केन्द्रीय विद्युत् जडानपछि चौबीसै घण्टा टेलिफोन

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



खोटाङ, २५ भदौ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ ।

विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो, उनले भनेन, केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने राससले लेखेकाे छ ।

धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ । दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो । थ्री–जी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केहि दिनभित्रै फोर–जी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले बताए ।