
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै राखेप नवनियुक्त उपाध्यक्ष शिव कोइरालाले पनि बुधबार नै शपथ लिए।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा उनीहरुलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको थियो ।
गत वर्ष असार २३ मा सदस्यसचिव पदमा पहिलोपटक नियुक्त भएका सिलवाल नयाँ ऐन कार्यान्वयनसँगै यस वर्षको असार १८ मा पदमुक्त भएका थिए । तर दुई साताभित्रै पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त भएका हुन् । नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका थिए । यसअघि राजनीतिक आधारमा नियुक्ति हुने परम्परा थियो ।
सो अवसरमा सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकूद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले खेलकूदको माहोल बनाउने, खेलकूदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताए ।
त्यसैगरी उपाध्यक्ष कोइराला भने राखेपमा पहिलोपटक प्रवेश गरेका हुन् । उनी गत सागमा प्रचारप्रसार विभागको संयोजक भएर कार्य गरेका थिए । उनीहरुको कार्यकाल ४ वर्ष रहनेछ ।