विष्णु गिरीको पहिलो आधुनिक गीत ‘माया मारी गयौ…’

-


     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


‘सयौं डाँडा काटी गयौ, सात समुद्र पारी गयौ
शुन्य पारी गाउँघर, तिम्ले माया मारी गयौ’

गुल्मीका विष्णुकुमार गिरी आफैं सयौं डाँडा काटेर सात समुद्र पारी जापान पुगे । अनि गाउँघर शुन्य पारेर माया मार्नेहरुको कथा गीतमा लेखे । गिरीको यही गीत बिबी अनुरागीको संगीत र शिशिर योगीको आवाजमा हालै सार्वजनिक आएको छ ।

गिरी १२ वर्षअघि जापान पुगेका हुन् । जापानमा नेपाली स्वादको रेष्टुरेन्ट व्यवसायमा उनी व्यस्त छन् । यही व्यस्तताका बीच उनी आफ्ना भावना बेला बेला कलममार्फत् पोख्ने गर्छन् । उनले ९ वर्षअघि लेखेको यो गीत पहिलो कोसेलीका रुपमा सांगीतिक बजारमा आएको हो ।

परदेशमा हुँदा आफ्नो गाउँघर र आफन्तले सम्झेर पठाउने सन्देश तथा व्यक्त गर्ने भावलाई गिरीले आफ्नै अनुभूतिसहित मार्मिक ढंगले गीतमा पोखेका छन् । उनको सुन्दर शब्द सृजनालाई बिबी अनुरागीको कुशल संगीत र शिशिर योगीको जादुमयी आवाजले कर्णप्रिय बनाएको छ । अहिलेको वास्तविकता झल्कने यो गीत सन्देशमुलक समेत बनेको छ ।

करिब सात मिनेट लामो गीतमा नेपालका विभिन्न जिल्लाका गाउँ घरदेखि काठमाडौं हुँदै जापान र अमेरिकासम्मका दृश्य छन् । कोरोना भाइरसको महामारीका कारण चाहेजस्तो भिडियो खिच्न नपाएको उनी सुनाउँछन् ।
‘अहिलेको अवस्थामा टिम लिएर छायांकन गर्न कठिन हुने भएकाले विभिन्न ठाउँ र समयका क्लिप राखेर कभर भिडियोको रुपमा गीत तयार गर्नु पर्याे,’ उनले भने ।

गीतको लिंक : www.youtube.com/watch?v=fP3cJLUEcN4