बलियो आत्मबलले जितिन्छ कोरोना

-



     -नारायणी नेपाल    
     मंसिर १ गते २०७७ मा प्रकाशित



निरन्तर ज्वरो थियो । शरीर गलिरहेको थियो । थर्रथर्र काम्दै थियो ज्यान । मुख सुकेर प्याकप्याक भयो । लाग्थ्यो, मुखमा पानी नै छैन । उता, टाउको दुखाइ झनै कठिन बन्यो । मानौं कुनै ज्वालामुखीझैं दन्किरहेको छ । छाती दुखेर श्वासप्रश्वास नै कतिबेला बन्द होला झैं लाग्ने । जीवनमा एउटा अजीव किसिमको दुखाइ, पीडा र चिच्याहट एकैपटक भयो ।

विश्वभर महामारीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रभाव आशंकमा चार दिनसम्मको सो कठिनाइ बेहोरेपछि चेकजाँच गर्ने सल्लाह भयो । श्रीमानमा पनि कोरोनाकै सामान्य लक्षण थियो । दुवै जना दसैँ आउन केही दिनअघि बुटवलस्थित नेशनल प्याथोलोजीमा स्वाब दिएर भैरहवा फर्कियौं ।

स्वाब दिएर फर्केपछि मनमा झन् डर, त्रासले डेरा जमायो । अब के म साँच्चिकै कोरोना संक्रमित बने हुँला भन्ने लाग्यो । संक्रमित भए के गर्ने ? कसो गर्ने ? सोच्नै सकिनँ । आफ्नो व्यस्त दैनिकी सम्झें । समाचारमा कोभिड–१९ कै कारण नेपालमात्र नभई विश्वमै ठूलो संख्यामा मानिसलाई मृत्युको मुखमा पुर्‍याएको सुनिरहेकै थिएँ । शारीरिक समस्यालगायत मानसिक समस्याले पनि थप गाँज्न थाल्यो । शरीरको रोगप्रतिरोधात्मक क्षमता नै क्षीण बनेको अनुभूति भयो । हरेक रात छट्पटाइरहेँ ।

भोलिपल्ट बिहानै श्रीमानकाे मोवाइलमा घण्टी बज्यो । ल्याबका कर्मचारीले फोन गरेका रहेछन् । उहाँलाई सोधेँ, रिपोर्ट आयो र ? उहाँले सुरुवातमा ‘ठिकै छ’ भन्दै सान्त्वना दिनुभयो । केही राहत मिल्यो ।

तर पछि खुलाउनुभयो–‘हामी दुवै जना संक्रमित भयौं । रिपोर्ट पोजेटिभ आएछ ।’
…………………………..

‘पोजेटिभ’ शब्दले नेगेटिभ नियति डोर्‍यायो । केही सोच्नै सकिनँ । छाँगाबाट खसेझैं भयो । एकाएक श्वास फुलेर आयो । म यति आत्तिएकी अब बाँच्दिनँ होला भन्ने नकारात्मक भावना उत्पन्न हुन थाले । आँसुका भेल बगिरहे । सम्हाल्नै सकिनँ ।

‘पोजेटिभ’ शब्दले नेगेटिभ नियति डोर्‍यायो । केही सोच्नै सकिनँ । छाँगाबाट खसेझैं भयो । एकाएक श्वास फुलेर आयो । म यति आत्तिएकी अब बाँच्दिनँ होला भन्ने नकारात्मक भावना उत्पन्न हुन थाले । आँसुका भेल बगिरहे । सम्हाल्नै सकिनँ । एकाएक कान बन्द भयो । छातीमा कही आएर अठ्याएँ झैं भयो । श्वास लिनै गाह्रो बन्दै गयो । बेहोस भएछु । केही समयपछि आँखा खुल्दा थाहा पाएँ–मूढो झैं बेडमा ढलेको । तैपनि जिउनु नै थियो जीवन ।

श्रीमान् सान्तवना दिँदै भन्नुभयो, ‘नआत्तिनू म पनि संक्रमित हो नि । केही हुँदैन । सञ्चो हुन्छ।’

असोज महिनाको अन्त्यतिर हो । लायन्स क्लब अफ डाइनामिक टिचर्सको पहिलो कार्यक्रम थियो । म उपाध्यक्षको महत्वपूर्ण पदमा रहेको हुँदा उपस्थिति अनिवार्य थियो । भैरहवास्थित बालआश्रममा स्वास्थ्य सामग्री वितरण गरेर साँझ फर्कियौं । घर आएपछि मलाई एक्कासी कमजोरी महसुस भयो । त्यस रात खाना खाएर सुतें । बिहान उठ्दा पनि अलि असजिलोपन भयो । बिहान स्कुलबाट सरको फोन आयो । मिटिङ रहेछ । शिक्षिका भएको नाताले सकी नसकी मिटिङ ज्वाइनँ गरेँ । त्यस रात पनि मलाई सन्चो भएन । हनहनी ज्वरो आयो । नापेर हेर्दा, १०३ फरेनहाइट रहेछ । डर लाग्यो । सबैजना निद्रामा भएकोले कसैलाई उठाइनँ । बिहान ५ बजे उठ्दा शरीर कामिरहेकै थियो । श्रीमानलाई यसबारे जानकारी गराएँ । उहाँले सान्त्वना दिँदै केही हुँदैन ठिक हुन्छ नआत्तिनू भन्नुभयो । म योगमा बसेँ । एक्कासी रिंगटा लाग्यो । योग गर्न सकिनँ र केही क्षण सुतेँ । कोरोना आशंकामा अघिल्लो सातादेखि नै कोठालाई क्वान्टिनको रुपमा उपयोग गरेकै थिएँ ।

अब साँच्चिकै कोरोना संक्रमित बनेको थाहा पाएपछि समय बदलियो । दैनिकी फेरियो । क्वारेन्टिनबाट आइसोलेसन सरेँ । बसाइँक्रममा परिवारका सदस्यले अलग्गै खाना दिन थाल्नुभयो । झनै सामाजिक दूरी कायम गर्नुपर्ने । सचेत नभए अरु सदस्यलाई पनि संक्रमणको डर । खानामा जिब्रोले स्वाद केही थाहा नपाउने समस्या केही दिनदेखि बल्झिएको थियो । के खाइरहेको छु भन्ने हेक्का नहुने ।

संक्रमण पुष्टि भएको तेस्रो दिन कात्तिक ६ गतेको कुरा हो । मलाई एकदमै ज्वरो आयो । आफैले नापेर हेरें–तापक्रम १०३ रहेछ । शरीर निकै गलेपछि मलाई लाग्यो, अब बाँच्दिनँ होला । अनि सुतिरहेकै अवस्थामा सकी नसकी सेल्फी लिएँ । सेल्फी, फेसबुक र टिकटकमा खुबै रमाउने मलाई त्यसबेला त्यहीँ फोटो लिन पनि महाभारत भयो । फेसबुकमा पोस्ट गरेँं । जीवनकै अन्तिम फोटो हो झैं लाग्यो । जीवनको इहलिला यत्तिकै सकिएछ भने पनि कम्तीमा अरुले थाहा पाउन् भन्ने थियो ।

कोरोना संक्रमणले जीवनमृत्युसँग लडिरहेको बेला पोस्ट गरिएको तस्वीर ।

फोटो के पोस्ट भयो, लगातार मोवाइल बज्न थाल्यो । सबै जनाले थाहा पाउनुभएछ, संक्रमित भएर जीवन–मृत्युको दोसाँधमा पुगेको हृदयविदारक त्यो घटना ।

निरन्तर आउने फोन र म्यासेजमध्ये केही रिप्लाई गर्ने कोसिस गरे, अधिकांश सकिनँ । पछिल्ला दिनहरुमा आफन्त, साथीहरु, म्यामहरु, दिदीबहिनीहरु मलाई भेट्न घरमै आउनुभयो । अग्रज गुरुहरुले दिनको एक पटक भिडियो कल गरेर सम्झाउन थाले । योगसाधना गर्ने सहकर्मीहरुले भिडियो कलमै रमाइला रमाइला कहानी सुनाएर दुःख बिर्साउनतर्फ लाग्नुभयो । श्रीमान् आफै पोजेटिभ देखिए पनि उल्टै मलाई सेवा गरिरहनुभयो । मलाई जस्तै गाह्रो उहाँलाई भएको थिएन ।

यसरी बिस्तारै मनमा नकारात्मक भावना आउन नदिई सकारात्मकतर्फ डोर्‍याउन थालेँं । त्यसखालका क्रियाकलापमा सक्रिय बनाउँदै लगेँ । केही सम्हालिएँ पनि । आफै स्वास्थ्यकर्मी भएको नाताले आत्मविश्वास बलियो बनाउनुपर्छ भन्ने लाग्यो । बिरामीको घाउचोटको दुखाइ कम गर्न कैयौं पटक मल्हम लगाएरै रात गुजारेको विगत सम्झें ।

यता, आइसोलेसनमा बसेको हुँदा परिवारकै सदस्यबाट सातादश दिनदेखि टाढा थिएँ । छोराछोरीलाई पल्लो कोठामा भिडियो कल कलेर खुसी बनाउन थालेँ । ५ वर्षकी सानी छोरीलाई यसरी यतिका लामो समयसम्म कहिल्यै छोडेकी थिइनँ । उनलाई भिडियो कलमै दोहोरी गाउँदै निदाउन हाल्थेँ । रोमान्टिक गीत सुन्नतर्फ लागेँ । राम्रा पुस्तक पढ्न र फिल्ममा आँखा दौडाएँ ।

यता खानपीनको रुटिन पनि बदल्दै गएँ । मिठो नभए पनि केही न केही खानुपर्छ भन्ने भावना विकास गराउँदै लगेँ । विशेषगरी तरल पदार्थ, ज्वानोपानी, महपानी, सूप, दूधबेसार, सागसब्जी, प्रशस्त तातोपानी, गेडागुडीको रस बढी सेवन गर्न थालेँ । मौसमको जुस, स्याउ, सुन्तला बढी मात्रामा लिएँ । तुलसीको पत्ता हालेर दुई आधा दर्जन पटक वाफ लिएँ । त्यसले मलाई केही आरामको अनुभूति भयो । अब निको हुन्छ कि झैं विश्वास पलाएर आयो ।

यत्तिकैमा घुमिफिरी महान चाड दसैँ भित्रियो । सबैको घरमा वर्षदिनमा आउने चाडपर्वको उमंग छाइरहेको थियो । हामीहरु भने आइसोलेसनमा खुम्चियौं । दम्पती नै कोरोना संक्रमितले आइसोलेसनमा बसेपछि छोराछोरी पनि रमाउन सकेनन् । चित्त बुझायौं कि हामीजस्तै अरु बिरामी पनि छन् । कतिले त उपचारकै क्रममा ज्यान गुमाएका छन् । घरघरमा शोक परेको होला । दुःखमा होलान् । हामीहरुलाई त बिस्तारै निको हुने दिशातर्फ उन्मुख भएकोले आत्मबल बलियो पार्‍यौं।

यत्तिकैमा अवोध कान्छी छोरीले ढोकाबाट चिहाएर मलिन स्वरमा बोलिन्–‘सबैको घरमा दसैंँ आयो पापामम्मी । हाम्रो घरमा त आएन । हजुरहरुलाई कोरोना लाग्यो है !’

यो सुनेर मेरा आँखाबाट अनायासै आँसु बग्यो । परेलीको डिलबाट केही समयपछि भेल बहन थामियो । पछ्यौरीले पुछेँ । छोरीलाई गम्लङ्ग अँगालुजस्तो लाग्थ्यो । तर अहँ पापी कोरोनाले छेकिरह्यो । तैपनि दसैँको दिन छोराछोरीलाई निराश बनाउनु हुन्न भन्ने सोचेर सकी नसकी नुहाएँ । सुकिला लुगा लगाएर बाहिर बसेंँ । मम्मी ठिक हुनुभयो भन्दै सानै छोरी प्रफुल्ल बनिन् । मेरो मन पनि चङ्गा बन्यो । आखिर छोराछोरीको खुसी नै बाबुआमाको खुसी रहेछ।

कात्तिक १० गते बिहान दसैँको टीकासाइत थियो । बुवाले नानीबाबु (२ नातिनी र १ नाति) लाई टीका लगाइदिनुभयो । हामी दम्पतीले लगाउनु मिलेन । जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समाहित गर्नुपर्दो रहेछ । बुवाले पातमा टीकाजमरा हामीतिर नछोइकन अलग्गै दिनुभयो । आ–आफै निधार रातो बनायौं । छुट्टै अनुभूति भयो । खल्लो भए पनि दसैँ मनायौं ।

दसैँ पर्वपछिका दिनहरु केही सहज बन्दै गए । बिस्तारै निको हुने अवस्थामा फर्किएँ । यत्तिकैमा दोस्रो पीसीआर भयो । मेरो रिपोर्ट कात्तिक २३ मा आयो । यसपालि ‘नेगेटिभ’ रिजल्टले ‘पोजेटिभ’ बनायो । अर्थात् मैले कोरोनासँगको लडाइँ जितेँ । श्रीमान्को स्वास्थ्य अवस्था सामान्य छ । उहाँको दोस्रो रिपोर्ट पोजेटिभ आयो । अर्को पीसीआर बाँकी छ । पक्कै उहाँले पनि कोरोनालाई परास्त गर्नुहुनेछ।

म बिरामी बनेको बेला स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सदीक्षा राख्नुहुने, सम्झना गर्नुहुने सम्पूर्णप्रति आभारी छु । तपाईहरुको गुन कहिले भुल्ने छैन । तपाईहरूले मेरो मनोबल उच्च नपारिदिएको भए, अझै कोरोना जित्दिनथेँ भन्ने लाग्छ । मानवशरीरलाई कोरोनामात्र नभई अन्य भाइरसले पनि कमजोर बनाउँछ।

यसबीचमा अनावश्यक चिन्ता लियो र मानसिकरुपमा बिचलित भइयो भने झनै टाउको दुख्ने, श्वास लिन गाह्रो हुने, मुटुको चाल बढी हुने, पाचनप्रणालीमा असर पार्दो रहेछ । स्वास्थ्य सचेतना अपनाउँदा अपनाउँदै पनि यदि कोभिड–१९ संक्रमित भइयो आत्तिनु हुँदैन । आत्मविश्वास बलियो बनाउनुपर्दछ । सकारात्मक विषयवस्तुमा आफूलाई केन्द्रित गर्नुपर्छ । अनावश्यक डरत्रास नपालौं । परिवारका सदस्यबाट टाढै बसौं । आइसोलेसनको बसाइँलाई अनुशासित तुल्याऔं । कोरोना संक्रमितले प्रयोग गर्ने बाथरुम, ट्वाइलेट, साबुन, सेम्फू, रुमाल सकेसम्म अलग्गै बनाऔं । भौतिक दूरी कायम गरौं, मास्क र सेनिटाइजर प्रयोग गरौं । सन्तुलित खाना र प्रशस्त पानी पिउने गरौं । खाना खाँदा प्रयोग गरेका भाँडाकुँडा आफै माझौं । सरसफाइमा विशेष ध्यान दिऔं । योग, साधना र ध्यानको रुटिन बनाऔं । आफूलाई आतंकित पार्ने समाचारबाट टाढै राखौं । गीतसंगीत सुन्न, गीतकविता लेख्ने, टिकटक बनाउने लगायत विभिन्न रमाइला र रचनात्मक क्रियाकलापमा आफूलाई व्यस्त राखेर मन चङ्गा बनाउन सकिन्छ । ताकि शारीरिकको अलावा थप मानसिक समस्या बेहोर्नु नपरोस् । (लेखक शिक्षिका एवं नर्स हुन्)