टक्सारमा तीन करोड लागतमा कुलो बनेपछि १३७ घरपरिवारलाई लाभ

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



भोजपुर, ३० भदौ ९ । भोजपुरको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ ।

कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माण सम्पन्न भएको हो । “पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पँैयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडालगायत स्थानका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको हो ।

धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ । सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी भएका छन । स्थानीय कृषक कल्पना भण्डारीले भनिन, लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ । निर्माणका लागि जनश्रमदानवापत स्थानीयवासीले पनि योगदान गरेका छन । कुलोलाई स्थानीयवासीले समय–समयमा सरसफाइ गर्दै आएका छन । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने उनीहरुको भनाइ छ । स्थानीय दिलबहादुर बानियाँले भने, हाम्रो क्षेत्र कृषिका लागि निकै उर्वरभूमि हो, तर सिँचाइ नहुँदा असाध्यै समस्या थियो, कुलो बनेसँगै हामीमा उत्साह थपिएको छ, अब उत्पादन वृद्धि हुनेमा हामी आशावादी छौँ ।

भोजपुर नगरपालिका–८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ललगिएको हो । कुलो निर्माण स्वामीनारायण निर्माण सेवाले गरेको हो । धेरै महत्व बोकेको कुलो रहेकाले कार्यालयले प्राथमिकताका साथ काम अगाडि बढाएर समयमै सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ । गाउँपालिका अध्यक्षद्वारा एक लाखको अक्षयकोष जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईले जन्मदिनको अवसरमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन ।

गाउँपालिकाकाको दुर्गम गाउँमा स्थानीयवासीले चन्दा सङ्कलन गरी विद्यालय सञ्चालन गरेकाले उक्त विद्यालय सञ्चालन गर्न सहज होस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राईले बताए । अध्यक्ष राईले आफूले पाउँदै आएको भत्ता वापतको रकम स्थानीय सङ्घसंस्था, विद्यालयलगायत गरिब तथा विपन्न बालबालिकालाई वितरण गर्दै आएको जानकारी दिए । अक्षयकोषबाट आउने ब्याजको रकमले विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालयले जनाएको राससले लेखेको छ ।