कार्डबाटै भाडा तिर्ने व्यवस्था गर्दै सार्वजनिक यातायातहरु

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


सुन्दर यातायातका बसहरु


काठमाडौं । सार्वजनिक यातायातहरुले कार्डबाटै भुक्तानीको व्यवस्था गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम बढीरहेका बेला काठमाडौंमा चल्ने सार्वजनिक यातायातहरुले नगद लिने प्रचलन बन्द गराउनका लागि विद्युतीय भुक्तानीको प्रक्रिया अघि बढाउन लागेका हुन् ।
साझा यातायातले कार्डबाट भुक्तानी हुने व्यवस्था मिलाइसकेको छ । यद्यपि सबै बसहरुमा यो शुचारु भने भइसकेको छैन । पैसाबाट पनि कोरोनाका जोखिम सर्न सक्ने भएकाले विद्युतीय भुक्तानीलाई शुचारु गर्न लागिएको साझा यातायातले जनाएको छ ।

उता सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले चाडै विद्युतीय भुक्तानीको शुभारम्भ गरिने जानकारी दिए । सफल आवाज डटकमसँगको कुराकानीमा अध्यक्ष थापाले सुरक्षित हुने भएकाले पनि नगद नभई कार्डबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको बताए ।

एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ ।