मिथिलामा माटाका मूर्ति बनाउने कार्य शुभारम्भ

-


     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


जनकपुर, ४ मङ्सिर । दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो ।

प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यो पर्व मिथिलानी र थारु समुदायका महिलाले मनाउने गर्छन् । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायम छ भने तराईका शहरी क्षेत्रमा क्रमिकरूपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ ।

काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ । भगवान् कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान् कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकालाई स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।

सामा वृन्दावनमा घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा नोकरानी डिहुलीले कृष्णसमक्ष लगाइन् । डिहुलीको कुरा सुनेर भगवान् कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिनुभयो । सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गर्नुभयो ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने सामाले वरदान दिएकाले द्वापर कालदेखिनै यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ । यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएपछि सो दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा बनाउँछन् । यसलाई ‘सतभैया’ भनिन्छ । त्यसपछि क्रमिकरूपमा खररुची भैया, बाटो बहिनो, दुई मुख भएका चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ ।