सिलवाल फेरि राखेप सदस्यसचिव

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित


राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । पदमुक्तको ३ सातापछि उनलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ वर्षका लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो ।

नेपाल भलिबल संघको सिफारिसमा यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त उनी यसपालि भने प्रतिष्पर्धामा परेका थिए । उनी यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्यसचिव नियुक्त भएका छन् ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाको नाममा सिलवाल थिए । समितिले राष्ट्रिय महिला भलिबल टोली पूर्व कप्तान अञ्जु श्रेष्ठ, नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापासहित सिलवालको नाम सिफारिस गरेको थियो । सदस्यसचिव बन्न २७ जनाले आवेदन दिएकोमा उनीहरुको नाम सिफारिसमा परेको थियो । त्यसमा सिलवालले बाजी मारे ।

विगतमा सदस्यसचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ ।

यस्तै, शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । उनको पदावधि पनि ४ वर्षका हुनेछ ।