बन्द उद्योगबाट खुलेकाे गोल्यानकाे व्यावसायिक यात्रा

-


     रेविका आचार्य    
     असाेज २९ गते २०७७ मा प्रकाशित


नेपाल एक कृषिप्रधान देश । खेतीयोग्य जमिन पनि पर्याप्त छ। तर कृषिप्रधान मुलुक भएर पनि कृषिजन्य उत्पादनहरु आयात गरेरै खानुपर्ने बाध्यता । सरकारीस्तरबाट बेलाबखत कृषि प्रवर्धन गर्नुपर्ने विषय उठान भइरहन्छ । व्यावसायिक कृषिको नाममा धेरै योजना बनेका पनि छन् । तर कृषि व्यवसायीकरण हुन सकिरहेको छैन ।

मुलुकको चर्चित व्यावसायिक घराना गोल्यान ग्रुपले भने नेपालमै नमूना काम गरेको छ । जुन कृषिमा लाग्न चाहनेहरुका लागि प्रेरणाको श्रोत बनेको छ । गोल्यान ग्रुप स्वदेशमा उत्पादित बस्तु विदेश निर्यात गर्ने एक चर्चित ग्रुप हो । जसले व्यापारघाटा उच्च भइरहेको बेला पनि आफ्ना उत्पादनहरु निर्यात गरेर मुलुकको व्यापारघाटा घटाउन मद्दत गर्दै आएको छ ।

गोल्यान ग्रुपले उत्पादनमूलक उद्योग, बैंक, बीमा, जलविद्युत्, रियलस्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेको छ । यसका अध्यक्ष हुन्– पवन गोल्यान । एनएमबि बैंकको अध्यक्ष समेत रहेका गोल्यान नेपालका बाणिज्य बैंकका अध्यक्षहरुको संस्था नेपाल बैंकर्स परिसंघका समेत अध्यक्ष हुन् । अहिलेका स्थापित र सफल उद्योगीको छवी बनाएका गोल्यान सजिलै यहासम्म आईपुगेका होइनन् । निरन्तरको मिहेनत र लगनले उनलाई आजको यो पहिचानमा पुर्याएको हो ।

पवन गोल्यान मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका हुन । स्कुल रंगेलीमै पढे। त्यसबेला १६ वर्ष नपुगी प्रवेशिका परीक्षामा सहभागी हुन नपाइने भएकाले आफू १४ वर्षको छँदा २ वर्ष उमेर बढाएर सत्यनारायण हाइस्कूल, विराटनगरबाट एसएलसी पास गरे । एसएलसी दिएपछि खाली समयमा बुवा सोहनलाल गोल्यानले उनलाई पुर्ख्याैली व्यापार सिकाए । त्यहाबाट सुरू भयाे गाेल्यानकाे व्यावसायिक यात्रा । बुवालाई कारोबारमा सघाउँदै, सिक्दै उनि अघि बढिरहे । १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुवाले कारोबार पुरै जिम्मा दिनुभयो’, पवन सम्झन्छन् ।

त्यसबेला विराटनगरमा गोल्यान ग्रुपको कपडा उद्योग थियो, तर बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए । त्यही बन्द कपडा उद्योग खाेल्दै सुरू भयाे गोल्यानकाे व्यावसायिक यात्रा । कपडा उद्योग नाफामा जान थालेपछि उनले फेरी अर्काे उद्योग खाेल्ने तयारी गरे । लगतै उनले पस्मिना उद्योग खाेले । अन्तत: उनी सबैभन्दा धेरै पस्मिना निर्यात गर्ने उद्यमी नै बने । उनले नेपाल बाहिर उद्योग खोल्ने सोच भने कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुवाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’ पवन भन्छन्, ‘तर, असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेशमै काम गरेँ ।’

सोहनलाल गोल्यानले विराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसबाट उद्यम कारोबार सिकेका छोरा पवनले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए । बुवाले सम्हाल्न नभ्याएर बन्द रहेको कपडा उद्योगबाटै आफ्नो व्यावसायिक सफलताको यात्रा सुरु भएको पवन बताउँछन् । त्यसपछि धागो उद्योग खोल्ने योजना बन्यो । सन् १९९४ मा एमएस ग्रुपका शशीकान्त अग्रवालसँग मिलेर ५०-५० प्रतिशत लगानीमा रिलायन्स स्पीनिङ मिल खोलिएको थियो ।

त्यस लगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्यो। त्यसकै परिणामस्वरुप नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलि पछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ – गोल्यान भन्छन ।
गोल्यान ग्रुपको अर्को उद्योग छ– शिवम् प्लाष्टिक इण्डष्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशतभन्दा बढी पोलि–प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ ।

पवन गोल्यानले अहिले एमएमबी बैंकमा अध्यक्षका रुपमा नेतृत्व समेत गरिरहेका छन । उनको नेतृत्वको एमएमबी बैंकले सन् २०१७ र २०१८ मा लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ प्राप्त गर्न सफल भयो । त्यो सफलतामा पनि पवन गोल्यानको प्रमुख भूमिका रहेको छ। बोर्डले तनाव दिएकै कारण बैंकहरुका कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएको नेपालमा धेरै दृष्टान्त छन् । तर, पवन गोल्यान यस्ता अध्यक्ष हुन्, जसले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्छन् र बैकका हरेक कार्ययोजनामा सीईओलाई सघाउछन ।

उत्पादनमा केन्द्रित गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ हायात प्यालेसमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा सुबिधा सम्पन्न अपार्टमेन्ट छ । यी सबैकाे नेतृत्व पवनले नै गर्दै आएका छन ।

त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट), भोटेकोशी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा समेत गोल्यानको लगानी छ । पवन गोल्यानले विद्युत्को लागि छुट्टै समूह बनाएका छन् । जलविद्युत् आयोजनाहरुमा उनका छोरा अक्षय गोल्यान समेत प्रत्यक्ष संलग्न छन् ।

गोल्यान समूहको कृषि उद्यम

उद्योगी पवन गाेल्यानले पछिल्लो समय कृषि उद्यममा ठुलाे लगानी बिस्तार गरेका छन् । कृषिप्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ कि भनेर कृषिमा लगानी गरिएको गाेल्यानकाे भनाइ छ । उनकाे कंपनीले झापामा सैयौँ बिघा जग्गा किनेर कागती, आँप, लिची, मेवा, खरबुजा लगायतका फलफूल लगाएको छ । कृषी क्षेत्र नया ब्यबसाय बिस्तारको लागी अवसरको क्षेत्र मान्छन गोल्यान ।

स्थानिय कृषकहरुलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गरिरहेका छन् गोल्यानले । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाईपालनका लागि सहयोग गरिहेका छन् । काम गर्न चाहने तर स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी समेत गरिदिने गरेका छन् ।

झापाको चकचकीमा सुपारी, कागती तथा खरबुजाका विरुवाहरु हुर्किदैछन् । त्योसँगै गाँजर र चुकन्दर त लकडाउनअघि बजारमा पुग्न शुरु भइसकेका थिए । गोल्यानको अर्को फार्म मगरगासमा छ । त्यहाँ लगाइएका ड्रागन फूडले आकास चुम्न खोज्दैछन् । सँगै लगाइएका मेवा तथा कागतीका बोटहरुले सुख्खा मरुभूमिलाई उर्बर बनाइदिएका छन् । केराउ, खोर्सानी, सिमी लगायतका तरकारीले बलौटे माटो पुरै छापिदिएर हरियाली बनाइदिएका छन् । यो कृषि उत्पादन देख्दा स्थानीय आश्चर्यचकित छन् । बलौटोमा पनि गरे त उब्जनी हुने रहेछ नि भन्ने बल्ल दिमागमा घुस्दैछ स्थानीयको ।

ठूलो परिमाणमा लगानी गर्न नसक्ने भएका कारण पनि स्थानीयमा व्यावसायिक खेती गरौं भन्ने भावनाको विकास भएन । तर, अहिले गोल्यानले फार्म सञ्चालन गरेपछि स्थानीय पनि खुसी छन् ।
अर्को रोचक कुरा यहाँको अर्गानिक हो । ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा खेती गर्नेहरुले अहिले विषादी प्रयोग गर्छन् । विषादी प्रयोग नगरे विभिन्न प्रकारका किरा, फट्याङ्ग्राका कारण पनि उब्जनी नहुने भएकाले ठूलो परिणाममा खेती गर्ने अधिकांशले विषादी प्रयोग गर्छन् । तर गोल्यानकाे याे फार्ममा कुनै विषादी प्रयोग हुदैन । बजारकाे रासायनिक मल भने प्रयोग गर्छन् ।

गोल्यानका झापाका विभिन्न ४ ठाउँमा फार्म सञ्चालन भइरहेका छन । चारै ठाउँको माटो भने बलौटे माटो हो । बलौटे माटोलाई उर्बर बनाएर अहिले खेती भइरहेको छ । कागती, आँप, लिच्ची, मेवा, खरबुजा लगायतका फलफूल तथा तरकारीले अहिले गोल्यान समूहको फार्म फस्टाउँदैछ । झापाको बाह्रदशी गाउँपालिका राजगढको ३० विगाहा क्षेत्रफलमा मात्रै स्टबेरी लगाइएको छ ।

यसैगरी, झापाको झापा गाउँपालिकाको मदरगास भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ । कागती, मेवा, केराउ, खुर्सानी चुकन्दर लगायतका फलफूल तथा तरकारी पनि उत्तिकै फस्टाएका छन् मदरगासमा । बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । त्यहाँ पनि चुकन्दर तथा गाजरहरुले बलौटे माटो थप उर्बर बन्दैछ । उता घेराबारीमा पनि यस्तै फलफूल तथा तरकारी लगाइएका छन् । याे अवस्थामा फार्म अाइपुग्दा गाेयल अाफ्नाे प्रयासले सार्थकता पाएकाे अनुभुत गर्छन ।

कृषीमा अर्बौ लगानी गरेका गोल्यानलाई सुरुमा यो क्षेत्रमा लगानी बिस्तार गर्दा धेरैले घाटाको ब्यापार नगर्न भनेका थिए । तर गोल्यानको लगन र कृषिमा उनले देखेको सपना अहिले साकार भएको देख्दा कृषिमा लगानी नगर्न भन्नेहरुकै बोली रोकिएको छ । नेपालकै अग्रणी ब्यबसायीक घरानाका पवन गोल्यानको यो सफलता नया पुस्ताका उधमीलाई एउटा पाठ हुनसक्छ ।

गोल्यान ग्रुपले अर्गानिक फलफूल तथा तरकारीहरुको बिक्री वितरणका लागि ‘माटो’ ब्राण्ड स्थापना गरेको छ । निर्यातजन्य उद्योगहरु, बैंक तथा वित्तीय संस्था, जलविद्युत् लगायतमा लगानी गरिरहेको यस समूहले कोरोना महामारीपछि ह्याण्ड स्यानिटाइजर समेत उत्पादन गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्ड पूरा गरेर माटो ब्रान्डको स्यानिटाइजर बजार पठाइएको बताएको छ । उक्त स्यानिटाइजरमा नेपाली जडिबुटीहरु प्रयोग गरिएको छ । छालाका लागि पनि साधारण स्यानिटाइजरभन्दा माटो ब्रान्डको स्यानिटाइजर उपयुक्त हुने ग्रुपको दाबी छ ।

गोल्यानकाे सामाजिक कर्म

उद्योगी गोल्यान व्यवसाय संगै सामाजिक काममा पनि उतिकै सक्रिय छन । समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था पनि स्थापना गरेका छन् । १४ वर्षको उमेरमा बितेका छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने सीप विकास, तालिम तथा सहयोग गर्ने गरेको उनी बताउछन ।