योजनाबद्ध विकासको दिशामा अघि बढेका छौं : मेयर जिसी

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



नेपालकै प्रमुख पर्यटकीय सहर हो–पोखरा । पोखरा महानगरपालिका देशकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको महानगर पनि हो । जनसंख्या हिसाबले दोस्रो ठूलो र प्राकृतिक सुन्दरताले पहिलो महानगर पोखरामा ३३ वटा वडा छन् । देशका ६ महानगरपालिकामा आफूलाई अब्बल महानगररुपमा उभ्याउन ३ वर्षअघि स्थानीय निर्वाचनबाट चुनिएका यहाँका जनप्रतिनिधि निरन्तर लागिपरेको दाबी गर्दछन् । कार्यकाल सकिन अब २१ महिना बाँकी छ ।

स्मार्ट सिटीको नारा बोकेको महानगरले आफ्नो वाचा के–कति पूरा गर्यो ? साथसाथै कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेको बेला महानगरवासीको हकहितमा पोखरा कसरी अघि बढ्दै छ ? यसका अलावा अहिलेको जल्दोबल्दो विषय सहकारीमा दोहोरो सदस्यता खारेज हुनुपर्ने, महानगरभित्र भएको भनिएको आर्थिक अनियमितता काण्ड, बहुप्राविधिक शिक्षालय, वैकल्पिक शिक्षाको रुपमा अनलाइन कक्षा, महानगरको भावी योजना लगायत विषयमा केन्द्रित रहेर मेयर मानबहादुर जिसीसँग सफल आवाजले गरेको कुराकानीको सम्पादित अंश :

विगतमा स्मार्ट सिटी लगायत विभिन्न नारा पस्किनुभएको थियो, कार्यकाल ३ वर्ष पूरा भैसक्दा के–कति पूरा भयो भन्ने ठान्नुहुन्छ ?
–हामीहरुले यसबारे समीक्षा गर्दैछौं । हामीहरुको नारा थियो–प्रविधिद्वारा सुशासन कायम गर्ने । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये यहाँ पनि प्रविधिद्वारा सुशासन कायम भएको छ । ३३ वटै वडा कार्यालयमा हाल अनलाइन सेवा संचालित छ । महानगरवासीले विभिन्न कामहरु अनलाइनबाटै सेवा लिने अवसर प्राप्त गर्नुभएको छ । १५ सय घरधुरीमा स्वच्छ पिउनेपानी पुर्‍याउने भनेका थियौं, त्यो अब छिट्टै टुङ्गो लगाउँदैछौं ।

साथै विकटलाई निकट ल्याउने भनेका थियौं । १ सय २९ किमी बाटो आउने आर्थिक वर्षसम्म बनिसक्छ । वातावरणबारेमा कार्बन फ्रि सहरकोरुपमा विकास गर्ने भनेकोमा त्यसतर्फ अघि बढिरहेकै छ । साथै पोखरा महानगर सिष्टममा संचालित महानगर हुनेछ भनेका थियौं, जसअनुरुप सिष्टम बसेको छ । यसरी जनतालाई चुनावताका बाँडेका विभिन्न सपना सत्प्रतिशत नै पूरा हुन्छ भनेर त म भन्न सक्दिनँ तैपनि हामीहरु जाने बेलामा ८० देखि ९० प्रतिशतसम्म पूरा गरेर जानेछौं । समग्र पोखराको योजनाबद्ध विकासको दिशामा अघि बढ्न छर्लङ्ग ऐना बनाएर छोड्नेछौं ।

तपाईले यसो भनिरहँदा महानगरमा ठूलो आर्थिक अनियमितता भयो भन्ने कुरा सुनिन आएको छ । विरोधमा आन्दोलन पनि भयो । विपक्षी दल काँग्रेसले पटक–पटक ध्यानाकर्षण पनि गरायो । तैपनि त्यसबारे स्पष्ट कुरा सार्वजनिक हुन किन नसकेको होला ?
–पोखरा महानगरमा आर्थिक अनियमितता भयो भन्ने कुरामा कसैले पनि यति पैसा खायो भन्ने छैन । महालेखा परीक्षणले लेखापरीक्षण गर्छ । सामान्यता महालेखाको परीक्षणमा बेरुजू औल्याउँछ । कतिपय बेरुजू फिर्ता गर्नुपर्ने हुन्छ, कतिपय हिसाब मिलान तथा कतिपय फरफारक गर्नुपर्ने हुन्छ ।

महालेखाले लेखेकै आधारमा पोखरा महानगरभित्र भ्रष्टाचार भयो वा अनियमितता भयो भन्ने कुरामा म सहमत छैन । किनभने १३ करोडकै कुरा गर्ने हो भने १२ करोड रुपैयाँ फरफारक भएको छ । १ करोड ७३ लाख हिसाब मिलान गर्ने भनिएको छ । हामीहरुले पनि आन्तरिक टिम बनाएर छानबिन गरिरहेका छौं । त्यसमा अनियमितता भयो भन्ने आएमात्र कारबाही गर्ने कुरा आउला । कसैले अनियमितता भयो भन्दैमा कारबाही गर्न मिल्दैन । हिसाब मिलान गर्ने भन्ने कुरा भ्रष्टाचार हो कि होइन ? म जान्दिनँ ।

कोभिड–१९ का कारण समग्र क्षेत्र प्रभावित बनेको छ । सबैभन्दा बढी विद्यार्थी वर्ग पनि परे । महानगरभित्र शिक्षा सिकाइका लागि अनलाइन कक्षा कसरी संचालन भइरहेको छ?
–कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावमा परेको भनेकै विद्यार्थी वर्ग हुन् । उनीहरुको शैक्षिक सत्र नै खेर जाने डर छ । सरकारले पनि जसरी तसरी विभिन्न माध्यमबाट पढाऊ भनिरहेको छ । ती माध्यमअन्तर्गत अनलाइन कक्षा चलेका छन् । तर अनलाइन कक्षा कति प्रभावकारी भयो वा भएन ? कति विद्यार्थी सहभागी हुन सके भन्नु भन्दा पनि सबै मिलेर कसरी यसलाई सेफ ल्याण्डिङमा ल्याउने भन्ने मुल मुद्दा हो ।

सबैसँग इन्टरनेट पहुँच नहुन पनि सक्छ । कसैलाई पर्याप्त होला, कसैलाई डाटा चलाउने पैसा पनि नहोला । विविध समस्या छन् । तर समस्या भयो भन्दैमा नकारात्मक कुरा मात्र गरेर हुँदैन । सबैले आ–आफ्नो भूमिका निर्वाह गरौं ।

पोखरा महानगरले यसपालि ल्याएको गण्डकी बहुप्राविधिक शिक्षालयको चर्चा छ । यो कस्तो खालको शिक्षालय हो ?
–पोखरा महानगरपालिकाले प्राविधिक शिक्षामा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने गरी गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरेको हो । यो अझै १ वर्ष ढिलो भैसकेको हो । तैपनि सो दिशामा अघि बढ्न हामीहरुले आफ्नै भवन निर्माणको लागि पनि जग्गा प्राप्त गरिसकेका छौं । बहुप्राविधिक शिक्षालयमा यस वर्षदेखि ‘डिप्लोमा इन अटोमोबाइल इञ्जिीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जिीनियरिङ’ का कक्षा चलाउँदैछाैं।

जसको भर्ना प्रक्रिया भइरहेको छ । बजारको मागका आधारमा अन्य विषयहरु स्वास्थ्य, कृषि, इञ्जिनियरीङ, फरेष्ट्री, पर्यटन, पशु लगायत थप्दै जाने महानगरको लक्ष्य छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई प्रवद्र्धन गर्दै स्थानीयस्तरमै निम्न मध्यमस्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी सक्षम आत्मनिर्भर तथा स्वावलम्बी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पठनपाठन तयारी थालेको हो ।

पोखरा महानगरमा सहकारी क्रियाकलाप कसरी अघि बढेका छन् ?
–अघिल्लो वर्षसम्म पोखरा महानगरमा संचालित सहकारी हेर्दा बचत तथा ऋण सहकारीमा मात्रै ३४ अर्ब रुपैयाँ छ । सहकारीमा भएको पुँजी सही ठाउँमा उपयोग गर्नेबारे राज्यले नीति बनाउनुपर्ने हो । तर अहिलेसम्म बनाउन सकेको छैन । एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट ७-८ प्रतिशत व्याज तिरेर ऋण ल्याइरहेका छौं तर सहकारीमा भएको यही पैसा हामीहरुले चलाएका छैनौं । संघ तथा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण छैन ।

सरकारले तीनखम्बे अर्थनीतिका रुपमा सहकारीलाई लिए पनि सोअनुरुप काम हुन सकेको छैन । सहकारीलाई आर्थिक गतिविधिमा कसरी संलग्न गराउने, कसरी उत्तरदायित्व बनाउने भन्ने स्पष्ट खाका आइसकेको छैन । कम्तीमा सहकारीले आफ्नै शेयर सदस्यहरुको आर्थिक अवस्था परिवर्तन गरेर देखाउन सक्नुपर्छ । पोखरा महानगर अब दुई खाता भएका सहकारी देख्न दुर्लभ हुने स्थितिमा पुगिसकेको छ । देखाउने खाता एउटा हुन्छ, अडिट गर्ने खाता अर्को हुन्छ भन्ने मान्यता चिर्दै महानगर त्यस्तो प्रवृत्ति अन्त्यको लागि अघि बढेको हो । साथै तालिमदेखि लिएर सहकारीलाई सशक्तीकरणको दिशामा हामीहरु निरन्तर क्रियाशील छौं ।

सरकारले एउटै प्रकृतिका दुई सहकारीमा शेयर सदस्य बन्न नपाइने भनेको छ नि ?
–मलाई लाग्छ, नेपालमा जति पनि सहकारी खुलेका छन्, सबै बुझेर खुलेका छैनन् । पहिलो कुरा हामीहरुले सहकारी के हो भन्ने बुझाउन जरुरी छ । कुन सहकारीले बढी मुनाफा बढी बाँड्यो । कसले बोनस दिन्छ ? भनी वर्षेनी चाहर्ने प्रवृत्ति छ, त्यो अन्त्य हुनुपर्छ । जुन सहकारीमा आफू आबद्ध हो, त्यही सहकारीलाई दत्तचित्त भएर अगाडि बढाउनेतर्फ लैजानु पर्छ । तर यहाँ त्यस्तो पाइँदैन । मुनाफाको मात्र कुरा गरिन्छ । वर्षभरि हेर्यो, कहाँ बढी बोनस बाँडेको छ भनेर त्यता लाग्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ । सहकारीलाई बलियो बनाउँदै जानुपर्छ । एक ब्यक्ती एक सहकारीको नीतिलाई लागू गरेरै छोड्छौं ।

बाँकी कार्यकालमा महानगरका भावी योजना के कस्ता छन् ?
–पोखरामा विविध क्षेत्रको प्रचूर सम्भावना छ । हामीहरुले चुनावताका घोषणा गरेका प्रतिबद्धता यो वर्षभित्रै पूरा गर्नेतिरमा अघि बढेका छौं । अब गर्नुपर्ने बाँकी काम र गर्नै नसक्ने काम के हुन् भन्नेबारे केलाउनुपर्नेछ । समग्रमा भन्नुपर्दा पोखरा महानगर सही सिष्टममा गएको मुलुककै नमुना महानगर बनाउने दिशामा हामीहरु लागिपरेका छौं ।