समाजसेवामा रमाउने गोविन्दबहादुर क्षेत्री अस्ताए

-


     रवीन्द्र माकाजू    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


समाजसेवा भनेपछि हुरुक्कै हुने गोविन्दबहादुर खत्री क्षेत्री आज हामी माँझ हुनुहुन्न । उहाँको भौतिक शरीर यस धर्तीमा नरहेता पनि उहाँका सेवाभाव, निश्वार्थ सेवा तथा मिलनसार व्यक्तित्वका कारण उहाँ सबैका स्मृतिका चीरकालसम्म बाँच्नुहुनेछ । उहाँ अरुलाई हरतरहले सेवा गर्न खोज्नुहुन्थ्यो । अरुलाई सेवा गर्न पाउँदा आफूलाई खुसी मिलेको अनुभूति गर्ने समाजसेवी लायन खत्री क्षेत्री सधैँ हाँसीराख्ने मिठो स्वभाव, कसैसँग नरिसाउने, मिठो बोली बचनले सबैलाई आफूतिर खिच्दथे । खत्री क्षेत्री कहिल्यै पैसाको पछि दौडेनन् । पैसालाई, सत्तालाई जीवनको लक्ष्य बनाएनन् ।

उहाँले स्वामी नित्यानन्द फाउण्डेसनको कार्यक्रममा विद्यार्थीहरुलाई मेरा पुस्तकहरुलाई पुरस्कारमा राखेर मलाई प्रोत्साहित गर्नुभयो । मलाई लाग्यो– मैले ठूलो पुरस्कार प्राप्त गर्न सफल भएँ । पुरस्कार भनेको केवल पैसा होईन, प्रोत्साहन हो । गोविन्द दाइ सँधै अरुलाई प्रोत्साहित गर्दथे । हौसला दिन्थे । मैले गोविन्द दाजुबाट धेरै सहयोग र मायाँ पाएको छु । उहाँलाई देख्दा मलाइ लाग्दथ्यो– उहाँ मेरो अभिभावक हुनुहुन्छ ।

समाजमा यस्ता समाजसेवी पनि हुन्छन्, जो कसैको नजरमा नपरेर हराएका समाजसेवीको उच्च सम्मान गर्न जान्दछन् । प्रसंग २०६३ सालको जन्माष्टमीको बेला हो । सायद त्यही बेलादेखि वहाँसंग मेरो परिचय हुन गयो । पोखरा लामाचौर खत्रीडहर निवासी गोविन्दबहादुर खत्री क्षेत्री र उनका जीवन संगिनी मनदेवी मेरो घरमा आई स्वामी नित्यानन्द फाउण्डेसनको तर्फबाट एक हजार दश रुपैयाँ सहयोग गर्न चाहन्छु भन्नुभयो । मेरो लागि त्यो सुखद क्षण थियो ।

पोखरामा जन्माष्टमी शोभायात्राका लागि रकम संकलन गर्न त्यति सजिलो थिएन । पहिलो १८ औं वर्षसम्म निकै कष्ट झेल्नु परेको अवस्थामा १९ औं वर्षमा पहिलोपल्ट घरमै आई स्वेच्छापूर्वक दान दिने व्यक्ति प्रति श्रद्धा हुनु स्वभाविक थियो । मैले उहाँहरुलाई सोधे– “स्वामी नित्यानन्द को हुनुहुन्छ ? फाउण्डेसनले कस्ता कस्ता कार्य गर्दछ ?

उहाँहरुले स्वामीजीका बारे संक्षिप्त परिचय दिनुभयो । स्व. पण्डित मक्तिनाथ शर्मा तिमिल्सिनाद्वारा लिखित पुस्तक पढें । पछि शुक्ला साहित्य समिति बाटुलेचौरद्वारा प्रकाशित सेतीको लहर स्मारिका दिनुभयो । जहाँ स्व. यमनाथ देवकोटाले स्वामीजीका बारेमा लेख लेख्नु भएको रहेछ । पढ्दै जाँदा थाहा पाएँ । विद्यालयको भौतिक विकासका लागि इन्द्रराज्यलक्ष्मी मा.वि.मा महायज्ञ लगाउँदा उहाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्थ्यो । त्यसबेला उहाँले स्व. पण्डित नारायणप्रसादलाई आफ्नै घरमा राखेर आतिथ्यता र सामिप्यता प्राप्त गर्नुभयो । त्यस्तै श्री सुरथेश्वर शिवालयमा महायज्ञ लगाउँदा पनि महायज्ञका संयोजक थिए । कथावाचक पं. दीनबन्धुलाई घरमा स्वागत सत्कार गर्ने अवसर पाए ।

ई सं १९४२ मा पिता सनातन रत्न सुब्बा तोरणहादुर र माता गणेशकुमारीको कोखबाट जन्मिएका गोविन्दबहादुर धेरै सामाजिक संघ, संस्थामा आवद्ध थिए । क्षेत्री समाज, विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति लगायत थुप्रै संघ संस्थामा सल्लाहकार भई सेवा पुर्याए । सिंगापुर, मलेसिया, बर्मा, थाइल्याण्ड, बंगलादेश आदि मुलुकको भ्रमण गरिसकेका खत्रीक्षेत्री लायन्स क्लबका महत्वपूर्ण पदमा रहिसकेका छन् । २९ वर्षसम्म नेपाल सरकारको प्राविधिक अधिकृत भै सेवा पुर्याएका खत्रीक्षेत्री समाज सेवालाई जीवनको लक्ष्य ठान्ने गर्दथे ।

स्वामी नित्यानन्दप्रति उहाँको झुकाव लाई हामीले महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्दछ । कास्की जिल्लाको पोखरा १६ बाटुलेचौरमा वि.सं. १९७१ श्रीपञ्चमीका दिन भाषा पाठशाला स्थापना गर्ने स्वामी नित्यानन्द पोखरामा प्रमुख शिक्षासेवी रहेछन् । ७ महिनाको अथक प्रयासपछि जनसहयोगद्वारा विद्यालय स्थापनाका लागि ६२ मुरी धान फल्ने ६ कित्ता खेत किन्नुभयो । भाषा पाठशाला स्थापना गर्न बाटुलेचौरका बहिदार हरिलाल तिमिल्सिना, बाबुराम रेग्मी, लामाचौरका लप्तान कोमलसिंह भण्डारी, डिठ्ठा सुरतबहादुर खत्रीक्षेत्री, अर्मलाका दुर्गाराम बस्नेत, घार्मीका भगिरथ पौडेल, शिवलाल पौडेल आदिको ठूलो सहयोग प्राप्त भएको थियो । स्वामी नित्यानन्दले विद्यालय सञ्चालन गर्न राजधानीबाट प्रशिद्ध ज्योतिष गुरू नरनाथ शर्मालाई पोखरा झिकाए । जनसहयोगबाट ढुंगाको छाना भएको पाठशाला भवन तयार भयो ।

सो भवनको विशेष समारोहको आयोजना गरी समुदघाटन समेत गरिएको स्थानीय बुढापाका अझै सम्झन्छन् । पाठशाला संचालन भएपछि मानिसहरुमा चेतना अभिवृद्धि हुन थाल्यो । ठाउँठाउँमा पाठशाला खोल्ने क्रम शुरू भयो । देवीलाल पूर्णतया आध्यात्मिक स्वभावका थिए । संसारिक माया, ममता र बन्धनमा उनको कुनै रूचि थिएन । छोरा देवनारायणको न्वारन गर्दाको साँझ देवीलालले आफना बाबुआमासँग भने- बुबाआमा ! मेरो सानै उमेरदेखि घर गृहस्थी गर्ने विचार थिएन । सानैमा विवाह गरिदिनुभयो । विष्णुदेवीलाई पनि कुनै सुख दिन सकिनँ । भगवानको कृपाले विष्णुदेवीलाई दिन काट्न अब सजिलो हुनेभयो । तसर्थ मलाई आफनो बाटो लाग्न दिनुस् ।

छोरोको कुरा सुनेर बाबुआमा रून थाले । इष्टमित्र, छिमेकीहरूले देवीलाललाई गृह त्याग नगर्न सल्लाह दिए । तर देवीलालको दृढसंकल्पको अगाडि कसैको केही लागेन । भगवान बुद्धले छोरा जन्मेको दिन दरबार त्यागे जस्तै देवीलालले छोराको न्वारानको दिन गृहत्याग गरे । परिवारजनमा रूवाबासी चल्यो विष्णुदेवी मूर्छित भइन् । उता देवीलाल ज्ञानको खोजीमा काशी (बनारस) लम्किए । उनले त्यहाँ तर्कशास्त्र र ज्योतिष विद्या सिके । उनी विभिन्न धर्मग्रन्थ र योगशास्त्रमा समेत निपूर्ण बने । वि.सं. १९६७ सालमा १०८ स्वामी परमानन्दबाट दीक्षा लिएर सन्यास ग्रहण गरी देवीलाल बाट स्वामी नित्यानन्द बन्न पुगे ।

साधनामा तल्लिन स्वामीजी मुक्तिको खोजमा लागि पर्न गुरू परमानन्दबाट. जन्म दिने आमा र जन्मस्थलोका लागि जबसम्म केही गर्न सकिँदैन तबसम्म मानिसको कर्तव्य पूरा भएको मानिदैन भन्ने शिक्षा पाए । यसैलाई गुरूआज्ञा मानी स्वदेश फर्किए । देशमा विद्यालय नहुँदा आफूले पढ्न नपाएको पीडा सम्झिए । त्यसबेला अशिक्षितहरूलाई शोषण गरिन्थ्यो । स्वामीजीले पोखरा आइसकेपछि सार्वजनिक विद्यालय स्थापना गर्ने संकल्प गर्नुभयो । त्यसबेला लामाचौर, बाटुलेचौरमा ९ मुखिया क्रियाशील थिए । समाजमा उनीहरूको ठूलो प्रभाव थियो । स्वामीजीले मुखियाहरूलाई पालैपालो शिक्षाको महत्व बुझाउँदा सबै विद्यालय खोल्न सहमत भए । कुलमण्डन शाहको भग्नावशेष दरबारमा बृहत भेला बोलाइयो । स्वामीजीले विद्यालय स्थापनाको प्रस्ताव राखे । सबैले समर्थन गरे, सहयोगको प्रतिवद्धता जनाएकाले भाषा पाठशाला वि.सं. १९७१ मा विधिवत स्थापना भयो ।

भाषा पाठशाला स्थानीय जनसहयोगबाट निरन्तर चलिरहयो । वि.सं. १९९६ सालमा सरकारबाट स्वीकृति प्राप्त गर्यो । पाठशालालाई नरनाथ शर्मा र गुरूदत्तले निकै सहयोग गरे । विद्यालय राम्ररी चल्दै थियो । गुठीको विषयलाई लिएर बाटुलेचौर र लामाचौर जनता बीच एकदशक जति बैचारिक मतभेद सृजना भयो । यसले विद्यालयको उन्नति र विकासमा अवरोध पु¥यायो । यता १९९८ सालमा २७ वर्षसम्म अध्यापन गराउँदै आएका गुरू नरनाथको देहावसानले विद्यालयलाई गहिरो धक्का पुयायो । नरनाथ गुरूको ठाउँमा घार्मीका रघुनन्दन गिरी नियुक्त भए । सरकारी शिक्षकका रूपमा पं. मुक्तिनाथ शर्मा र जीवनाथ पराजुलीले सेवा गरे ।

वि.सं. २००४ साल भाद्रमा बाटुलेचौरमा विन्ध्यवासिनी आधार स्कूलको स्थापना भयो । यस स्कुलले शैक्षिक क्षेत्रमा ठूलो हलचल ल्यायो । भाषा पाठशाला आफनै गतिमा चल्दै थियो । वि.सं. २०१० सालमा उमेर हदबन्दीका कारण जीवनाथ पराजुलीले अवकाश लिए । उनका ठाउँमा सरकारले कुनै शिक्षक खटाएनन् । यता सोही साल लामाचौरमा कन्या स्कुलको स्थापना गरिएको थियो तर विद्यालयको आर्थिक अवस्था साहै नाजुक थियो । सबैको सहमतिमा भाषा पाठशालाका प्रमुख शिक्षक र अरू शिक्षकलाई इन्द्रराज्यलक्ष्मी कन्या स्कुलमा सारियो । यसरी भाषा पाठशाला इन्द्र राज्यलक्ष्मी कन्या मा.वि.मा समाहित बन्न पुग्यो ।

पश्चिमाञ्चल क्षेत्रमा नै शिक्षाको ज्योति बाल्ने युगपुरूष स्वामी नित्यानन्दको नाम र कृतिलाई चिरस्थायी बनाउन गोविन्दबहादुर खत्रीक्षेत्री र मनदेवी केसीले पोखरामा स्वामी नित्यानन्द फाउण्डेशन स्थापना गर्नुभयो । शिक्षिका मनदेवी आफूले निवृत्त हुँदा पाउने रकमबाट ५० हजार कोषका लागि दान दिनुभयो । स्वामीजीको शिक्षाप्रतिको धारणालाई सम्मान गर्न नित्यानन्दको नाउँमा केही गर्न खोजिराख्नु भएकोले गोविन्दबहादुरले मनदेवीको उदार मनलाई समर्थन गरी आफ्नो तर्फबाट थपेर एक लाख दुई सय एकाउन्न रकमको उक्त कोष खडा गर्नुभयो ।

स्वामी नित्यानन्द उहाँहरूका परिवारका सदस्य हुनु हुन्थेन । मात्र थिए एक विशुद्ध शिक्षाप्रेमी एवं समाजसेवी । जसले केवल जनताहरूको भित्री आँखा खोल्ने प्रयास ग¥यो । सम्भवतः उहाँहरूले स्वामी नित्यानन्दको भौतिक शरीर देख्नुभएन तर उहाँका महान कार्य देख्नुभयो । पिता तोरणबहादुरे सधंै स्वामीजीलाई सम्झने र उनले गरेको महान कार्यको प्रशंसा गर्ने गरेकाले गोविन्दबहादुर केसीको स्वामीजीको नाममा केही न केही गर्न मन लाग्थ्यो तर अवसर मिलेको थिएन । २०६१ साल असोज २० गते मनदेवीले स्वामी नित्यानन्दको नाममा केही गर्न पाए हुन्थ्यो भन्ने विचार लिई दुवै इन्द्रराज्यलक्ष्मी मा.वि.मा स्वामी नित्यानन्दको नाममा कोष राख्न निवेदन दिए । विद्यालय परिवारले केसी दम्पत्तिकोे विशाल हृदयलाई चिनेर समर्थन जनायो ।

फाउण्डेसनले कास्की जिल्लामा शिक्षा, कला, साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रममा २०६५ सालमा वरिष्ठ शिक्षाप्रेमी खिमलाल आचार्यलाई सम्मानित गयो । आचार्यले अकलादेवी प्राविलाई दुई रोपनी जग्गा दान गर्नुभएको थियो भने इन्द्रराज्यलाई पनि ठूलो धनराशी । २०६७ सालमा उक्त सम्मानद्वारा शिक्षासेवी स्व. श्यामबहादुर केसी सम्मानित भएका छन् । हालसम्म यस पुरस्कार द्वारा थुप्रै शिक्षासेवी सम्मानित भएका छन् ।

फाउण्डेसनले नित्यानन्द पुस्तकालयलाई सयौं पुस्तक प्रदान गरेको छ । पोखरामा भइरहेको जन्माष्टमी शोभायात्रा कार्यक्रमलाई वर्षेनी सहयोग पुर्याएको फाउण्डेसनका संस्थापक गोविन्द ब. केसीलाई लायन्स क्लब, इन्द्रराज्यलक्ष्मी मावि, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, शान्तिघाट विकास समिति लगायतका संस्थाले कदरपत्र सम्मानपत्र प्रदान गरेको थियो ।

गोविन्द दाइको एउटा चाहाना थियो सनातन रत्न सुब्बा तोरणबहादुर केसीको स्मृतिमा एउटा राम्रो स्मारिका प्रकाशित गर्ने । उहाँले यो जिम्मेवारी मलाई सुम्पनुभएको थियो । तर विश्वभर महामारिको रुपमा फैलिएको कोरोनाका कारण समयमै यो स्मारिका सम्पन्न हुन सकेन । म यसका लागि उहाँसँग क्षमा माग्दछु । केही समयदेखि अस्वस्थ रहनुभएका गोविन्दबहादुर खत्री क्षेत्री वि.सं. २०७७ कार्तिक १९ गते श्रीमती मदनेवी र छोराछोरीलाई टुहुरो बनाई यस धर्तीबाट विदा लिनुभयो ।