
कास्की जिल्ला फुटबल संघले खेलाडीहरुलाई शुक्रबार राहत वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित फुटबल खेलाडी तथा फुटबल खेलसँग सम्बद्ध पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) सहयोगमा राहत वितरण गरिको हो।
एन्फा कास्कीमा आबद्ध २२ वटा क्लबका आर्थिक अवस्था कमजोर भएका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा पत्रकारलाई समेत राहत वितरण गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। ५० जनालाई एन्फातर्फबाट जनही १ हजार ५ सयको दरले चेक प्रदान गरिएको हो।
त्यस्तै, एन्फाको राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेनटेनियलले पनि खेलाडी तथा खेल पदाधिकारीलाई नगद राहत वितरण गरिएको थियो। जनही १ हजारका दरले राहत वितरण गरिएको क्लबका अध्यक्ष पर्वत कायस्थले जानकारी दिए।
कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापा लगायतले राहत हस्तान्तरण गरेका थिए।
खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष गिरीले कोभिड–१९ बाट प्रभावित खेलाडी तथा खेल पदाधिकारीलाई रकम सानै भए पनि खेलाडीलाई राहत पुग्ने बताए।