
भगवान् श्रीकृष्ण पनि खानाको पारखी थिए भन्ने धर्मग्रन्थमा प्रस्ट देखिन्छ। उनी सानो छँदा मक्खन, दही चोरी-चोरी हैरान पार्थे । ग्वाला साथीहरु बटुलेर गोकुलका गाउँगाउँमा डुलेर झ्यालबाट छिरेर मिठा-मिठा खाना चोरी चोरी खाएर बाल्यकाल बिताएका थिए । उनका साथीसङ्गी र गोपिनीहरुदेखि हितैसी मित्र सुदामासम्म हुल बाधेर ग्वाला बनी जङल जंगल डुलेर फल खाने गरेको पनि प्रस्ट छ ।
एक दिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको मागप्रति वास्ता गरिनन्। भगवान् श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् । तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नको लागि छोटा पर्न गए।
भगवान् श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान् श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयाैबाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदि ठूला-ठूला वीर असुरहरूको बध गरेका थिए त कहिले गोबर्धन पर्वत धारणजस्ता अनेकन बाल लिला देखाएका थिए। यहाँ भगवान् श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिँदैछ।
हिन्दू धार्मिक ग्रन्थका अनुसार श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाइएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमनभन्दा ५०० देखि १ हजार वर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वासुदेवकी धर्मपत्नी देवकीको गर्भबाट राजा कंशको जेलभित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्।
श्रीकृष्ण जन्माअष्टमीका दिन विश्वभर रहेका सम्पूर्ण हिन्दू मन्दिरहरुमा कृष्ण भक्तहरुको भिड हुने गर्छ । भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान् विष्णुको दश मुख्य अवतारहरूमध्येको एक अवतार मानिन्छन्। भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा सहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडीमा कंशबाट बचाउन उनका पिता वासुदेवले गोकुलवासी नन्दगोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्दगोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि चिनिन्छ।
भगवान् कृष्णले सानो हुँदा ठेकीमा भएको दही चोरेर खाएको प्रसंग पनि एकदमै रमाइलो छ । तर उनलाई मनपर्ने अन्य खानाहरु पनि छन् भन्ने कम सुनिन्छ। कृष्णलाई अत्यन्त मनपर्ने भोजनमा मखन मिश्रीको भोग उनको सबैभन्दा प्रिय भोजनमा पर्छ । उनले गाउँ-गाउँमा डुलेर माटोको भाडोमा जमाएर राखेको मख्खन खुव चोरेर खाने गर्थे साथीहरुलाई पनि खुवाउँथे।
मख्खन मिस्रीको भोग बनाउन दही बनाउन जमाएको दूधको तर जसलाई मक्खन भनिन्छ । मक्खनमा मिश्री कुटेर हाल्दिने र विभिन्न ड्राइ फ्रुटहरु घिउमा भुटेर बनाएको पंचमेवा मिसाएपछि यो मिठाइ सार्है मिठो र स्वादिष्ट मानिन्छ । खिर पनि कृष्णलाई अत्यन्त मन पर्ने भोजनमा पर्छ । नीलकमलको दाना अर्थात् मखनको खिरमा मिश्री काजु, किसमिस, नरिवल, पिस्ता, केसर हालेर बनाएको हुन्छ । शुद्द दूधबाट बनाएको पेडा पनि भगवान श्रीकृष्णको अर्को प्रिय भोजन हो । शुद्ध गाइको दुध, दही, मह, सख्खर, घ्यू हालेर बनाइएको पन्चामृत पनि भगवान श्रीकृष्णका प्रिय भोजनमा पर्छ ।
श्रीकृष्णलाई किन ५६ ब्यञ्जन चढाइन्छ ?
भगवान् इन्द्र रिसाएर ७ दिनसम्म निरन्त्रर मुसलधारे पानी गराइदिँदा कृष्णले आफ्नो कान्छी औँलाले गोवर्धन पर्वत उठाएर गोकुलबासीलाई बचाएको हुनाले गोकुलबासीहरुले उनलाई ५६ भोग प्रसाद (भोजन) एकै दिन खुवाइएको थियो । उनले एक दिनमा ८ पटक भोजन गर्ने र सात दिन सम्मको भोजन जोड्दा ५६ ब्यञ्जन हुन्छ ।
५६ ब्यञ्जनहरु :
१.भक्त (भात), २ सूप (दाल), ३.प्रलेह (चटनी), ४ सदिका (कढ़ी), ५ दधिशाकजा (दही शाककी कढ़ी), ६ सिखरिणी (सिखरन), ७ अवलेह (शरबत), ८ बालका (बाटी), ९ इक्षु खेरिणी (मुरब्बा),१० त्रिकोण (शर्करा युक्त), ११ बटक (बड़ा), १२ मधु शीर्षक (मठरी), १३ फेणिका (फेनी), १४ परिष्टश्च (पूरी), १५ शतपत्र (खजला), १६ सधिद्रक (घेवर),१७ चक्राम (मालपुआ),१८ चिल्डिका (चोला),१९ सुधाकुंडलिका (जलेबी), २० धृतपूर (मेसू), २१ वायुपूर (रसगुल्ला), २२ चन्द्रकला (पगी हुई), २३ दधि (महारायता), २४ स्थूली (थूली), २५ कर्पूरनाड़ी (लौंगपूरी), २६ खंड मंडल (खुरमा), २७ गोधूम (दलिया), २८ परिखा, २९ सुफलाढय़ा (सौंफ युक्त), ३० दधिरूप (बिलसारू), ३१ मोदक (लड्डू), ३२ शाक (साग), ३३ सौधान (अधानौ अचार), ३४ मंडका (मोठ), ३५ पायस (खीर), ३६ दधि (दही), ३७ गोघृत (गाय का घी), ३८ हैयंगपीनम (मक्खन), ३९ मंडूरी (मलाई), ४० कूपिका (रबड़ी), ४१ पर्पट (पापड़), ४२ शक्तिका (सीरा), ४३ लसिका (लस्सी), ४४ सुवत, ४५ संघाय (मोहन), ४६ सुफला (सुपारी), ४७ सिता (इलायची), ४८ फल, ४९ तांबूल, ५० मोहन भोग, ५१ लवण, ५२ कषाय, ५३ मधुर, ५४ तिक्त, ५५ कटु र ५६ अम्ल ।