कोरोना नियन्त्रणमा सहकार्य गर्दै गोर्खा वेल्फेयर ट्रष्ट

-



     सरिता दाहाल    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ कात्तिक । पाेखरा दीपकाे गोर्खा वेल्फेयर ट्रष्ट (जि.डब्लू.टी.) ले कोरोना नियन्त्रण कार्यका लागी विभिन्न सहयोग गरिरहेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको नियन्त्रणकाे काम गर्न बेलायत सरकारको वैदेशिक सहयोग नियोगले जि.डब्लु.टी.लाई झण्डै तीन करोड रुपैयाँ उपलव्ध गराएको बताइएकाे छ ।

महामारीका बेला अग्रपंत्तिमा रहेर खट्ने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, राष्ट्रसेवक कर्मचारीहरु, जनप्रतिनिधिहरु लगायत सर्वसाधारणहरुलाई कोरोना भाइरस संक्रमणबाट बचाउने हेतूले सहयोगका काम गरिरहेको ट्रष्टले जनाएको छ ।

कोभिड–१९ विरुद्ध स्वास्थ्य सुरक्षा निर्देशिका र मापदण्ड बमोजिम ट्रष्टले हालसम्म ६ वटा प्रदेश र ३४ जिल्लाका ७० वटा नगरपालिका एवम् गाउँपालिकाअन्तर्गत २०४ स्थानमा विभिन्न सहयोग गरिसकेकाे छ ।

कोभिड प्रतिकार्य योजनाअन्तर्गत जि.डब्लू.टी.ले विभिन्न स्थान र निकायहरुमा स्वच्छ खानेपानी सुविधाको प्रबन्ध, पैदल सञ्चालित हातधुने उपकरण जडान, साबुन, पञ्जा, मास्क, फेससिल्ड, ह्याण्ड सेनिटाइजर लगायतका व्यक्तिगत सुरक्षाका सामग्रीहरु (पिपिई) का साथै डस्टविन, सेनिटरी प्याड, पर्सनल हाइजिन किट्स जस्ता सरसफाइसम्बन्धी अन्य सरसामानहरु र कोभिड–१९ बारे सन्देशमूलक प्रचार सामग्री निःशुल्क वितरण गरेको छ ।

ट्रष्टले ६१ वटा अस्पताल र स्वास्थ्य चौकीहरु तथा ७६ वटा स्थानीय निकायका विभिन्न कार्यालयहरुमा पनि ती सामाग्रीहरु सहयोग गरेको जनाएको छ । यस्तै, ५६ वटा आइसोलेसन तथा क्वारेन्टिन सेन्टरहरुमा पनि सहयोग पुर्याइएको छ । जसबाट ५० हजारभन्दा बढी व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकाे बताइएकाे छ ।

यसबाहेक ट्रष्टले संघीय सरकार र स्थानीय निकायहरुसँग निकटतम समन्वय गरी नेपाल–भारत सीमानाका, प्रादेशिक सिमानामा रहेका जाँचकेन्द्रहरु, अन्तरजिल्ला प्रवेशविन्दुहरु तथा विभिन्न शिक्षण संस्थाहरुमा हतारहतारमा स्थापना गरिएका क्वारिन्टाइन-आइसोलेसन सेन्टरहरुमा खटिएका स्वास्थ्यकर्मीहरुलाई तत्काल आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई सहयोग पुर्याएको जनाएको छ ।

लामो समय लकडाउनमा पनि काठमाडौंस्थित बेलायती दुतावासकोे पहलमा जि.डब्लू.टी.का सवारीसाधनहरुलाई नेपाल सरकारबाट सञ्चालन अनुमति प्राप्त गरी ट्रष्टका कर्मचारीहरुको निर्वाध आवागमन सुनिश्चित भएकाले नै महामारीको जटिल परिस्थितिमा पनि समयमै आवश्यक सहयोग परिचालन गर्न सफल भएको ट्रष्टद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम (आर.डब्लू.एस.पी.) का कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले सफल आवाजलाई बताए । उनले अगामी वर्ष पनि कोभिड–१९ सहायता योजना जारी रहने जानकारी दिए ।

साबुनपानीले राम्रोसँग हात धुनु र सरसफाइसम्बन्धी उचित व्यवहार गर्नु नै कोभिड–१९ विरुद्ध लड्ने सबभन्दा भरपर्दो हतियार हो भन्ने यकिन हुनासाथ जि.डब्लू.टी.को सामुदायिक सहायता कार्यक्रमको प्रमुख सहयोगी बेलायत सरकारको वैदेशिक सहयोग नियोग (फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस जसलाई यसअधि डि.एफ.आइ.डी. भनिन्थ्यो) द्वारा जि.डब्लु.टी.का खानेपानी तथा सरसफाइ कर्मचारीहरुलाई तुरुन्तै परिचालित गरिएको जानकारी पनि निर्देशक श्रेष्ठले गराए ।

दुर्गम क्षेत्रका समुदायको जीवनस्तर उकास्ने उद्देश्यले जि.डब्लू.टी.द्वारा सञ्चालित सामुदायिक सहायता कार्यक्रमअन्तर्गत हालसम्म २ हजार ६ सय ८५ विद्यालय भवनहरुको निर्माणबाट ८ लाख ५४ हजार १ सय १५ जना विद्यार्थीहरु र विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य शिविरहरुमा औषधी उपचार सुविधा पुर्याएर ८४ हजार जना बिरामीहरु लाभन्वित भएकाे रेकर्ड संस्थासंग छ ।

त्यसैगरी नेपालको ४१ जिल्लाहरुमा निर्माण गरिएका २ हजार १ सय ६ वटा खानेपानी आयोजनामा निर्माण गरिएका ४६ हजार ३२ वटा धारामार्फत ६५ हजार ४ सय ८३ घरधुरी तथा ४ लाख २२ हजार ४ सय ७८ जनसंख्या खानेपानीको सुविधाबाट लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ ।

गोर्खा वेल्फेयर ट्रष्ट सन् १९६९ मा स्थापित भई संयुक्त अधिराज्यमा दर्ता भएको एक कल्याणकारी संस्था हो, जसले नेपालमा रहेका अवकाशप्राप्त बेलायती सेना र तिनका बिधवाहरु र समुदायहरुको आत्मसम्मानपूर्वक जीवनयापन सुनिश्चिताका लागि कार्य गर्दै आइरहेको छ । यसका लागि ट्रष्टले विगत लामो समयदेखि मुख्यरुपमा व्यक्तिगत आर्थिक सहायता, स्वास्थ्य सेवा र सामुदायिक सहायताका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइएकाे छ ।