विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

-


     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


गलकोट, २८ कात्तिक । बागलुङकाे गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या रहेकाे छ । अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउनु पर्दैन तर गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरुकाे लागि कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था रहेकाे हाे ।

पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीयले जानकारी गराएका छन्। कक्षा १० सम्म अध्ययनका लागि घर छाड्नु दुर्गमका विद्यार्थीको नियति नै बनेको छ । रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा विद्यार्थीलाई पाण्डवखानी जानुपर्ने समस्या रहेको गलकोट–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए ।अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षासम्म बास खोजेर अध्ययन गर्दै आएका छन् ।

विसं २०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षासम्म अध्यापन गराउन सके विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ । कक्षा १० देखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य शहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताए ।