राखेपमा ६ सदस्य मनोनीत

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार ६ सदस्य मनोनीत भएका छन् ।

राखेप उपाध्यक्ष र सदस्यसचिवको पदभारको भोलिपल्टै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ६ जनालाई मनोनीत गरेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपमा ३७ सदस्यीय बोर्ड रहने व्यवस्था छ ।

राखेप सदस्यसचिव सिफारिस समितिको सदस्य रहेका रिम रानाभाट र इन्दिरा निरौला सदस्य नियुक्त भएका छन् । राखेपका पूर्व अधिकृत समेत रहेका चितवन–२ का रानाभाट र ओखलढुंगा तलुवा–१ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञमध्येबाट मनोनीत गरेको मन्त्रालयले जनाएको छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।

यस्तै, राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बागलुङ बिहु–४ का सम्पन्न श्रेष्ठ, चितवन भरतपुर–१ का सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरि गोवन्दप्रसाद भट्टराई मनोनीत भएका छन् । सम्पन्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकासका निवर्तमान अध्यक्ष हुन् ।

यसअघि मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो ।