सफलताका लागि पुरस्कारमा होइन, लक्ष्यमा ध्यान आवश्यक

-



     बुद्धि मल्ल     
     कार्तिक ९ गते २०७७ मा प्रकाशित



बदलिँदो समयसँगै मानिसहरुको ध्यान धेरैतिर भड्किरहेको छ । छिटो प्रतिफल प्राप्त गर्न मानिस लालायित हुन थालेका छन् । तातै खाँउ जलि मरुँ भन्ने भनाई जस्तै मानिसहरु अल्पकालीन प्रतिफलको लागि दीर्घकालीन लक्ष्य भुलिरहेका छन् । ब्यस्त समाजमा अल्पकालीन प्रतिफल प्राप्त गर्न मानिसहरु तछाडमछाड गरिरहेका छन्।

क्रिकेटमा टि–ट्वान्टि क्रिेकेटले मानिसहरुको ध्यान आकर्षित गरिरहेको जमाना छ भने खेलाडीहरुले पनि विभिन्न प्रिमियर लिगबाट करोडौं करोडौं पैसा कमाईरहेका छन् । तर, असली खेलाडीको मूल्याङ्कन भने ५ दिनको टेष्ट खेलाडीबाट नै हुन्छ । कुनै पनि खेलाडीलाई विश्वस्तरीय खेलाडी बन्नको लागि राम्रो टेष्ट खेलाडी बन्नुपर्छ ।

एउटा मानिसले उसलाई एकदमै मनपर्ने हराएको घडी पत्ता लगाउन नसकेपछि घडी भेट्टाउनेलाई रु. १ लाख पुरस्कारको घोषणा गर्यो । केही मानिसहरु पुरस्कार पाउने आशामा विभिन्न ठाउँमा घडी खोज्न ब्यस्त भए । केही समयपछि एकजना बच्चाले घडी भेट्टाउन सफल भयो । घडी त्यहीँ वरपर नै थियो, जहाँ करिब १ दर्जनजति मानिसहरुले खोजिसकेर त्यस ठाउँमा छैन भनी निष्कर्ष निकालेर अन्य ठाउमा खोज्न शुरु गरेका थिए ।

सबै दंग भएर बच्चालाई सोध्न थाले – त्यहाँ त हामीले धेरै नै खोजेका थियौं तर भेट्टाएनौं तिमीले कसरी पत्ता लगायौ ?

बच्चाले भन्यो – मैले चुपचाप बसेर पूर्ण ध्यान केन्द्रित गरेर घडीको आवाज सुन्न प्रयास गरेँ निक्कै समयको प्रयासपछि एक ठाउँबाट घडीको आवाज आयो अनि आवाज पछ्याउदै जाँदा घडी पाउन सफल भएँ। घडी दराजको मुनि खसेको रहेछ ।

भनिन्छ नि, हतपतको काम लतपत । माथिको कथाले पनि यहीँ सन्देश दिन खोजेको छ । पुरस्कारको लोभले मानिसहरु घडी खोज्न यति हतारिए कि अरुले भेटाउने पो होकि भनेर हड्बडाएर काम गर्दा उनीहरुले लक्ष्य अर्थात घडी भेट्टाउन सकेनन्। तर, बच्चाले भने उक्त घडी अर्थात लक्ष्य भेट्टाउनको लागि धैर्यताका साथ योजना बनाएर सो काममा एकदमै ध्यान केन्द्रित गर्नाले सफल भयो ।

कपटी र मनमा छट्पटी लिएर गरेको काममा नतिजा राम्रो हुंँदैन । बच्चाले घडीको आवाज पत्ता लगाउनको लागि मनलाई एकदमै शान्त बनाएको र उसले पुरस्कारभन्दा पनि लक्ष्य अर्थात घडीमा ध्यान केन्द्रित गरेकोले लक्ष्यसम्म पुग्न सफल भएको हो । पुरस्कारमा ध्यान केन्द्रित गर्ने ब्यक्तिले कुनै एक दुईवटा सफलता प्राप्त गरे तापनि लक्ष्यमा ध्यान केन्द्रित गर्ने ब्यक्तिहरु नै अन्तत: सफलता प्राप्त गर्छन् ।

मोस्लोको आवश्यक्ताको सिद्धान्त अनुसार पनि सर्वप्रथम मानिसले उसलाई जीवनयापनको लागि नभई नहुने कुराहरु जस्तै – गाँस, बास, कपासको लागि काम गर्छ। यो आवश्यकता पूरा भएपछि सुरक्षाको प्रबन्ध जस्तै–जागिरको सुरक्षा, जीवनको सुरक्षा आदि। सुरक्षा आवश्यकता पूरा भएपछि उसले सामाजमा आफ्नो नाम होस्, अरुले मानोस् भन्ने चाहन्छ । सोही आवश्यकता पूरा गर्न काम गर्छ । त्यसपछि आफूले गरेको जीवनको सन्तुष्टिको लागि काम गर्दै यी ४ चरणपछि अन्तमा आत्मसन्तुष्टिको चरणमा पुग्छ ।

अधिकांश मानिसहरु पहिलो चरणमा मात्र, त्यसपछि केही दोश्रो र तेश्रो चरणमा नै सिमित हुन्छन् किनभने यी चरणहरुमा सिमित हुने मानिसहरु पुरस्कारमै रमाएर मुल लक्ष्य बिर्सिरहेका हुन्छन वा ती लक्ष्यको लागि ध्यान केन्द्रित गर्न सकिरहेका हुँदैनन् । मोस्लोको आवश्यकताको सिद्धान्तबाट पनि पुरस्कारलाई भन्दा लक्ष्यमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सिक्न सकिन्छ किनभने चौथाे र पाँचाै‌ चरणमा पुग्ने सफल ब्यक्तिहरुले लक्ष्यमा ध्यान केन्द्रित गरेको पाईन्छ ।

यसमा कुनै शंका छैन कि गाँस, बास, कपास नपाएको मानिसले सुरक्षाबारे सोच्दैन। सुरक्षा आवश्यकता पूरा नभएको मानिसले सामाजिक आवश्यकताकाे बारेमा सोच्न सक्दैन । यो मानिसले एउटा पूरा भएपछि अर्काे आवश्यक्ताको महसुस गर्दै जान्छ तर अधिकांश मानिसहरुले एउटा आवश्यकता पूरापछि पनि पुरस्कार वापतको उत्प्रेरणाले गर्दा अर्काे यथास्थितिमा नै रमाएर बस्ने र त्यो भन्दा ठूलाे उत्प्रेरणाको श्रोतको खोजी नगर्ने भएकोले आशातित सफलता प्राप्त गर्न सक्दैनन् ।

कुनै पनि कर्मचारीको लागि पारिश्रमिक उत्प्रेरणाको एउटा श्रोत हो । कर्मचारीले काम गरेपछि उचित पारिश्रमिक पाउनुपर्छ र उ यसबाट खुसी पनि हुनुपर्छ । तर, पारिश्रमिकको लागि मात्रै काम गर्ने सोच बनाउनुहुन्न । कर्मचारीहरुले उसको लक्ष्यको लागि काम गर्नुपर्छ । लक्ष्य भन्नाले उ जुन क्षेत्रमा काम गरेको छ, त्यस क्षेत्रको उत्कृष्ट बन्नु अर्थात उ जुन लक्ष्य लिएर उक्त कार्यालयमा भर्ना भएको थियो, उक्त लक्ष्य प्राप्तिको लागि काम गर्नुपर्छ ।

सन् २०१३ मा रिलिज भएको फरहान अख्तर अभिनित बलिउड चलचित्र “भाग मिल्खा भाग” मा नायक फरहान अख्तर अर्थात मिल्खा सिंङ्ग आर्मी ट्रेनिङ्गमा दौडमा भाग लिनेले एक गिलास दुध पिउन पाउने थाहा पाएपछि दौडमा भाग लिन थाल्छन् ।

उनको शुरुवाती दिनहरुमा दौडमा भाग लिनुको मुख्य उदेश्य भनेको एक गिलास दुध पुरस्कार थियो र दुधको लागि दौडिन्थ्यो र पछि भारतको खेलाडीले लगाउने कोट लगाउन पाईन्छ भन्ने आशले दाैडिन थाल्यो । तर, जब बिस्तारै उसको लक्ष्य देशको लागि दौडेर स्वर्ण पदक जित्ने भन्नेमा ध्यान केन्द्रित गर्यो, उसले दौडमा विश्व रेकर्ड बनाएर इतिहास बदलिदियो ।

मिल्खा सिंङ्गको जिवनीबाट पनि पुरस्कारको लागि भन्दा लक्ष्यको लागि काम गर्यो भने ठूलाे सफलता पाइन्छ भन्ने बुझ्न सकिन्छ । कुनै पनि काम गर्दा छट्पटी गर्नु त पर्छ तर मनमा शान्ति ल्याउनुपर्छ । छटपटी भने उक्त कार्यको लक्ष्यमा पुग्नको लागि गर्नको लागि, सोच्नको लागि गर्नुपर्छ । काम कसरी गर्ने, कहाँ गर्ने, किन गर्ने आदि सोच्नकाे लागि गरिएको छट्पटीले भने सकारात्मक नतिजा ल्याउँछ । यी कारणले मनमा अशान्ति भने ल्याउनु हुँदैन ।

पुरस्कारले पनि ब्यक्तिमा उत्प्रेरणाको कार्य गर्छ । मानिसलाई कुनै पनि कार्य गर्नका लागि उत्प्रेरणको ठूलो भूमिका हुन्छ । माथिको कथामा घडी खोज्नको लागि होस् वा मिल्खा सिंङ्गलाई दौडमा भाग लिनको लागि होस् उत्प्रेरणा बापत पुरस्कारले ठुलो भूमिका खेलेको छ । तर, सधैँ पुरस्कारको लागि मात्र काम गर्यो भने ठूलो सफलता प्राप्त हुँदैन । उत्प्रेरणालाई लक्ष्य प्राप्तिसँग जोड्ने प्रयास गर्नुपर्छ । मिल्खा सिंङ्गले एक गिंलास दूधबाट प्राप्त भएको उत्प्रेरणालाई दौडमा स्वर्ण पदक जित्ने लक्ष्यसँग जोडेकोले उनको नाम इतिहासमा लेखिएको छ ।

प्रख्यात अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर लेश ब्राउनले भनेका छन्– “लक्ष्यले मानिसको शक्तिलाई कार्यमा लगाउने माध्यमको भूमिका खेल्छ” । लक्ष्य भएन वा बिर्सियो भने मानिसको शक्ति पनि सही काममा प्रयोग नहुने भएकोले शक्ति त्यसै खेर जान्छ । पुरस्कारले मानिसलाई उत्प्रेरणा दिन्छ तर मानिसले पुरस्कारमा भन्दा लक्ष्यमा ध्यान दिनुपर्छ । पुरस्कारमा होइन, लक्ष्यमा ध्यान दिए ठूलो सफलता प्राप्त हुन्छ ।
(लेखक बैंकर हुन् )