
नेपाली युवा उद्यमी मञ्च पोखराका पदाधिकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटघाट गरेका छन । मुख्यमन्त्रीसंगको भेटमा गण्डकी प्रदेशमा उद्यम गर्न चाहने यूवालाई आकर्षित गर्दै नयाँ परियोजनाहरु ल्याएर यो प्रदेशलाई स्टार्टअप हब बनाउनुपर्छ भन्ने आग्रह गरिएको र यसलाई मुख्यमन्त्रीले सकारात्मक रुपमा लिनु भएको नेपाली यूवा उद्यमी मञ्च पोखराका अध्यक्ष पुनित वैधले सफल आवाजलाई बताए ।
गण्डकी प्रदेशले युवा लक्षित कार्यक्रमहरुको तर्जुमा गर्दा नेपाली युवा उद्यमी मञ्चसँग सहकार्य र छलफल गर्न आग्रह गर्दै प्रस्तावना समेत पेस गरेको अध्यक्ष वैद्यले बताए ।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा उद्यमशीलता विकास तथा युवा लक्षित कार्यक्रमलाई प्रदेशले प्राथमिकतामा राखेको बताए । आगामी दिनमा एनवाइइएफ पोखरासँग छलफल गरी सहकार्य गर्न तयार रहेको पनि मुख्यमन्त्रीले स्पष्ट पारे ।
भेटघाट कार्यक्रममा नेपाली यूवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखे, नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष पुनित वैध, निवर्तमान अध्यक्ष बैभव पौडेल, मञ्चका पदाधिकारीहरु सुयेश मल्ल, सन्तोष घिमिरे, निरन के.सी., सुनिल बहादुर भट्टराई, विष्णु तिमल्सिनाको सहभागिता थियो ।
मञ्चले यसअघि नयाँ उद्यम गर्न चाहने यूवालाई लक्षित गरि एनएमबि बैंकसँग बिना धितो रु १५ लाख सम्मको कर्जा दिने सम्बन्धमा सम्झौता गरिसकेको छ ।