जे पनि खिचेर देखाइदिने ?

-



     प्रकाश सापकोटा, डेनमार्क    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


हातमा क्यामरावाला मोबाइल छ, सामाजिक सञ्जाल छ भन्दैमा जे मनलाग्यो त्यही खिचेर सार्वजनिक गरिदिहाल्ने ? आफ्नो युट्युब च्यानल छ, क्यामरा र बुम छ भन्दैमा जे पनि खिचेर देखाइदिने? यो सवाल अचेल निकै गम्भीर रुपमा बढेको छ। शुरुमा केही घटनाहरू प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु।

घटना-१ सन् २०१७ को नोभेम्बर २१ का दिन डेनमार्कमा स्थानीय चुनाव हुँदै थियो। कोपनहेगन नगरपालिकाबाट एक जना नेपालीले पनि उम्मेदवारी दिनुभएको थियो। हामी सिँगो नेपाली समाज उहाँलाई जिताउन सक्दो कोसिस गरिरहेका थियौं। चुनावका दिन उत्साहपूर्वक मतदान केन्द्रमा गएर मतदान गरियो। मतदान गर्नुअघि मैले मतपत्र समातेर एउटा तस्वीर खिचाएँ। मतदान गरिसकेर फर्केपछि त्यो तस्वीर सामाजिक सञ्जालको भित्तामा पोष्ट गरेँ र आफूले गरे अनुसार  मतदान गर्ने तरिका उल्लेखित क्याप्सन लेखेँ।

तस्वीर हालेको केही बेरमा एक डेनिस साथीले त्यस्तो बेलाको तस्वीर खिच्न र सार्वजनिक गर्न नपाइने आफ्नो अनुभव रहेको कुरा लेखेर मेसेज गरे। हामी मतपेटिकाको प्वालैमा मत खसाल्दै गरेको फोटो शेयर गर्दै आएकाको लागि त्यो मतपत्र बोकेर लाममा उभिएको फोटो पनि राख्न नपाउने कुरा अचम्मको थियो। केहिबेर पछि त अरु डेनिसहरूले पनि कमेन्टमा लेख्न थाले- ‘यो अवैधानिक छ, तस्वीर तुरुन्त हटाऊ, अन्यथा कानुनी झमेलामा पर्नेछौ।’ अनि तस्बिर हटाएँ।

घटना-२ सन् २०२० को मार्च ३१ का दिन आफू कामबाट फर्किएर अर्धाङ्गिनीलाई काममा पुर्याइदिन कार हाँकिरहेको थिएँ। बिल्कुलै गलत बाटोबाट आएको भ्यानले सोच्नै नसकिने गरी मेरो कारमा ठक्कर दियो। कार उछिट्टिएर विपरीत लेनको अर्को कारसँग ठोक्कियो। एयर ब्याग खुलेर हामी दुइलाई बचायो। कार चकनाचुर भएको र हामी निकै आत्तिएको देखेर प्रत्यक्षदर्शीले प्रहरी र एम्बुलेन्स बोलाइहाले। हामीलाई अस्पताल पुर्याइयो। 

अस्पतालमै आएका प्रहरी अधिकारीले घटना बताउन सक्छौ कि भनेर सोधे। नसोचेको ठाउँबाट नसोचेको तरिकाले आएर कालो रंगको भ्यानले हिर्कायो, मैले त्यसको नम्बर प्लेट हेर्न भ्याइन, ड्राइभर पनि पहिचान गरिन.. बेलिबिस्तार लगाएँ। ‘ठिक छ, नआत्तिऊ, पहिलो कुरा तिम्रो स्वास्थ्य हो, अरू सबै कुरा पछि मिल्छ’ भनेर हाम्रो स्वास्थ्य लाभको कामना गरी प्रहरी फर्किए।
भोलिपल्ट प्रहरी कार्यालयबाट फोन आयो। केवल हाम्रो स्वास्थ्य प्रति चासो राखे। हामीलाई शरिरमा खतराजनक कुनै संकेत नदेखिएको डाक्टरको रिपोर्ट आएको थियो, त्यही बताएँ।

दुइहप्ता सम्म कुनै शारीरिक समस्या परेमा खबर गर्न भनियो। मैले हतार हतार सोधेँ- दुर्घटनाबारे प्रहरी अनुसन्धानले के देखायो? जवाफ पाएँ- सबै थोक तिमीलाई भन्न मिल्दैन र आवश्यक पनि छैन, केवल यति भन्न सक्छौं कि दुर्घटनामा तिम्रो दोष देखिँदैन। मैले त्यही कुराको लिखत मागेँ। जवाफमा भनियो- तिमी यो किन माग्दै छौ, बुझ्न सकिएन। यो तिमीलाई आवश्यक कुरा होइन। बिमा कम्पनीमा फोन गर, रिपोर्ट उनीहरुले पाउनेछन्, तिमीले कारको क्षतिपूर्ति पाउँछौ। तिमीलाई अरु केही जरुरी छैन।’ 

‘तिमी ठिक छौ’ भनेर मलाई सोध्न आउने एक प्रत्यक्षदर्शीलाई मैले दुर्घटनाको जस्ताको तस्तै फोटो वा भिडियो खिचिदिन भनेँ, उनले मानिनन् बरु कुरा अन्तै मोडिन्। त्यहाँ कसैले फोटो, भिडियो खिचेका छैनन् । प्रहरी आउँनुअघिको प्रमाण कस्ले कसरी दियो होला भन्ठानेँ। प्रहरीको कथन थियो- ‘हामीले सडक क्यामरामा हेर्यौं, केही प्रत्यक्षदर्शीलाई सोध्यौँ अनि स्पष्ट भयौँ।’

मेरै कार ध्वस्त हुनेगरी झण्डै ज्यान जाला जस्तो दुर्घटना हुँदा मैलाई प्रहरीले रिपोर्ट दिँदैन। दुर्घटना गराउने भ्यानको चालकको बारेमा केही बताउन चाहँदैन। छक्क परेँ। इन्स्योरेन्स सँग कुरा भयो। कारको ठाउँमा मैले नयाँ कार पाएँ। दुर्घटनाको कारक त्यस भ्यानलाई (उसको इन्स्योरेन्सलाई) मेरो र मेरो कार ठोक्किएको अर्को कारको क्षतिपूर्ति भराइयो होला भन्ने अनुमान गर्न सक्छु, त्यत्ति हो!

घटना-३ सन् २०२० को अगस्ट ३ का दिन कोपनहेगनको मुख्य सहरभन्दा थोरै बाहिर एक भयानक सडक दुर्घट्ना भयो। बिपरित दिशाबाट आएको ट्रक सडकमा राखिएको डिभाइडरमा ठोक्कियो। डिभाइडरको टुक्रा उछिट्टिएर अर्को दिशामा गुडिरहेको कारमा बेस्सरी लाग्यो। कार चकनाचुर भयो र कार चालक गम्भीर घाइते भए। पछि अस्पतालमा उनको निधन भयो। 

यो कुरा समाचारमा आयो तर ट्रक र कार दुवैको लाइसेन्स प्लेट नम्बर, चालकबारे केही खुलाइएन। केवल मृतक कारचालक ३३ बर्षीया महिला भएको उल्लेख गरियो।

त्यसका अलावा दुर्घटना पछि सो स्थलको तस्वीर र भिडियो खिच्ने छवटा अन्य कारका चालक कारवाहीमा परे। कार रोकेर दुर्घटना स्थलको भिडियो उतार्नु अबैधानिक काम भएको भन्दै उनीहरूका लाइसेन्स प्वाल पारियो र १५ सय क्रोनार (लगभग २७ हजार नेपाली रुपैयाँ) जरिवाना तिराइयो। यो सबै एक राष्ट्रिय समाचार सँस्थाले उल्लेख गरेको हो।

माथिका दृष्टान्तहरु किन प्रस्तुत गरिएको होला भन्ने यहाँहरुले सोच्नुभएको हुनसक्छ। विशेषगरी अपराध र दुर्घटनामा समाचार बनाउँदा निकै सम्बेदनशील हुनु आवश्यक छ। हाम्रा केही मिडियाले अपराधका र दुर्घटनाका दृश्यहरु जस्ताको तस्तै खिचेर ‘एक्सक्लुसिभ’ प्रस्तुत गरिरहेका पाइन्छन् । सामाजिक सञ्जालमा त छ्याप्छ्याप्ती ! 

अचेल हातहातमा भएका मोबाइल र टोल टोलमा युट्युबरका क्यामराका ताँतीले समाजका केही घटनालाई चाहिनेभन्दा पहिला दृश्यका माध्यमबाट बाहिर ल्याइदिने गरेका छन्। आफ्नो चुल्हो बाल्नका लागि अरूका कतिपय नितान्त आन्तरिक मामलामा प्रवेश गरेको धेरैलाई मन परेको छैन तर यो क्रम चलिरहेको छ। पछिल्लो उदाहरण बिस्कुटको बाकसमा फालिएको भनिएकी सिसुलाई प्रयोग गरेर समाजसेवा प्रचारको नाटक मन्चनलाई हेर्न सकिन्छ।

पहिला प्रहरी सक्रिय हुनुपर्ने यस्तो घटनामा सामाजिक सञ्जालका दुरुपयोगकर्ता बेसी सल्बलाए पछि गलत मनसायले मलजल पायो। यद्यपि झुठ दुई दिन मात्र टिक्यो। यसबाट बुझ्न आवश्यक छ- मोबाइल र क्यामराको सदुपयोग भन्दा ज्यादा ‘दुनियाँलाई मै पहिला देखाउँछु भन्ने होडबाजीले सधैं राम्रो गर्दैन।

यसको असर सम्बन्धित व्यक्ति, उसको परिवार, समाज र देशलाई पर्नसक्ने कुरालाई ख्याल गर्नुपर्छ। कतिपय अवस्थामा व्यक्तिले वैयक्तिक गोपनीयता चाहन सक्छ र त्यो उसको अधिकार हो। कतिपय अपराधको जानकारी सार्वजनिक गर्दा त्यसले अर्को अपराध नै निम्त्याउने पनि खतरा हुन्छ। अर्कोतर्फ कानुन र प्रहरी सक्रिय हुने घटनाहरुमा त्यसको सार्वजनिकिकरणले अनुसन्धानमा प्रभाव पार्न दिनु हुँदैन। अपराध लुकाइएला भन्ने सचेतता हुनु त जायज छ। हामीले विकशित भन्ने गरेका देशहरूले यो बुझेर नै त्यसो गरेका त हुन् नि !

ReplyReply allForward