सम्झनामा सूर्यबहादुर केसी

-


     रवीन्द्र माकाजू    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


संसारमा दिनहुँ मान्छे जन्मन्छन् र मर्छन् । तर केही यस्ता मान्छे हुन्छन् जसको वियोगले समाज दुःखी हुन्छ, पिडित हुन्छ । यस्तै घटना घट्यो अहिले पोखरामा । प्रतिनिधि सभाका सदस्य बरिष्ठ समाजसेवी माननीय सूर्यबहादुर केसीको अल्पायुमा नै निधन हुँदा समग्र पोखरा शोकमग्न बन्न पुग्यो । उनी सबैका प्रिय थिए । सरल, सहज स्वभाव थियो उनको । सबैलाई सहयोग गर्ने बानी थियो । उनले सहयोग नगरेका कुनै व्यक्ति या कुनै संस्था बाँकी छ जस्तो मलाई लाग्दैन । यसर्थ कोरोना महामारीका विच पनि हजारौंका संख्यामा उनलाई भावपूर्ण विदाई गर्न श्रद्धासुमन प्रकट गर्न मान्छेहरु घाटमा ओईरिए ।

वि.सं. २०१४ सालमा जन्मिएका सूर्यबहादुर केसीका पिता किर्तिबहादुर (जो निर्माण व्यवसायी) थिए । पृथ्वीनारायण क्याम्पसबाट अध्ययन पुरा गरेपछि सूर्यबहादुर पनि निर्माण व्यवशायमा लाग्दै थिए । २०४१ सालमा विषम परिस्थितिमा पोखरा नगर पञ्चायतका प्रधानपञ्च बनेपछि पोखरालाई विकसित शहरका रुपमा चिनाउने कार्यमा उनले बढी समय खर्च गरे । केसी आफू स्वयं निर्माण व्यवसायी भएको हुँदा विकास निर्माण कार्यमा अरुलाई सघाँउथे, हौसाउँथे ।

पोखराका समाजसेवी हेमबहादुर प्रधानका अनुसार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति गठन भयो तर कोष रित्तो थियो । बैठकमा सूर्यबहादुर केसीले भने– विन्दवासिनी क्षेत्रको विकासका लागि म पोखरा नगर पञ्चायतबाट ५० हजार दिन्छु । उनले यति बचन दिनासाथ समितिका पदाधिकारीहरु हौसिए र समितिले वर्तनमान रुप लिन सफल भयो । प्रधान सूर्यबहादुरजीको यो गुणलाई जीवनमा कहिले बिर्सन सक्दैनन् । केसी प्रधानपञ्च हुँदा राम्रो कार्य गरेकोले ०४३ सालमा भएको प्रधानपञ्चको चुनावमा पनि सहजै विजय हासिल गरे ।

तर ०४६ सालमा भएको राजनैतिक परिवर्तन पछि बहुदलिय व्यवस्थाको स्थापना भयो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भए । उनले केन्द्रीय सदस्य र केन्द्रीय कोषाध्यक्ष भएर सेवा पुर्याए । संविधान सभाको पहिलो निर्वाचनमा उनी समानुपातिक तर्फबाट विजयी भए । जुन उनको व्यक्तिगत लोकप्रियताका कारण संभव हुन सक्यो । उनी पोखरामा प्रधानपञ्च हुँदा पोखराको महेन्द्रपुलमा नयाँपुल, पोखरा सभागृह हल आदि विकास निर्माणका कार्य सम्पन्न हुन सक्यो ।

पछिल्लो समय उनले नेपालका प्रजातन्त्र प्राप्तिका लागि लडेको पुरानो पार्टी नेपाली कांग्रेसमा प्रवेश गरे । उनीे प्रतिनिधि सभाका सदस्य भए । उनले आफूलाई प्राप्त सम्पूर्ण तलब, सुविधा विकास निर्माण कार्यमा नै खर्च गर्ने गर्दथे । उनी पोखरामा दानवीरका रुपमा परिचित छन् । क्षेत्री समाजले आयोजना गरेको महायज्ञमा उनले एक करोड रकम दान दिए । दानवीर केसीले आफ्ना पिता किर्तिबहादुर केसीको स्मृतिमा करीव ३ करोडको लागतमा कालिका क्याम्पस काजिपोखरीमा क्याम्पस भवन बनाईदिए ।

उनले सराङकोटमा करोडौं रकम सहयोग गरेको सराङकोट धार्मिक विकास समितिका पदाधिकारीहरु बताउँछन् । जताततै विकास निर्माणमा सहयोग गर्ने हुँदा मान्छेहरु उनको हातबाट सभा समारोह, विकास निर्माण कार्य, शिलान्यास गर्न रुचाउँथे । सबैलाई सहयोग गर्ने हुँदा केसी सवैका प्रिय थिए । केसीको वानी व्यवहार पनि मिलनसार अनि बोली मिठो ।

कसैलाई नघोच्ने उनको वेग्लै स्वभाव । उनी धार्मिक स्वभावका थिए । हिन्दु राष्ट्र नै नेपालको पहिचान हो भन्ने उनको अटल मान्यता थियो । उनले धार्मिक यज्ञ, यज्ञादि अनुष्ठानलाई दिल खोलेर सहयोग गर्ने गर्दथे । ठूल्ठूला विकास निर्माण आयोजनामा प्राय मान्छेहरु सूर्यबहादुर केसी कै मुख ताक्थे । उनी विकासका पर्यावाची बन्न पुगेका थिए ।

पछिल्लो समयमा संभवत पोखराको परिवेशमा सबैभन्दा ठूलो धनराशीको किर्ति स्मृति पत्रकारिता वृत्ति कोषका लागि नेपाल पत्रकार महासंघ कास्कीलाई रु. २५ लाख प्रदान गरेका थिए । त्यस्तै उनले नेपाल प्रेस युनियनलाई पनि पत्रकारिताको विकासमा सहयोग गर्न त्यस्तै पुरस्कारका लागि अक्षयकोष राखिदिएका छन् । उनले सामाजिक सेवाका लागि सूर्य प्रेम प्रतिष्ठान स्थापना गरेर समाजसेवामा नौलो आयाम थपेका छन् ।

वरिष्ठ समाजसेवी केसी शिक्षाप्रेमी पनि हुन् । उनी पोखरा बहुमुखी क्याम्पसका संस्थापक पनि थिए । केसी कालिका बहुमुखी क्याम्पसका स्थापनाकाल देखिनै अध्यक्ष भएर सेवा पु्यार्ईरहेका थिए । यसका अतिरिक्त उनी जलविद्युत, उद्योग, वैंकमा आवद्ध हुन पुगे । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष पनि थिए ।

केसीले ०३४ सालतिर गण्डकी नुडल्स स्थापना गरेर चाउचाउ उत्पादन गरी घरघर पुर्याए । समाजसेवी केसी शाहसी र आत्मविश्वासले भरिएका व्यक्ति हुन् । उनमा तत्काल निर्णय गर्न सक्ने, चुनौतिपूर्ण कार्यलाई पनि सहज रुपमा लिएर कार्य सम्पन्न गर्ने बिशेष क्षमता थियो । उनले आफ्ना सन्तानहरुलाई पनि उद्योग, व्यवसाय र सेवा क्षेत्रमा लगाएका छन् ।

उनको स्पष्ट विचार थियो– मान्छेले उद्योग गर्नुपर्छ । मान्छे निरन्तर क्रियाशील हुनुपर्छ । पछिल्लो समय उनी अस्वस्थ थिए । उनका एक श्रीमती र तीन सुपुत्र छन् । संक्षेपमा सूर्यबहादुर केसीले समाजलाई सँधै दिने गरे । आफूसँग भएका ज्ञान, बल, शक्ति, धनलाई सँधै मानवताको सेवामा समर्पण गरेका छन् । उनी जति दिन बांचे सक्रिय जीवन बाँचे उनी कहिले निष्कृय भएनन् । यो उनको जीवनको सफलता र सार्थकता हो । तर जे होस् आज उनी हामीबाट अलग्गिए पनि उनको सेवा र सहयोग, समर्पण र त्यागका कारण उनी पोखरेलीहरुका हृदयमा दीर्घकालिन समय सम्म बांचिरहनेछन् ।