमतले निर्णय पनि गराउन सक्छौं ।’

उनले अध्यक्ष दुगड र सीईओ शर्माले महत्वपूर्ण काम गर्दा पनि सञ्चालकलाई नसोधेका कारण बिवाद सिर्जना भएको बताए ।