
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद दिनानुदिन नयाँनयाँ कथा पटकथामा देखिदै आएको छ । लामो समय पछाडि बसेको स्थायी समिति बैठकले आफ्नो एजेन्डामा छलफल गरिरहे पनि एकाएक राजीनामाको नयाँ मुद्दा प्रवेश भएपछि बैठक एजेन्डा भन्दा बाहिर छरपस्ट हुन पुगेको छ । विवाद मिलाउनकै लागि भनेर गरिएका कैयन छलफलले विवाद समाधानको सुत्र पत्ता लगाउन सकेको छैन ।
छिनमै स्वरुप परिवर्तन भएझैं लाग्ने विवाद शृङ्खलाको मुख्य कारण चाँहि केही फरक पाईन्छ । अहिले नेकपामा खासगरि देखिएका मुख्य ओली, प्रचण्ड, माधव (o,p,m) तीन गुट आ-आफ्नै दाउपेचमा रहेका छन । कहिले ओली अलि शक्तिशाली जस्तो देखिन्छन् त कहिले प्रचण्ड । यता माधव लगायतकाको छुट्टै गुट पनि त्यति कमजोर छैन तर यस गुटको अन्तिम संघर्ष र लक्ष्य स्पष्ट छैन । तत्कालीन अवस्थामा नेतृत्वले पार्टीको निर्णय र सिद्धान्त मान्नुपर्छ भने पनि यो गुटको अहिलेको मागको सारतत्व भनेको भागबन्डाकै कारण बढी आएको पाइन्छ ।
तर प्रचण्ड र ओलीको भने यो झगडा अहिलेको लागि मात्र नभएर सुदुर सम्मको एक कडि मान्न सकिन्छ । बाहिर बाट हेर्दा ओली-प्रचण्ड मात्र लागे पनि यो झगडामा ओली गुटमा पनि ओली दरिलो कभर मात्र हुन । उनका पछाडि विद्या लगाएत निक्कै पात्रहरू छन । नेकपाले निर्वाचन बाट जस्तो नतिजा लिएर आयो त्यो लगभग अपेक्षित नतिजानै थियोे ।
स्वभाविक रुपमा दुई ठूला पार्टी एक हुन्छौं भनेर जनता सामु जस्ता बाचाहरु गरे त्यसलाई सत्ता संघर्ष देखिर आजित जनताले अरु कुराको विस्वास नगरे पनि सत्ता लडाइँको चीत्कार सुन्न चाहेनन् र नेकपा लाई अनुमोदन गरि दिए । तर मत दिनुको अर्थ मन दिनु हैन र मनपरि गर्न छुट दिनु पनि हैन । जनताले जुन अभिमतका साथ नेकपा लाई नेतृत्व सुम्पिएर ओली नेतृत्वको सरकार बन्यो ।
त्यसले नियमित काम बाहेक जनअपेक्षा विपरीत एकपछि अर्को गर्दै काण्ड हरुमा फस्न थाल्यो र जनतामा निराशा छाएर स्वतस्फूर्त रुपमा युवाहरू सडकमा आउने वातावरण समेत बनायो तर लगत्तै नयाँ नक्शा सार्वजनिक गरे पछि त्यसले सरकारको पुराना कमजोरी लाई ढाक्न बलियो कभर बनायो । नेकपाको अहिलेको विवाद सरकारको काम, एजेन्डा वा राजिनामामा मात्र सिमित कुरा हैन ।
सरकार र पार्टीको असफलता लुकाउन अनेकौं बहाना गर्ने राजनीतिक कर्मिको अहिलेको संघर्ष भनेको ओली र प्रचण्डकै हो । प्रचण्ड आगामी नेतृत्वका लागि आफूलाई सबैभन्दा शक्तिशाली बनाएर जित सुनिश्चित गर्न चाहन्छन् र अवस्था पनि लगभग त्यतै तिर उन्मुख छ । झट्ट हेर्दा कहिले ओली त कहिले नेपाल पछि लागेजस्तो देखिए पनि यो दौडनु भन्दा पहिलेको एक पाइला पछाडि सर्नु जस्तो मात्र बुझिन्छ।
नेपाली राजनीतिमा डाइनामिक पात्र भनेर चिनाउने उनी आगामी नेतृत्व आफ्नै हातमा पार्न उद्दत देखिन्छन् । तत्काललाई हेर्दा नेपाल गुटले नेतृत्वको दावी नगर्ने र भिड्दा ओली गुट सँगनै भिड्ने भएको नेपाल गुटले आफूलाई साथ दिन सक्छ भन्ने प्रचण्डको ठम्याइ छ । यस कुराको राम्रो नजरअन्दाज गरेको ओली गुट भने भयभीत देखिन्छ । आफ्नो छुद्र वचन र व्यवहारले धेरैलाई चिढ्याएका ओली गुटलाई के महसुुस भएको छ भने यदि बोली र व्यवहार परिवर्तन गर्न सकेनौं र अहिलेकै अवस्थामा महाधिवेशन भयो भने पनि नेतृत्व हाम्रो रहदैन भन्ने प्रष्ट बुझाई छ ।
यसो हुँदा कहिले जवज त कहिले अरु काण्ड गरेर ओली समूह पुर्व माओवादीलाई पार्टी बाट पन्छाउन वा प्रचण्डको शक्ति रोक्न चाहन्छ । उसको के ठम्याइ छ भने तत्कालै पुर्ण रुपमा पुर्व एमालेका नेपाल गुटले प्रचण्डलाई मात्र विस्वास गरिहाल्न सक्दैनन् र यस्तै अवस्थामा पुर्व माओवादी चिढ्याउदै नेपाल गुट लाई पुर्व एमालेकै अवस्थामा फर्काएर प्रचण्ड, नेपालमा विभाजन ल्याउने उनीहरूको दाउ देखिन्छ ।
तर यो पनि त्यति सजिलो पक्कै छैन । नेपाल गुटलाई पटकपटक अपमान गरेर आफ्नो अहंकार देखाएका ओली सँग नेपाल तत्कालै मिल्ने देखिदैन । निर्णयक जस्तै बनेको नेपाल गुट ओली लाई भन्दा प्रचण्डलाई साथ दिन सक्छ भन्ने अड्कल सहज गर्न सकिन्छ । फुटको संघारमा रहेको नेकपामा पुर्व माओवादी फुटेर जाने देखिदैन उ चाहँदैन पनि । नेपाल गुट पनि पार्टी फुट्नु हुँदैन भन्नेमा छ ।
यसको मुख्य कारण भनेको चाँहि प्रचण्ड अहिलेको जनताको मत बाट बनेको नेकपाको सबै शक्तिको नेतृत्व गर्न चाहन्छन् र नेपाल, गौतम पनि पार्टी नफुटेमा ओली लाई भन्दा प्रचण्डलाई स्विकार्दा ठिक हुन्छ भन्नेमा देखिन्छन् । यता ओली गुट भने कुनै न कुनै बहानामा आफ्नो सत्ता र शक्ति रहदैन भने एकै ठाउँमा बस्नु हुँदैन भन्ने निष्कर्षमा छ ।
यसैको पछिल्लो उदाहरण हामी अल्पमतमा छौँ भने अविश्वासको प्रस्ताव ल्याए भइ गयोनी भन्ने हो । तत्कालीन अवस्थामा ओली निकट गुट बाहेकले पार्टी फुटाउन नसक्ने भएकोले पनि कुनै न कुनै बहानाको खोजीमा ओली निकट गुट छ । एकै पार्टीमा रहिरह्यो भने आफ्नो भविष्य असुरक्षित हुन्छ भन्ने मनको बाधले खाएका उनीहरू जसैगरी पनि आफू हावि हुन चाहन्छन् । र अर्को तर्फ ओली गुट लाई के लागेको छ भने अहिलेको जनमत हाम्रै कारण मात्र संभव भएको हो भन्ने उनीहरूको बुझाई छ ।
त्यो केही हदसम्म सहि भए पनि सबै त्यस्तो हैन । उनीहरूलाई अझै के लागेको छ भने हामीले पार्टी फुटायौं भने पनि जनताको त्यो साथ रहिरहन्छ भन्ने भ्रम छ । यो चाहिँ हावाले उडाएको माटोले सधै माथि रहन्छु भन्ने घमण्ड गर्नु जस्तै हो । नेकपाको भविष्यमा ओली, प्रचण्ड, नेपाल हुन वा नहुन जनतालाई केही फरक पर्दैन तर सबै पार्टी एक भएर राष्ट्र निर्माणमा जुट्ने बेलामा फुटको लागि प्रेरित गर्ने-गराउने सबै राष्ट्रघातीनै मानिन्छन् ।
घर जलाएर खरानीको व्यापार गर्न खोज्ने र गराउन खोज्ने कसरी बुद्धिमानी हुनसक्छर ! त्यसैले व्यक्ति हैन विधि, व्यवस्था हैन अवस्था हेरौं । अहंकार र त्रासले राजनीतिज्ञ जलुनु तर देशलाई राप नपरोस् ।