
पोखरा, २५ साउन । आंशिक शिक्षकहरुले ‘समान कामको समान ज्याला’ माग गर्दै त्रिवि इतिहासमै पहिलोपटक क्याम्पसमा ताला ठोकेका छन् ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत् आंशिक शिक्षकहरुले आइतबार क्याम्पसको मूलद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । शिक्षकबाटै क्याम्पसमा ताला लगाइएको सम्भवतः पहिलो घटना हो ।
१४ वर्षदेखि समान कामको समान ज्याला माग्दै आएका उनीहरुले चरणबद्ध आन्दोलन गरेपनि त्रिवि र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेको भन्दै ताला लगाउन बाध्य भएको जिकिर गरेका छन् ।

दैनिक दुई सयभन्दा कम शुल्कमा नियमित पठनपाठन गराइरहेका शिक्षकहरुले गत वर्षको माघ २० मा क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन थालेका थिए ।
नवनियुक्त क्याम्पस प्रमुख प्राडा सरोज कोइराला आएपछि आंशिक शिक्षकको माग साउन २२ सम्म रिक्त दरबन्दी तत्काल ल्याउने र आंशिक शिक्षकलाई नियमित गर्ने भन्दै दुईबँुदे लिखित प्रतिबद्धता जनाएका थिए । तर माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिनुपरेको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।
यता, क्याम्पस प्रमुख कोइरालाले यो समस्या विश्वविद्यालयकै हो भन्दै समाधान खोजिनुपर्नेमा सकारात्मक रहेको बताउँछन् ।
समाधानका लागि केन्द्रमा रजिष्ट्रार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए ।
क्याम्पसका हाल २ सय २० आंशिक शिक्षकले क्याम्पसको ७० प्रतिशत कक्षाभार लिने गरेका छन्।