सवारीसाधनको महामेला ‘नाडा अटो शो’ यसपाली नहुने

-


     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, १४ असोज । हरेक वर्ष आयोजना हुने गरेको सवारी साधनहरुको महामेला ‘नाडा अटो शो’ यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्ष मेलाको आयोजना नगर्ने निर्णय गरेको हो ।

हरेक वर्ष आयोजना हुने अटो शो मा नयाँ नयाँ किसिमका गाडिहरु सार्वजनिक हुन्थे । अन्य समयको भन्दा नाडा अटो शोमा विशेष अफर समेत हुने भएकाले गाडिहरु धेरै बिक्री समेत हुने गरेको थियो । तर यसपाली भने नहुने भएको छ ।

नाडाका ८औं अध्यक्ष किरण वैद्यको पालादेखि अटो शो सुरु भएको हो । ०५४ सालबाट सुरु भएको अटो शो यस वर्ष कोरोनाका कारण रोकिँदा व्यवसायीहरु चिन्तित छन् ।

गाडीहरूको बिक्रीका लागि मेला ठूलो प्लेटफर्म हो । अटो शोले दुई र चारपांग्रे सवारी बिक्रीमा ठूलो सपोर्ट गर्ने गरेको छ । चाडपर्वको मुखमा अटो शो हुने भएकाले यसले ब्रान्ड प्रमोट गर्न सघाउँदै आएको थियो । यसपालि मेला नहुँदा सबैलाई ठूलो मर्का परेको छ ।

सोमा गाडी, मोटरसाइकल, स्कुटर कुनकुन मोडलका आए भनेर हेर्न आउनेको भीड लाग्थ्यो । छुटमा सवारी किन्ने पनि उत्तिकै हुन्थे । बैंकले गाडी किन्दा ब्याजदर घटाउन प्रतिस्पर्धा नै चल्थ्यो ।