
इस्तानबुलको तेइस घण्टा लामो ट्रान्जिट उसलाई फिटिक्कै पट्यार लागेन। चढेको टर्किस एयरलाइन्स भएपनि सपनाको यानमा सयर गर्दै पुगेको थियो त्यहाँ। विमानस्थलभित्रको लामो कुराइ भन्दा गन्तव्य नजिकिएको उत्साहले उद्वेलित थियो। प्रतिक्षालयका हरेक खाली कुर्सीमा पालैपालो बस्दै उठ्दै गरिरह्यो, मानौँ ती सबै उसकै लागि खाली गराइएका हुन्। त्यसबाहेक भित्ताको ठूलो स्क्रिनमा देखिएका उडान सम्बन्धी जानकारी दिने मिलिक्-मिलिक् अक्षरमा हेर्दै समय कटायो। कुर्सीमै पल्टिएर फिस्स निदाएका प्रतिक्षार्थीहरू देखेर ऊ पनि त्यसै गर्ने कोसिस त गर्थ्यो, तर निन्द्रा लागे पो !
ऊ अर्थात् बाबु। नागरिकता र उसले बोकेको पासपोर्टमा अर्कै नाम भए पनि बा-आमाले मायाले ‘बाबु’ भनेर बोलाउँदा बोलाउँदै गाउँमा उसको प्रचलित नाउँ नै त्यही हुन गयो। पछि त जन्मदर्ताको, नागरिकताको, पासपोर्टको नामले ऊ चिनिने नै भएन। हुँदा हुँदा मैले पनि यहाँहरु समक्ष ‘बाबु’ भनेरै चिनाउन पर्ने भयो।काठमाडौँको जमिन छोडेको, अर्थात् पशुपतिनाथलाई ठिक माथिपट्टि आकाशबाट तीनपटक ढोगेर बादलमाथि उक्लिएको पर्सिपल्ट बाबु युरोप उत्रियो।
अगस्ट महिनाको साँझमा पनि मध्यान्हको जस्तै पारिलो घामले उसको मानसपटल झन् चम्कायो- आहा युरोप ! पारी डाँडाको भिरालोमा पग्लिन बाँकी हिउँमा उसका आँखा एकछिन टक्क अडिए। उडानको थकाइ, ट्रान्जिटको निन्द्रा, ऋण काढेर कन्सल्टेन्सीलाई बुझाएको साँढे एघार लाख सप्पै बिर्सेर मन हावाको बेगमा चङ्गा झैँ बत्तियो। सपनाको सहर टेक्दा त्यस्तै हुँदोरहेछ सायद।
विद्यार्थी भिसामा युरोप गएको भएपनि बाबुको ध्येय पढाइ सँगै कमाउनु पनि थियो। किन नहोस् त, नेपाली मध्यम वर्गीय परिवारको एउटा प्रतिनिधि पात्र थियो ऊ। युरोमा तलब थापेर रूपैयाँमा जम्मा गर्दा मनग्गे हुने उसको अड्कलमा कन्सल्टेन्टको उक्साहट थपिएपछि त ऊ झन् बढी आँखा हेरी हेरी सपना देख्ने भएको थियो।
कमाउन काम गर्नै पर्थ्यो। अघिल्ला वर्षहरुमा ऊ जसरी नै त्यहाँ पुगेकाहरुले जुन उपाय सिकाए त्यही अपनाएर काम खोज्न बजार पस्यो। जसै काममा अल्झियो, मनको चङ्गा बिस्तारै परिवेशको लट्टाइतिर तानिन थाल्यो। विद्यार्थीले काम गर्न पाउने अनुमतिको सिमिततामा बाँधिएर त नेपालमा गरेको ऋणको ब्याज पनि उठाउन नसकिने हिसाब पहिलो महिनामै निकालिहाल्यो।
पढाइ र काम सँगसँगै लैजानु सजिलो छँदै थिएन। शारिरिक, मानशिक र आर्थिक तीनैथरी बोझले आकाशतिर चङ्गासरी उड्दा उड्दैको मनलाई यथार्थको धरातलमा ओह्राल्न थाल्यो। यस्तैमा कसैले सुझायो- श्रीमतीलाई डिपेण्डेन्ट भिसामा बोलाएर पूर्णकालिन काममा लगाउने र आफू पढ्दै अनुमति दिइएबराबरको काम गर्ने गरेमा सहज हुनेछ! बाबु निर्विकल्प त्यही निधोमा पुग्यो। सात पुगेर आठ बर्षमा कुदिरहेको छोरो आफ्ना लागि हुर्किएको र बाआमाको रेखदेखमा छोडिदिँदा फरक नपर्ने घरसल्लाह भयो। थाह छैन, छोरोलाई किन युरोप लैजान चाहेन । सायद लगिएका केही साथीहरूका बालबच्चाको युरोपियन शैलीको हुर्काइ उसलाई मन परेन कि ! यो अनुमान हो, यथार्थ ऊ र उसकै परिवारलाई थाह छ । जेहोस्, एक वर्षको अवधिभित्रै उसको डिपेण्डेन्टमा उसकी श्रीमती मीना पनि युरोप पुगिन्।
युरोप पसेपछि बाबुले देखेर, भोगेर धेरै सिक्यो। नेपाल हुँदा बुनेका सपना, देख्दै नदेखी टाढाबाट युरोपबारे बनाएका अवधारणा सबैमा समयानुकूल फेरबदल भइहाले। दुइ वर्षको पढाइ अवधि सकिन लाग्दा बाबुले कसोकसो विद्यार्थीबाट कामदार भिसामा आफ्नो स्थितिलाई पनि बदल्यो। राम्रै भयो। लगभग चार वर्षमा ऋणमुक्त भइकन गाउँकै भएपनि बोर्डिङ्ग स्कूलमा पढिरहेको छोराको पढाइ खर्च र बाआमालाई केही घरखर्च दिएर बँचेको पैसाले सदरमुकाममा रुमाल झैँ चट्ट मिलेको पाँच आना घडेरी जोड्न सक्यो। त्यति जोड्न युरोपमा उसले कति मेहनत र संघर्ष गर्नुपर्यो, त्यो देख्नेले देखेकै थिए। नदेख्नेलाई ऊ देखाउनै चाहँदैनथ्यो।
बिद्यार्थीबाट कामदारका रुपमा स्थितिलाई बदलेपछि बाबुलाई काम गरेर बस्ने सहजता त थियो तर मन स्थिर भएको थिएन। नेपाल फर्किहाल्ने सोचाइ यसकारण थिएन- सदरमुकामको पाँच आना घडेरीमा साँढे तीन तल्ले घर ठड्याउने पैसाको बन्दोबस्त भइसकेको थिएन। हरेक दुई बर्षमा भिसा नविकरण गरिरहनुपर्ने झन्झट उसलाई मन परेन । स्थायी बसोबासको मापदण्ड पुर्याउन कम्मर कसेर लाग्यो। सम्बन्धित देशको भाषा सिकेर परीक्षा उत्तीर्ण गर्यो, तोकिएको बार्षिक आम्दानी देखाउन काममा दोब्बर खट्टियो, गर्नुपर्ने सबै गर्यो र पुर्याउनु पर्ने मापदण्ड पुर्याएरै छाड्यो। आठ बर्ष सिँगाउरी खेलेपछि युरोपमा स्थायी वासिन्दाको अनुमति पायो।
स्थायी बसोबासको अनुमति पाएकै भोलिपल्ट साथिभाइले ‘ट्रिट’ मागे। उसले कन्जुस्याइँ नगरी लगत्तैको सप्ताहान्तमा भव्य ‘पार्टी’ दियो। पार्टीमा आगन्तुक एक साथीले फेरि उसको कान भरिदियो- “बुझिस् बाबु, अब युरोपको रातो पासपोर्ट लिनुपर्छ त्यसपछि सबै टन्टा सकिन्छ।” उसले बाबुलाई स्थायी आप्रवासी मात्र हुनु र रातो पासपोर्ट लिएर युरोपको नागरिक ठहरिनुको अन्तर पनि बेलिविस्तार लाइदियो।
तुल्बुलाएको मन बल्ल शान्त गराएको बाबुको हृदयको तलाउमा त्यो साथीले फ्याँकेको ढुङ्गाले छाल पैदा गरिदियो। ‘अब त भिसाको टन्टा सकियो, मन लागुन्जेल युरोप बस्न, काम गरेर कमाउन केहिले अल्झाउने भएन’ सोचेको बाबुलाई रातो पासपोर्टले फेरि नीदमा समेत पिरोल्न थाल्यो। मान्छेको एक सन्तुष्टिले अर्को असन्तुष्टि जन्माइसक्छ भनेको हो रहेछ !
‘रातो पासपोर्ट, जुन बोकेर युरोपभरी जुनसुकै देशमा गएर काम गर्न पाइन्छ। जुन बोकेर विश्वका थोरै बाहेक अधिकांश देशहरूमा बिना भिसा सयर गर्न पाइन्छ। आफ्नो निकै नजिक आएको त्यस्तो अवसर त छोड्ने कुरै आउँदैन।’ रातारात आफूले आफैँसँग गरेको निर्णय एक साँझ बाबुले मीनालाई सुनायो। मीनालाई भने चित्त बुझेन। आफ्नो देशको पासपोर्ट त्यागेर स्वदेशमै जाँदा पर्यटक बन्नुपर्ने अवस्था उनको मानसपटलमा स्वाट्टै आइहाल्यो। माइति उतै, घर उतै, मर्दा-पर्दाका आफन्त, इष्टमित्र सबै उतै। अहँ मीनालाई बाबुको सोचाइ कसैगरे चित्त बुझेन। बाबु भयङ्कर द्विविधा र गहिरो सोचमा पर्यो- मीना कन्भिन्स भइनन्, मगजबाट रातो पासपोर्ट गएन! ऊ टोलाइरहन थाल्यो।
यो आठ-नौ बर्षको अन्तरालमा हरियो पासपोर्ट बोकेर बाबु कहिले एक्लै त कहिले मीनासँगै फरक फरक देशका अध्यागमनहरुमा लाइन बसेको थियो। रातो पासपोर्ट बोक्नेलाई भन्दा आफूलाई बढी केरकार गरेको महसुस उसलाई पहिल्यै हुन्थ्यो। अब त झन त्यो सम्झियो कि आफूमाथि खुब पक्षपात भएको एकिन गर्न थाल्यो। बाटो हिँड्दा जब ऊ रातो ट्राफिक बत्तीमा रोकिन्थ्यो, तब सोच्थ्यो- ‘रातोमा मात्रै त्यो शक्ति छ जसले मनको हलचललाई पनि रोकिदिन सक्छ। हरियो पासपोर्ट बोकिन्जेल हरियो बत्तीमा चलेको जस्तै जीवनका अस्थिरताहरु चलिरहन्छन्।’
‘श्रीमतीले जेसुकै भनोस्, रातो पासपोर्ट त लिइछाड्ने हो’ बाबु कस्सियो रातो पासपोर्टका लागि बाँकी मापदण्ड पूरा गर्ने बाटोमा। मीनाले समर्थन त गरिनन् तर पछिल्लो समय एकोहोरो भइसकेका श्रीमानको जिद्दीमा हस्तक्षेप गरिनन्। बाबुले रातो पासपोर्ट लिइछाड्यो। ऊ विधिवत युरोपियन नागरिक भयो। ठान्यो, अब सन्तुष्टीको सीमा सकियो।
रातो पासपोर्ट देखाएर सित्तैमा खान कस्ले दिन्थ्यो र ! रातो पासपोर्टले परिवार पनि त पालिदिने होइन! जब रातो पासपोर्ट पाएर पनि उस्तै प्रकृतिको काम उही तरिकाले गर्न विवश हुनुपर्ने उसले बुझ्यो, तब प्रश्न उब्जियो- हरियो पासपोर्ट र रातो पासपोर्टमा अन्तर के? आफ्नै प्रश्नमा ऊ आफैँ निरुत्तर भयो। तैपनि हरियो पासपोर्ट त्यागेको हिनताबोध चाहिँ देखाएन- ‘खैर, बिग्रेकै पनि के छ र !’ युरोपेली नागरिकको जन्मजात आउने व्यवहार, उनीहरूको परम्परा, सँस्कार, जिवनशैली केही पनि रातो पासपोर्टले दिएन बाबुलाई। बरु, गर्वले ‘नेपाली हुँ’ भन्न सक्ने अवस्था पो खोसिदियो।
बृद्धावस्थातिर उक्लिरहेका बा-आमा र उनीहरूकै छत्रछायामा छोडेर आएको मुटुको टुक्रा समान आफ्नो एक्लो सन्तान भेट्न जान पनि आफू जन्मेको देशमा भिसा लगाउन पर्ने भयो। केवल दश वर्षको फरकमा जन्मभुमी चाहिँ विदेश भयो उसका लागि। सपनाको यानले कहाँ लगेर छोडिदियो र महत्वाकांक्षाको बेगले कतातिर हुत्याइदियो, हेर्नुहोस् त !
अचेल हरियो पासपोर्ट बोकेकी मीना र रातो पासपोर्ट बोकेको बाबु छुट्टिमा सँगै नेपाल आउँदा नेपालको अध्यागमनबाट मिना सजिलै झन्झटरहित पार हुन्छिन्। बाबुलाई त्यही अध्यागमनले रोक्छ र निश्चित प्रक्रिया पुर्याएपछि मात्रै जन्मभूमि टेक्न दिन्छ। मीनालाई घर वा माइतीमा बस्न समयसीमा छैन, तर बाबुलाई भिसा अवधिभर मात्र बस्ने अनुमति छ। उता सदरमुकामको रुमाले आकारको चट्ट घँडेरीमा घर बनाउने प्रक्रिया शुरु भएकै छैन। बुढेसकालमा बा-आमालाई उनीहरूको ‘बाबु’ले कहाँ राखेर कसरी हेर्छ, कि हेर्दैन… अन्यौल छ ।