मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने भएपछि स्थानीय खुशी

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित



पाँचथर, ३० असोज मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने भएपछि स्थानीयवासी खुशी भएका छन्।याङवरक गाउँपालिका वडा नं १ मेजरडाँडामा गाई गोठ राखेका भक्तराज बेघा लिम्बू नजिकैको सडक कालोपत्रे हुने भएपछि दङ्ग छन् । “अब हाम्रो घ्यू, छुर्पीले राम्रै भाउ पाउने भयो”, लिम्बूले भन्नुभयो, “अहिलेसम्म गाडीकै समस्या थियो ।” लिम्बूको गोठ नजिकैबाट विस्तार भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खोलिएको आठ वर्ष भयो । खोलिएको ट्र्याक पनि आधाजसो मात्रै बाँकी छ । कतै भित्तोले पुरेको छ त कतै छेउ लडेको छ ।

लोकमार्गको उद्गम विन्दु भए पनि यहाँ हालसम्म ट्र्याक विस्तार र कालोपत्रे हुन नसक्दा स्थानीयले समस्या भोग्दै आएका थिए । तर, चालु आर्थिक वर्षको बजेटमा सरकारले लोकमार्गको उद्गम विन्दु क्षेत्रको कालोपत्रेका लागि बजेट छुट्ट्याएपछि स्थानीयवासी खुशी भएका हुन् । ट्र्याक खोलिएको लामो समयपछि सडक कालोपत्रे हुने खवरले आफूलाई बल्ल सडक आइपुग्न लागेजस्तो अनुभूति भएको याङवरक–१ हर्कटेका ताराबीर राईको भनाइ छ । “ट्र्याक खोलिए पनि भनेको बेलामा सवारी आउन नसक्ने अवस्था छ”, राईले भने, भोकै बस्नुपर्ने अवस्था पनि आयो ।” विगतमा जस्तो भरीया नपाइने र सवारीसमेत नचल्ने समस्याले उच्च पहाडी क्षेत्रका स्थानीयवासी अहिलेसम्म समस्यामै बस्नु परेको राईको भनाइ छ । जतिसक्दो छिटो सडक कालोपत्रेको काम शुरु हुनुपर्ने स्थानीयवासीको माग छ ।

“चाँडो भइदिएदेखि हामीलाई राहत मिल्थ्यो”, राईले भने याङवरक गाउँपालिका वडा नं ४ दारिम्बाबाट लोकमार्गको ५३ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङबाट लोकमार्गको शुरुआत भएको छ । चिवाभञ्ज्याङसम्म भारत सरकारले पनि सडक निर्माण गरिरहेको छ । भारततर्फ समेत सडक निर्माण भएपछि दुवै देशका उच्च पहाडी क्षेत्रका स्थानीयलाई सामग्री आयात–निर्यातमा सघाउ पुग्ने स्थानीयवासीको अपेक्षा छ ।

याङवरकबाटै प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समिति पाँचथरका सदस्य नरबहादुर गुरुङ शुरुआतमै ट्र्याक खोलिएको र लोकमार्गको उद्गम विन्दु रहेको क्षेत्रमा कालोपत्रेमा ढिलाई हुनु आफैँ दुःखद् भए यस वर्ष बजेट छुट्टिएपछि स्थानीयवासी उत्साहित भएको बताउछ्न। सरकारले चालु आर्थिक वर्षमा उक्त खण्ड कालोपत्रेसहित मध्यपहाडीको पूर्वी खण्डका रु आठ अर्ब २७ करोड विनियोजन गरेको छ ।