किन गए कुलमान ? किन आए वामदेव ?

-


     मनोज अधिकारी    
     असाेज ७ गते २०७७ मा प्रकाशित


कहाँ कुलमान ? कहाँ वामदेव ? यी दुवै आपसमा तुलना गर्न मिल्ने पात्र नै हैनन् । तर कहिलेकांही समय यस्तो भइदिन्छ कि दुवैको चर्चा एकसाथ हुन पुग्छ । वर्तमान, एउटा पात्र देशलाई नभई नहुने तर्जका रुपमा स्थापित छ । अर्काे पात्र देशलाई हुँदै नहुने त्याज्य पात्रका रुपमा चित्रित छ । तर राज्य सञ्चालकलाई नभई नहुने पात्र चाहिएको छैन । अनि हुँदै नहुने पात्र चाहिं जसरी पनि चाहिएको छ ।

यो लाखा र पाखाको खेल अलि रोचक छ । यहाँ राम्रो हैन हाम्रोलाई काखा च्याप्ने संस्कार पहिल्यैदेखि स्थापित छ । राजनीति ओहोदा, सार्वजनिक पद र सरकारी नियुक्तिहरुमा यस्तो खेलुआम हुँदै आएको कुरा हो । अहिले कुलमानको बहिर्गमन र वामेदव आगमनको मुल दृश्य पनि यही हो ।

हुन त कुलमान घिसिङ र वामदेव गौतमबीच तुलना गर्नु पर्ने विषय यो होइन । त्यसैले तुलना नहुनु पर्ने हो । तुलना गर्न पनि सुहाउँदो पात्र पो हुनुपर्छ । योग्य पात्र बिनाको तुलना काग र बकुल्लाे जस्तो हुँदैन र ? अफसोस एकसाथ चर्चा दुवैको भइदिन्छ । पात्रको क्षेत्र, विधा वा पृष्ठभूमि फरक हो । तैपनि नहुनु पर्ने भइदियो । दुवैका प्रवृति र प्रख्याती भिन्न भए पनि भइदियो यस्तै । आखिर राजनीतिले नछुने विधा र नमुछिने पात्र हत्तपत्त कहाँ भेटिन्छ र समाजमा ?

कुलमान र वामदेवमा पनि राजनीति नजोडिने कुरै भएन । वामदेव राजनीतिकै खुंखार खेलाडी जो हुन् । अनि कुलमान राजनीतिको केन्द्रीय चासो र नियुक्तिको पासो बनेको विद्युत प्राधिकरणको प्रमुख हुन् (थिए) ।

केन्द्रीय राजनीतिनै जोडिएपछि यो विषय भव्य नहुने कुरै भएन । अझ राजनीतिका केन्द्रीय पात्रले नै यसलाई अझै भव्य विषय बनाइदिए । हुन त यी दुवै एकै मैदानका प्रतिस्पर्धी हैनन् । यिनीहरु आमने सामने पनि छैनन् । दुवैबीच आपसी लेनादेना पनि छैन । किनभने विषय र विधा एउटै हाेइन । मात्र कारक र कर्ता चाहिं एकै हुन् । अझ सत्ताको अहम् र निहित स्वार्थ प्रमुख कारक हो । अझै राज्य सञ्चालक नै अहिले समग्र परिस्थितिको कर्ता बनेर उभिएको दृश्य देखापरेकाे छ ।

टेलिभिजन च्यानलहरुमा तर्क र वितर्कका अनेकन टक शो देखिन्छन् । छापाहरुमा विभिन्न कोण र दृष्टान्तका विचार पोतिन्छन् । सडकमा जनताका माग र नारा उर्लिन्छन् । ‘ राम्रोलाई ल्याऊ, नराम्रोलाई नल्याऊ ।’ नाराले भनेको यत्ति हो ।

राज्यको केन्द्रीय कर्ता असल र सक्षम पात्रको माग राख्ने यस्तो जनमानस विरुद्ध जाइलाग्न मैदान उत्रिन्छ । बालुवाटारबाटै ऊ पानीका फोहोरा हान्दै जनआवाज लछार्छ । सिंहदरबार हुँदै लाठी र बुटले जनदवाव पछार्छ । उसलाई थाहा छ, जनता दुवै विषयप्रति सचेत छन् । दुवै विधा र पात्रबारे बहुत जानकार छन् । यस्ता सचेत जनता उसका लागि आँखी हुन् ।


जनता सचेत हुनु सत्ताको कमजोरी हो । यो मान्यता हिजोको दिनमा पनि थियो र आज पनि छ । त्यसैले ऊ आफ्नो अस्थित्व रक्षाकै लागि पानीका ट्याङ्कर र कटबाँस लिएर सडकमा जाइलाग्नु पनि स्वभाविक हो । कहाँ देशलाई दैनिक १४ घन्टासम्म लोडसेडिङको अन्धकारबाट उज्यालो बनाउने अभियानको नायक कुलमान । कहाँ देशलाई सुरासुन्दरी काण्डदेखि प्राडो र पजेरो काण्डसम्मका तमाम् विकृतिका नाइके वामदेव । एकातिर असल कर्मले जनजनको मनमा बसेका कुलमान । अर्कातिर राजनीतिको कुकर्मले जनताबाट तिरस्कृत वामदेव ।

जसरी कुलमानको शालिन व्यक्तित्व, विषयप्रतिको विज्ञता, प्रशासनिक क्षमता र जिम्मेवारी पुरा गर्ने कौशल उनैले बालेको उज्यालोमा चम्किएकै छन् । त्यसैगरी वामदेवको विकृत राजनीतिका फोहोरी खेलहरु इतिहासमा कालो अक्षरले अंकित छन् । यति हुँदाहुँदै राज्य सञ्चालकका लागि वामदेव पो प्रिय भइदिए । कुलमान पन्छाइए । जनता हेरेको हेर्यै ।

वामदेव राष्ट्रिय सभाको सांसद् पदका लागि सरकारद्धारा सिफारिस भए । कानूनीरुपमा संगत् वा असंगत् भनेर विवादित बनेको विषयलाई राष्ट्रपति कार्यालयबाट तत्काल अनुमोदन भयो । वामदेवको सपथ ग्रहण भइछाड्यो ।

कानूनी अड्चन र वैधताको प्रश्नलाई बेवास्ता गर्दै एकाएक वामदेवलाई किन सभासद बनाउनु पर्याे ? यो प्रश्नको जवाफ बालुवाटरले दिन चाहेको छैन । अहिले वामदेव नआई नहुने के अवस्था देशमा आइपर्याे ? यसको पनि जवाफ बालुवाटारले दिन सकेको छैन ।

देशै उज्यालो पारेका र मुलुककै अर्थतन्त्रलाई उज्यालो बाटो देखाएका कुलमान चाहिं राजनीतिक दाउपेजको चपेटामा परेको दृश्य देखा परेको छ । उनलाई चार वर्षे कार्यकालको प्राविधिक कारण देखाई आमजनताको माग र चाहनाविपरित बिदा गरिएको छ । सधैं घाटामा रहेको संस्थालाई अरबौं नाफा कमाउने बनाएर कुशल प्रशासकको क्षमता प्रमाणित गरे । वर्षाैंदेखि अन्धकार मुलुकलाई छोटो समयमै विद्युत व्यवस्थापन गरि उज्यालो बनाएका कुलमान आमजनताको प्रिय भए तर बालुवाटारको तारो भए ।

यसमा फगत चारवर्षे कार्यकाल सकिएको जवाफ मात्रै बालुवाटारबाट मिलेको छ । के मुलुकलाई चाहिएको सक्षम प्रशासक चारवर्षे कार्यकाल सकिएपछि फेरि दोहोरिनै सक्दैन ?
त्यसोभए अहिलेसम्म असक्षम र अयोग्य बनेका तमाम नेताहरु चाहिं किन बारबार दोहोरिरहेका छन् त ? पटकपटक सांसद् र मन्त्री बनेर पनि देश विकास गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त हुनु चाहिं बारम्बार दोहोरिन पाउने उनीहरुको योग्यता हो ?

जनताले त्यागेका र अहिले कुनै कोणबाट पनि राज्यलाई नचाहिएका वामदेव चाहिं कानूनी वैधता बिना नै सांसद (त्यस्तै परे छिटै मन्त्री समेत) बन्न सक्छन् । कुलमान चाहिं एउटा प्राविधिक कारणले विद्युत प्राधिकरणमा अर्काे कार्यकालका लागि रहन सक्दैनन् ? कि देशले सक्षम र सफल होइन असक्षम र असफल पात्र मात्रै खोजेको हो ? जनजनको मन र हर व्यवसायीको उर्जावान धड्कन बनेका कुलमानलाई सरकार प्रमुखकै कारणले मुलुकले गुमाउनु पर्ने यो कस्तो बाध्यता हो ?आमजनताको अभिमत विपरित कुलमानलाई बिदा गर्नु र वामदेवलाई भित्र्याउनु के यो जनताप्रतिको अनादर होइन ?

हाल बाेष्टन , अमेरिका