कहाँ छैन तनाव ? युरोपमा झन् धेरै

-


     प्रकाश सापकोटा    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


केहिसाता अघि अष्ट्रियाको राजधानी भियनामा नेपाली समाजका लागि मुटु ढक्क फुलाउने घटना घट्यो। एक नेपाली महिलाले आफ्नै कोखका तीन सन्तानको ज्यान लिइन् र आफैँले प्रहरीलाई फोन गरेर घटना बताइन्। प्रहरीले अनुसन्धान गरिरहेको सो घटनामा पारिवारिक झमेला र आरोपित महिलामा व्याप्त तनावले त्यत्रो वियोगको घटना घटाएको प्रारम्भिक अनुमान गरेको छ। यो घटनाले अहिले पुरै युरोप स्तब्ध छ र संसारभरका नेपाली शोकाकुल छन्।

घटना यस्तै नभएपनि बिभिन्न समयमा तनाव र डिप्रेसनका कारण युरोपका विभिन्न ठाउँमा नेपालीहरूबाट दुखदायी व्यवहार भएका समाचार बेला बेलामा सुन्न परेको छ। युरोपका बिभिन्न देश र बिभिन्न सहरमा कैयौँ मानिसहरू तनावको स्थितिमा गुज्रिरहेका सुनिन्छन्। त्यसमा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको बताइन्छ। तनावका कारण डिप्रेसनमा पुगेर अवाञ्छित घटनामा बृद्धि भएको पाइन्छ। पहिल्यै देखि सुनिने डिप्रेसनका घटनाको संख्या कोरोना महामारीले झन् बढाएको छ।

युरोप कैयौँ नेपालीहरुका लागि सपनाको गन्तव्यमा पर्दछ। भएसम्म अमेरिका, अष्ट्रेलिया त्यो नभए युरोप त पुग्नैपर्छ भन्ने जिद्दीले नेपाली युवाहरुको ठूलो पंक्तिलाई जकडेको छ। छोराछोरी युरोप छन् भनेर गर्व गर्ने आमाबाबुको संख्या त्यतिकै छ।

 युरोप पसेको शुरुशुरुमा उमङ्ग र  कौतुहलताले रमाइलो महसुस भएपनि बिस्तारै यथार्थले चिमोट्न थाल्दछ। चिमोटाइ बिस्तारै दर्दानाक हुन थालेपछि तनाव र तनाव बढेपछि डिप्रेसनको बिमारले छोप्दछ। पहिल्यै बुझेर वा निश्चित समयसम्म जस्तो परेपनि डटेर सामना गर्ने अठोट लिएर छिरेकाहरु परिस्थिति सँगै रमाउन खोज्छन् तर ठुला सपना, महत्वाकांक्षा बोकेर आएकाहरुलाई भने कतै न कतै धक्का लाग्छ र मनस्थितिगत रुपले घाइते हुन्छन्।

युरोपमा त्यसमा पनि विशेषगरी उत्तरी युरोपमा मौसमले नै मानिसलाई चुनौती दिन्छ। बर्ष भरिमा घामबाट शरिरलाई प्राप्त हुनुपर्ने उर्जा र स्फूर्ति प्राकृतिक रूपले पुग्दैन। हिउँदमा घाम देख्नै मुस्किल पर्ने ठाउँमा एक त अँध्यारोले बिरक्त पार्दछ, अर्को शरिरमा आलस्यता बढाएर लोसे बनाउँछ। डाक्टरले सिफारिस गरेका भिटामिनका प्रकार सेवन गर्ने, ब्यायाम गर्ने, कृतिम घाममा जिउ सेकाउने जस्ता क्रियाकलापमा ध्यान पुगेन भने बिस्तारै मान्छे असामान्य रोगको फन्दामा पर्छ। 

विशेषगरी नेपालीहरू आफ्नो गाउँघर छरछिमेकमा अत्यन्तै सामाजिक घुलमिलमा बसेका हुन्छन्। युरोपको समाज त्यो तुलनामा एकलकाँटे हुन्छ। नेपाली नेपाली बीचको सामाजिक व्यबहार पनि परिस्थिति, बाध्यता वा कतिपयको त नियतले पनि वाञ्छनीय पाइँदैन। समाजको जालोमा जेलिएको मान्छे समाजबाट एक्लिएको महसुस गर्न थालेपछि ऊ तनावमा पर्दछ । त्यो लम्बिँदा डिप्रेसन हुन्छ।
नेपाली युवायुवतीको युरोप प्रवेशका पछाडि ठूला सपना र महत्वाकांक्षाहरू हुन्छन्। युरोपेली जिवनशैली, धनदौलतको प्रशस्त बन्दोबस्त, तडकभडक आदि कुराहरु दिमागमा भरिएका हुन्छन्। ती महत्वाकांक्षा युरोपले सजिलै गोजिमा भरिदिँदैन। अनि तनाव शुरु हुन्छ। अझ विद्यार्थीहरुको पढाइ र कमाइ सँगसँगै अघि बढाउने सपना धुजाधुजा भइदिन्छ। भाग्यवश कसैले अलिक सजिलो जिवन जिएको देखियो भने अप्ठ्यारोमा परेको ब्यक्ति उसको दाँजोमा पुग्न नसकेको तनावले ग्रस्त हुनपुग्छ, जुन दुर्भाग्य हो। 

कतिपय अवस्थामा सपरिवार युरोप बस्दै आएका नेपाली परिवारमा पारिवारिक विखण्डन पनि डिप्रेसनको कारक बन्न थालेको छ। दम्पतीमा युरोपको हावाले हानेपछि श्रीमान श्रीमती बीच रस्साकस्सी चल्दछ। रस्साकस्सीमा युरोपियन हावा मिसिएपछि लोग्नेस्वास्नीको झगडा पनि परालको आगो भै निभ्दैन। सके टुक्रिन्छ (टुक्रिए पनि तनाव सकिँदैन) नत्र तनावको भुमरीमा फस्छ।  केटाकेटी बढ्दै गएपछि युरोपियन साथीहरुको संगत र वैयक्तिक स्वतन्त्रताको दुरुपयोगले परिवारको महत्व भुल्न पुग्छन्। यसले परिवार र छोराछोरीमाथि ठूला सपना बुनेका नेपाली अभिभावकमा चोट पुर्याउँछ र तनावमा पार्दछ।


तनावबाट अस्वस्थ हुनेहरुको अर्को डरलाग्दो पक्ष भनेको त्यसलाई आफूभित्र लुकाउनु हो। इज्जत, प्रतिष्ठा, सामाजिक मर्यादा आदिको पर्वाह अरुलाई भन्दा नेपालीलाई धेरै भएको पाइन्छ युरोपमा। जस्तो कि, एउटा युरोपियनलाई केही कमजोरीवश रोजगारदाताले कामबाट निकालिदियो भने उसले निर्धक्कै भन्छ- आइ एम फायर्ड फ्रम दि जब (म कामबाट निकालिएँ)। त्यही परिस्थिति नेपालीमा आइपरेको खण्डमा उसले मिलाई मिलाई झुक्याउँछ- रोजगारदाताले त नछोड् भन्दै थियो मलाई काम चित्त बुझेन र छोडिदिएँ। कामबाट निकालिनुको ‘बेइज्जती’ नेपालीलाई ढाकछोप गर्नैपर्छ। यस्तै इज्जतका लागि आफ्नो खराब परिस्थितिलाई लुकाउँदा लुकाउँदै त्यो भित्रभित्रै सल्केर भयङ्कर भइरहेको हुन्छ। पछि त्यसको झिल्को समाजमा देखा पर्न गएमा त्यसले उक्त व्यक्तिको तनावको सिमा नाघ्ने र घटना घट्न सक्ने हुन्छ।

अरू रोगको उपचारमा डाक्टरको हात ठूलो भएपनि तनाव र डिप्रेसनको उपचारमा व्यक्ति र परिवारको भूमिका ज्यादा महत्वपूर्ण हुन्छ। जे छ त्यसमा सन्तुष्ट हुनु सबैभन्दा ठूलो उपचार हो। अप्ठ्यारो परिस्थिति आएमा त्यो अस्थायी हो, दुःख पछि सुख आउँछ भनेर सम्हाल्नु/सम्हालिनु पनि महत्वपूर्ण ओखती हो। आफूलाई र आफ्नो अवस्थालाई अरुसँग नदाँज्नु बरु आ-आफ्नो ठाउँमा सबैका जिन्दगीमा चुनौतीहरु छन् भनेर बुझ्नु तनावको अर्को दबाइ हो ।

संघर्ष जहाँ पनि छ। हामीले हाम्रो देश घुम्न आएका युरोपियनहरु देखेर उनीहरु युरो वा डलरमै लडिबुडी खेल्छन् भने झैँ गरी काटेका अड्कलहरू मिथ्या छन्। उनीहरू पनि संघर्षशील र कर्मशील छन् भन्ने हेक्का राख्दै युरोप गई कमाउन सके वा कमाएको केही बचाउन सके त्यो पैसा नेपाली रुपैयाँमा कन्भर्ट गर्दा अलिक ज्यादा हुने हो अर्थोक केही होइन भन्ने कुरा कदापी भुल्नुहुँदैन। युरोप आइसकेपछि कमाउन र रमाउन नसके पनि अगाडि बढ्ने बाटाहरू अनेक छन् भन्ने कुरा याद राखिरहनु पर्छ। र, तनावलाई जित्नुपर्छ। तनावले जित्यो भने बर्बाद हुने रहेछ भन्ने दृष्टान्तहरु पटक पटक देख्न थालिएको छ।

यति भनेपछि युरोपको लाइफस्टाइललाई पछ्याउँदै ठुला सपना देख्नेहरुले केही सोचबिचार पक्कै गर्नुहुनेछ भन्ने ठान्छु। युरोप पुगेकाहरु गजबको सुखसयलमा छन् र जिन्दगीलाई कायापलट गरेका छन् भनेर बुझ्ने र अर्थ्याउने काम नेपाल बसेर उनीहरूका अभिभावक छरछिमेकी र आफन्तले गर्नुहुने छैन भन्ने आशा गर्दछु। युरोप छिर्न कम्मर कसेर लागेकाहरुलाई कमसेकम युरोप पस्नु अगाडी केही मानसिक तयारी गरेर परिस्थितिसँग जुध्ने तत्परता आफूमा विकास गर्न सके पछिलाई काम लाग्छ भन्ने सन्देश दिन चाहन्छु। 

युरोप नआउनुहोस् भन्दिन। युरोपले सिकाउने धेरै कुराहरु छन्। त्यो सिक्न र व्यवहारमा लागू गर्न युरोप नेपालीहरुको राम्रो छनोट हो नै भन्छु। यहाँका बिभिन्न देशका प्रसिद्ध विश्वविद्यालयहरुमा विद्वत्ता हासिल गर्न उपयुक्त छ। तर ठूला महत्वाकांक्षा, भयङ्कर सपना नपाल्नुहोस् भन्न चाहिँ म छोड्दिन। किनभने त्यसले तपाईं र तपाईंका परिवारले बनाउन चाहेको भविष्यलाई काँचको कचौराजस्तै झर्याम्म पारिदिन सक्छ।
(कोपनहेगन, डेनमार्क)