
नेपाल भ्रमण वर्ष २०२० को गजबको तयारी थियो। पर्यटन व्यवसायी र सरोकारवालाहरु निकै उत्साहित थिए । पर्यटकीय गन्तव्यहरु र आसपासका बासिन्दाहरू धेरै भन्दा धेरै पर्यटकलाई स्वागत गर्न आतुर थिए। होटल, रिसोर्ट, होमस्टे, यातायात, हवाई लगायतका क्षेत्रमा भरोसाका मुना पलाउँदै थिए। अचानक अदृष्य जिवाणुको ताण्डवले विश्व हल्लाएपछि सब चकनाचुर भयो।
नेपाल आकर्षक पर्यटकीय गन्तव्य हो भनेर बिदेशीहरुले पनि भन्ने गरेका छन् । सगरमाथा दिवसका अवसरमा बिदेशका बिभिन्न सहरहरुमा गरिने नेपाल सम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रममा सहभागी हुन आउने विदेशी पाहुनाहरुको ठुलै जमातले नेपाल भ्रमण गर्ने तीब्र इच्छा व्यक्त गरेका हामी प्रवासी नेपालीले देखेका छौँ। एकपटक नेपाल घुमेर फर्किएको बिदेशी अर्को पटक आफू फेरि पनि नेपाल जान तयार रहेको र अरुलाई पनि भ्रमण गर्ने भए नेपाल छान्न सिफारिस गरेको पनि हामीले प्रत्यक्ष देखेका र सुनेका छौं।
नेपालको भूबनौट (प्रकृति), हावापानी, सांस्कृतिक विविधता आदिबाट विदेशीहरु लोभिने गरेकाे पाइएको छ। त्यसका साथसाथै नेपालीहरुको सत्कार, इमान्दारिता, बोलिवचन, बानी ब्यहोराले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको छ। नेपाली खानपिन र भेषभूषाको मौलिकतामा पनि उनीहरूको मन लोभिएको पाइन्छ। भ्रमण गर्दा लाग्ने खर्चको तुलनामा पनि पश्चिमा मुलुकका पर्यटकका लागि नेपाल सस्तो र उपयुक्त गन्तव्य मानिन्छ। हो, यी कारणहरुले पनि बिदेशी पर्यटक नेपाल भित्रिने राम्रै सम्भावना थियो। झन् सन् २०२०लाई विशेष भ्रमण वर्षको रुपमा प्रचारप्रसार गरिएकाले सम्भावना अझ बढी थियो।
वर्षको शुरुवातमै छिमेकी देश चीनमा कोरोनाले सन्त्रास सिर्जना गर्न थलिसकेकाले सिमा जोडिएको हाम्रो देशको भ्रमण गर्ने योजनामा रहेका बिदेशीहरु केही हच्किए। जनवरी लाग्दा नेपाल पसेका कैयन विदेशी पर्यटकलाई भ्रमण छोट्याएर फर्कन परिस्थितिको दवाब पर्यो। फेब्रुअरी देखि मार्च सम्ममा विश्वमै पूरा नाटकीय बदलाव आयो।
कोरोनाले युरोप पसेर विशेषगरी इटली र त्यसपछि स्पेनमा महामारीको रुप लिएपछि नेपालमै अड्किएका सिमित पर्यटकहरू बरु सुरक्षित महसुस गर्न थाले । तर युरोप लगायत पश्चिमा मुलुकहरुले वाह्य उडानमा कडाइ गरिसकेकाले थप पर्यटक नेपाल प्रवेश गर्ने क्रम रोकियो। केही समयपछि नेपालले पनि सुरक्षाका दृष्टिकोणले बिदेश आवागमनमा कडाइ गरिहाल्यो। अन्तत: जो जो जहाँ जहाँ थिए त्यहीँ त्यहीँ बन्द भए। पर्यटक भित्र्याउन गरिएको नेपाल भ्रमण वर्षको तयारी र त्यसको बन्दोबस्तीका लागि गरिएको लगानी बालुवामा पानी सरह भयो।
उसो त विश्वलाई नै सन् २०२० अफापसिद्ध भएको छ। झन बढी नेपाली सरकार र पर्यटन व्यवसायीलाई बज्रपात परेको छ। अझै पनि एक देशबाट अर्को देश विदा मनाउन वा घुम्न, भ्रमण गर्नका लागि स्थिति सहज छैन।
युरोपका केही देशहरूले अन्तरदेशीय सिमाना केही खुकुलो बनाएका छन् तर सतर्कता अझै जरुरी भएकाले जनस्तरमै भ्रमण प्रतिको चासो मत्थर छ। यसका लागि युरोपमा केही देशहरूले आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै समसामयिक योजना ल्याएका छन्। अब यस्तो बेलामा नेपालले पनि आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर उपयुक्त योजनाहरु ल्याउन आवश्यक देखिन्छ।
कोरोनाको प्रभाव निस्तेज नभइसकेकाले देशबाहिर घुम्न जाने र बाहिरबाट पर्यटक भित्रिने खालको चलायमान स्थिति आउने समयसीमा र त्यसको निश्चितता छैन। अवस्था अनुकुल नभएका बेला आन्तरिक पर्यटनको बाटो निर्विकल्प जस्तै छ। पछिल्ला वर्षहरूमा नेपालीहरु पनि काम र व्यवसायबाट केही समय फुर्सद निकालेर विदेशसम्म घुम्न जाने गरेका पाइएको छ।
मलेसिया, थाइल्याण्ड, माल्दिभ्स, दुबाइदेखि युरोपका देशहरुमा समेत नेपालीहरू भ्रमणमा निस्कने गरेका छन्। ती ठाउँहरूमा लैजाने भ्रमणका प्याकेजहरु बिस्तारै लोकप्रिय हुँदैछन्। महामारीको प्रताडनाले मानवीय इच्छा र योजनामा कुठाराघात गरेको वर्तमान अवस्थामा अब त्यसरी बिदेश भ्रमण गर्ने सोचाइमा रहेका नेपालीहरुले स्वदेश भित्रैका पर्यटकीय गन्तव्य छान्नु उपयुक्त छ। भ्रमणका प्याकेज ल्याउँनेहरूले आन्तरिक पर्यटनका आकर्षक प्याकेजहरु ल्याउनु आवश्यक छ।
सरकारले पनि नेपाली जनतालाई नेपालभित्रै भ्रमण गर्न अभिप्रेरित गर्न सक्छ। डेनमार्क लगायत केही युरोपेली देशहरुले आन्तरिक पर्यटनका केही आशालाग्दा प्रयास गरेका छन्। सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, मनोरञ्जनात्मक क्षेत्रहरूमा निश्चित अवधिका लागि प्रवेश शुल्कमा उल्लेख्य सहुलियत दिएर आन्तरिक पर्यटकलाई थप आकर्षित गर्ने जस्ता कार्यहरू मननयोग्य र अनुकरणीय हुनसक्छन्। त्यस्तै फरक फरक क्षेत्रका केही लोकप्रिय व्यक्तित्वहरुका साथमा ट्रेकिङ्ग, हाइकिङ्ग एवं निश्चित ठाउँका भ्रमण गर्ने अवसर सहितका योजनाहरु पनि आकर्षक हुनसक्छन्।
प्राकृतिक छटाहरूको खानी रहेको हाम्रो जस्तो देशमा पर्यटन उद्योग कम लगानीमा धेरै सम्भावना बोकेको आर्थिक स्रोतको महत्वपूर्ण क्षेत्र हो। प्रकृतिले नै संसारलाई हामीतिर बोलाइरहेको छ। धेरै नेपालीहरु आफैँलाई आफ्नो देशभित्रका आकर्षक ठाउँहरू थाह छैन, कतिपय थाह भएर पनि नपुगेका थुप्रै ठाउँहरू छन्। परदेशमा नेपालीलाई बिदेशीले नेपालका आकर्षणहरु बारे सोध्यो भने सगरमाथा, लुम्बिनी भनेपछि अर्थोक भन्न घोरिनुपर्ने अवस्थामा अझै धेरै प्रवासी नेपाली छौँ भनेर स्वीकार्नै पर्छ। यस्तो किन भएको हो भने, नेपाली आफैँ आफ्नो देश र देशभित्रै रहेका आकर्षक ठाउँहरू घुमेका छैनौँ र चिजहरू देखेका छैनौँ। यो त्यही मौका हो आन्तरिक (देशभित्रै) भ्रमणमा रमाउने।
आन्तरिक पर्यटनको बढावाका लागि सन्चारमाध्यमको पनि भूमिका आउँछ। नयाँ र आकर्षक गन्तव्यबारे प्रचारप्रसार गरेर, जन-जनमा घुमौँ-घुमौँ लाग्ने सामग्री पस्किएर मिडियाले त्यो भूमिका निभाउन सक्छन्। यस्मा पर्यटन व्यवसायीहरू पनि चनाखो र सक्रिय हुनु आवश्यक छ। अनलाईन र अफलाइनका प्रसस्त अवसरलाई सदुपयोग गर्न चुक्नु हुँदैन।
बहुभाषिक, बहुसांस्कृतिक, ऐतिहासिक, पुरातात्विक परिवेश र भौगोलिक विविधताले हामीलाई देशभित्रै फरकपनाको प्रसस्त अवसर छ। यो विषम परिस्थितिमा देशभित्रको पैसा देशभित्रै चलायमान गराउने र देशवासीबाटै देशभित्रका लगानीकर्ता, व्यवसायीहरूलाई राहत प्रदान गर्ने तर्फ सोच्न र कदम बढाउन जरुरी छ।
विश्वव्यापी कोरोना महामारीले विश्वभर मानव गतिबिधिमा परिवर्तनको संकेत देखाइसकेको पनि छ। भुल्नै नहुने कुरा चाहिँ के हो भने, भ्रमण गर्दा पहिले झैँ बिन्दास र निर्धक्कसँग होइन सिमित समुह, निश्चित समदुरी, सरसफाइ र सचेतनाको कुरालाई चाहिँ पटक्कै बेवास्ता गर्नुहुदैन। पर्यटक आउने स्थल, त्यहाँका व्यवसाय स्थल र समग्र वातावरणको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसमा सरकार, सम्बन्धित उद्योग र उद्योगी देखि सर्वसाधारण सम्मले आ-आफ्नो जिम्मेवारी सम्झेर व्यवहारतः निभाउनुपर्छ। कोरोनाले यो जिवनोपयोगी शिक्षा पनि दिएको छ।
नेपाल पर्यटन बर्ष असफल भयो भनेर बस्ने बेला यो होइन। बर्षायामपछि प्राकृतिक प्रकोपबाट सिर्जना भएका अप्ठ्याराहरूको अबिलम्ब समाधानमा केन्द्रिय र स्थानीय सरकार नचुकुन्। गास, बास, कपासको पहिलो बन्दोबस्ती र पिडितका पीडामा मल्हम लगाउनु पहिलो प्राथमिकता नै हो । त्यसपछिका मानिसका आवश्यकता भित्र पर्ने स्फूर्ति, मनोरञ्जन, आराम, सितलता, मानशिक तन्दुरुस्तीका लागि घुमफिर, भ्रमण र मनोरञ्जनात्मक गतिबिधिमा आकर्षण पैदा गरौँ। आन्तरिक पर्यटनमा ध्यान केन्द्रित गरौँ। बैराग्य त्यागौँ, बिलौना गरेर नबसौँ, बिकल्प पहिल्याउन कम्मर कसौँ। समयले त्यही मागेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




