पुनःनिर्मित रानीपोखरीको उद्घाटन कात्तिक ५ मा

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


तस्बिर:रोशन सापकोटा/रासस


काठमाडौं, ३ कात्तिक । पुनःनिर्माण सम्पन्न भएपछि ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ मा गरिने भएकाे छ । भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले कात्तिक ५ गते उद्घाटन गरिने भएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने बताएका छन । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्पले भत्काएकाे पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएकाे छ । उद्घाटन भएपछि यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीकाे बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पनि दर्शन गर्न पाउने भएका छन् । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकि थिइन । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा लेखिएकाे छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा पोखरी बनाएका हुन् ।