
पोखराका प्रतिष्ठित व्यवसायी तथा शिक्षासेवी अशोक पालिखे पोखरेलीका लागि सुपरिचित नाम हो । उनी पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन सहरको रुपमा विकास गर्नुपर्ने अवधारणाका प्रवर्तक समेत हुन् । पोखराकै सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको दुई कार्यकालसम्म नेतृत्व हाँकेका उनले जहाँ पाइला टेके, त्यहीँ सफल र नमुना बनेका छन । उनको नेतृत्व क्षमताको सबैले प्रशंसा गरिरहेका हुन्छन । पोखरा विश्वविद्यालय स्थापनामा उनको अतुलनीय योगदान छ । पोखरा पर्यटन परिषद्को स्थापना पनि उनकै पहलमा भएको हो । नेपालकै पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी), कुमुदिनी होम्स मावि, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, फिस्टेल नर्सिङ क्याम्पससँग पनि उनको नेतृत्वकर्ताका रुपमा संलग्नता छ । निजी अस्पतालको छाता संगठन अफिन गण्डकीका अध्यक्ष उनी नेवाः खल कास्कीका पनि अध्यक्ष हुन् ।
जिल्लाका पुराना काँग्रेसका नेता समेत रहेका पालिखे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी २०२८ सालमै पृथ्वीनारायण क्याम्पसमा नेविसंघतर्फबाट स्ववियू सदस्यमा विजयी बनेका थिए । उनीबाहेक हालसम्म नेविसंघबाट पीएनमा कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । नेपाली काँग्रेस कास्कीका पूर्व कोषाध्यक्ष उनी तत्कालीन पोखरा उपमहानगरमा मेयरका दाबेदार थिए । उनी काँग्रेसको कोषाध्यक्ष हुँदा नै पार्टीको जिल्लामा आफ्नो भवन निर्माण गरिएको थियो । त्यस्तै पोखरा उपत्यका नगर विकास समितिमा पनि पूरै दुई कार्यकालको सफल नेतृत्व पुरा गरेका थिए ।
उमेरले ७० वर्षका पालिखेमा उत्तिकै जोश, जाँगर र कामप्रतिको लगनशीलता छ । विगतमा २८-३० हजारमा व्यापार व्यवसाय थालेका पालिखेले व्यापार संगैं शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा ठुलो लगानी गर्दै हजारौंलाई रोजगारी पनि दिएका छन । यीनै अनेक आयामका बिम्ब सफल ब्यक्तित्व अशोक पालिखेको सफलताको कथा यस्तो छ:-
परिवारमै पहिलोपल्ट व्यापारकाे सुरुवात :
२००७ फागुन २७ गते बाबु जनकमान र आमा कृष्णकुमारी दम्पतीका चार सन्तानमध्ये दोस्रो संन्तानका रुपमा उनको जन्म भएको थियो । उनका एक दिदी, एक बहिनी र एक भाइ छन् । भाइ कल्याण यहाँको चर्चित कुमुदिनी होम्स मावि र मुनाल अफ्सेट प्रेसका संचालक छन् । बाबुआमा दुवै स्वर्गवास भए । बाबुको ६८ वर्ष उमेरमा ४२ वर्षअघि र सय वर्षको उमेरमा ४ वर्षअघि आमाको स्वर्गवास भएको हो । दुई भाइ संयुक्त परिवारमा बस्छन् । विवाहदान भइ दिदी जमुना कार्की (पाटन) र बहिनी रामदेवी मास्के (नारायणगढ) बस्छन् ।
पोखरामा पालिखेको आगमन भक्तपुरको बोलाक्षेबाट भएको हो । त्यहाँबाट आफ्नो बाजेलाई लेखेको चिठ्ठी अझै पनि सुरक्षित राखेको उनी बताउँछन् । खेती गर्नेले ‘तिम्रो खेतबाट धान यति मुरी आएको छ’ भन्ने चिठ्ठी व्यहोरा रहेछ । तर उनले आफ्नो जग्गा जमिन त्यहाँ खोज्न नगएको बताए । लक्ष्मीसिंह पालिखेदेखि १३ पुस्तासम्म पालिखेको पोखरामा बसोबास रहेको पाइन्छ । पोखरामै ६७ घर पालिखे परिवारको छ । उनी चार पुस्ताअघिका अजावसिंहका सन्तान हुन् । त्यसतर्फ १८ घरपरिवार छन् । पालिखेचोक, गणेशटोल र नागढुंगामा छरिएका छन् । महेन्द्रपुल नजिकको चोकलाई पालिखेचोककै नामले चिनिन्छ ।
नेवारी समुदायमा अधिकांश व्यापार व्यवसायमा लाग्छन् । तर उनका बुवाको भने पृष्ठभूमि कृषक हो । अजावसिंहका चार छोरामध्ये नरनारायण (अशोकका बाजे) लाई खेत दिँदा सबैभन्दा राम्रो दिएका रहेछन् । करिब ११ रोपनी जग्गा थियो । त्यसबाट उब्जनीले उनीहरुलाई मनग्य खान पुग्थ्यो । त्यसैले व्यापार व्यवसायतिर हात हालेनन् । तर परिवारमा अशोक आफैले व्यापारमा हात हाले । त्यो पनि आईए (प्रवीणता प्रमाणपत्र तह) पढ्दै गर्दा । २०२८ सालदेखि नै पालिखेचोकमा ‘दी स्टेशनरी स्टोर्स ’ चलाउन थाले । समयक्रम सँगै विभिन्न व्यापार व्यवसायमा लगानी गर्दै अघि बढे । जुन क्षेत्रमा लगानी गरे त्यहीँ सफल भए । यसरी २०७७ सालसम्म आइपुग्दा सफल व्यवसायी, उद्योगी, शिक्षासेवी, राजनीतिकर्मी, खेलकुदकर्मी, समाजसेवीको रुपमा पालिखे परिचित छन् ।
एउटै स्कुल, एउटै कलेज
उनका बाबु जनकमान साक्षर थिए । आफै लेखपढ गर्थे । अशोक उमेरले ७ वर्षको हुदां २०१४ सालमा विद्यालय भर्ना भए । हाल पोखरा नदीपुरको कन्या क्याम्पस रहेको ठाउँमा एउटा छाप्रोमा स्कुल थियो । स्कुलको नाम थियो–नेशनल हाईस्कुल । उनले विद्यालय तहको पढाइ त्यहीँ पूरा गरे । २०२४ सालमा दोस्रो श्रेणीमा एसएलसी सकाए । उनले पढ्दा पढ्दै त्यो स्कुल नेशनल मल्टिपर्पोज हाईस्कुलको रुपमा परिणत भयो । नेपालको एक मोडल स्कुलको रुपमा परिचित सो स्कुलमा विविध विषयमा पढाइ हुन थाल्यो ।विद्यालय तहको पढाइ सकाएपछि उच्च शिक्षाको लागि २०२५ सालमा पृथ्वीनारायण क्याम्पस भर्ना भए । लगातार ५ वर्षको अध्ययनपछि २०३० सालमा मानविकी तथा सामाजिक शास्त्र संकाय (भूगोल र अर्थशास्त्र) मा स्नातक उत्तीर्ण भए । स्नातकोत्तर तह गर्ने इच्छा थियो । मास्टर्स इन जोग्राफीमा भर्ना पनि भए । त्यसबेला प्राडा वीरेन्द्रसिंह गुरुङले उनलाई सल्लाह दिए, ‘अब तिमीले किन पढ्नुपर्यो ? ब्याचलर पूरा गरेपछि भैगो नि ! बिजनेस चलाएकै छौं, बिजनेस म्यान हौं ।’
विभिन्न स्कुल चाहार्नुपरेन । एउटै स्कुल र एउटै कलेजबाट शैक्षिक योग्यता हासिल गरी क्याम्पस तहको पढाइ बिट मारे । र, सम्पूर्ण ध्यान व्यापार व्यवसायमा लगाए ।

पोखरा उद्योग वाणिज्य संघमा तीन दशक
पोखरा उद्योग वाणिज्य संघमा २०३३ सालदेखि नै उनी आबद्ध बने । सदस्यबाट प्रवेश गरेका पालिखे २०५६ सालसम्म विभिन्न पदमा रहेर निरन्तर सक्रिय भए । उनी दुई कार्यकाल अध्यक्ष हुँदा तीन कार्यकाल महासचिव बने । सुरुवातमा सदस्य रही क्रमशः कोषाध्यक्ष, महासचिव, उपाध्यक्षहुँदै २०५२ सालमा अध्यक्ष चुनिएका थिए । उद्योगी व्यवसायहरुको छाता संस्था भएकोले उनले यहाँ रहेर धेरै विषय जान्नेसुन्ने मौका पाए । संघका सदस्यको हितमा विविध कार्यक्रम ल्याए । साथसाथै पोखराको विकासमा चालिएका विभिन्न अभियानमा सक्रिय बने । त्यसबेलाका मन्त्रीले पोखरामा ल्याउन लागेको विक्रम टेम्पोले उनले चलाउन रोके । यातायात कार्यालय घेराउ गर्न गए । जसबाट सो टेम्पोले काठमाडौंमा निम्त्याएको वायु प्रदूषणजस्तो पोखरामा हुन पाएन । नेपालको कुनै पनि उद्योग वाणिज्य संघले वैदेशिक उद्योग वाणिज्य संघसँग सहकार्य पोखराबाटै भयो ।
उनकै पहलमा संघबाट जर्मनीको एचडब्लुके माइञ्जसँग पार्टनरसीप सुरुवात भएको थियो । त्यसले दक्षता वृद्धि तथा आर्थिक एवं भौतिक सहयोग सम्भव भयोे । पोखरामा खानेपानी योजनाका लागि मर्दी–विन्ध्यवासिनी (११ किमी) सम्म २० इञ्चको पाइप बिछ्याउन उनले धेरै पहल गरे । सम्भव पनि भयो । पछि जाइकाले ६५ किमी पाइप सुदृढीकरण गर्न ओभरहेड ट्यांक बनाउने योजना खानेपानी संस्थानको भोगाधिकारको जग्गा नभएकोले प्रोजेक्ट फिर्ता लगिसकेको थियो । त्यत्ति नै बेला तत्कालीन नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीसमक्ष सो कुरा पु¥याएपछि एकै दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लगेर पास गरेकोले पोखराका ३ ठाउँका जग्गामा संस्थानले ट्यांकी बनाउन भोगाधिकार पायो । जसबाट हाल खानेपानीको पाइप बिछ्याउने कार्य जारी छ ।
पोखरा उपत्यका नगर विकासकाे नेतृत्व
राजनीतिक नियुक्ति हुने पोखरा उपत्यका नगर विकास समितिमा पालिखेको प्रवेश अघि अहिलेजस्तो हानाथाप हुन्थेन । जब उनले दुई कार्यकाल पूरा गरेर निस्के त्यसपछि यहाँ प्रवेशको आकर्षण बढेको हो । झनै यसको महत्व बढ्दै गयो । आफू प्रवेश गर्दा ३० लाखमात्र रहेको कोष वृद्धि गरी छोड्दासम्म ८० लाख पु¥याए । आम्दानीको स्रोत बढाउन नक्सा सिफारिस सुरु गरे । त्यसबेला पोखरामा मेयर कृष्ण थापा थिए । समितिले नक्सा सिफारिस गर्ने र नगरपालिकाले स्वीकृति गर्न थाल्यो । त्यस्तै, मुस्ताङचोकमा नगर विकासको जग्गामा ७ सटर बनाएर त्यसको बहालबाट कोष वृद्धि सम्भव गराए फेवातालको संरक्षणको लागि जलकुम्भी झार निकाल्ने अभियान चलाए । सोको पहिलो सुरुवात उनकै पहलमा भएको हो ।
राजनीतिक नियुक्ति भएकाले मन्त्रिमण्डल परिवर्तन हुनासाथ कोही ३ महिना, कोही ६ महिना, कोही १ वर्ष अगावै हटिसक्थे । तर पालिखे यस्तो भाग्यमानी मानिस हुन्, उनले २ कार्यकाल (२०५४–०५८) पूरापूर सक्रिय रहे । र, दिगो विकासका कार्यक्रममा ध्यान दिन सके । बाराहीघाट, सशस्त्र प्रहरीको पछाडि गाईघाट, बसुन्धरा पार्कमा तालको माटो निकालेर करिब १६ रोपनी क्षेत्रफल ताल फराकिलो पारे । पहिले बाराहीघाटसम्मै डुंगा आउँदैनथ्यो, माटो निकालेर ताल फराकिलो पार्न मद्दत गरे । बाराहीघाटदेखि होटल फेवासम्म पनि माटो निकाल्ने काम गरे ।
विगतमा नगर विकासको जग्गा कहाँ कति थियो भन्ने कतै रेकर्ड नै थिएन । उनले लगत कित्ता खडा गरेर संरक्षण गर्ने काम गरे । तैपनि आफ्नो कार्यकालपछि आउने व्यक्तिहरुले गैरकानुनीरुपमा विभिन्न संघसंस्थालाई जग्गा बाँडेर पपुलारिटी कमाउन खोजेको देख्दा उनलाई नमज्जा लाग्छ ।
पर्यटकीय नगरी पोखरामा अहिलेसम्म पनि व्यवस्थित बसपार्क छैन । यो दिनानुदिन पेचिलो बन्दै गएको छ । पोखरा उपत्यका नगरमा पालिखे नेतृत्वमा रहँदा उनले पोखरा बसपार्कको लागि छुट्याइएको जग्गामा एक व्यक्तिले सर्वोच्चमा मुद्दा दायर गरेका रहेछन् । समाधानका लागि ती व्यक्तिलाई ४ रोपनी जग्गा बराबर १५ बाई ९ मिटरको घडेरी दिइयो । र, उनी सर्वोच्चबाट मुद्दा झिक्न राजी भए । विगतमा ७८ घरधुरीको मुआब्जा समस्या थियो, अहिले बढेर चार पाँच सय पुगिसकेका छन् ।
त्यसकारण पनि बसपार्क निर्माण दिनानुदिन पेचिँलो बन्दै गएको उनको ठहर छ । उनी भन्छन्, ‘बसपार्क बन्न नसक्नुमा राजनीतिक दलका प्रतिनिधि नै दोषी हुन् ।’ पहिले संघीय सरकार अर्काको हुँदा, उपत्यका नगर र पोखरा नगरमा अर्को दलको प्रतिनिधित्व हुन्थ्यो । तिनै तहमा नेकपाको सरकार रहेकोले ‘एक्सन’ लिने हो भने सजिलो हुने उनको सुझाव छ । भन्छन्, ‘तिनै तहमा नेकपाको दुइतिहाई बहुमत भएकोले बसपार्क बनाउने नै हो भने ‘गोल्डेन अपरच्यूनिटी’ छ । तर दृढ इच्छाशक्ति चाहिन्छ ।’
पोखरा विश्वविद्यालयबाट सन्तुष्टि
विश्वविद्यालय स्थापना कुनै पनि सहरको समग्र विकास हो भन्नेबारे उनी पहिले नै जानकार थिए । सोही सुझबुझले उनी पोखरामा विश्वविद्यालय खोल्ने अभियानमा केन्द्रित रहे । त्यसबेला उनी उद्योग वाणिज्य संघ पोखरामा थिए । आरोप पनि लाग्थ्यो, व्यापारीले पनि विश्वविद्यालय खोल्न लागे भनेर । पीएनका प्राध्यापकले सोको विरुद्ध लेख पनि लेखे । तैपनि पालिखे लगायत अग्रपंक्तिमा रहेकाहरु आफ्नो अभियानबाट पछि हटेनन् । पोखरा उद्योग वाणिज्य संघबाट धेरै पटक तत्कालीन राजा वीरेन्द्रसँग दर्शनभेट गर्न जाँदा विश्वविद्यालयलाई प्रमुखतामा राखेर माग गरे । त्यसबेला दोस्रो विश्वविद्यालय र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उठिरहने विषय बन्यो । र, लगातारको प्रयासपछि सरकारले २०५४ सालमा विश्वविद्यालय स्थापनाको घोषणा गर्यो । सो विश्वविद्यालय स्थापनाले पालिखेलाई अहिलेसम्मकै बढी सन्तुष्टि मिलेको बताउँछन् ।
अचेल राजनीतिक खिचातानीले खिन्न पारे पनि त्यसबेला पोखराको समग्र विकासका लागि विश्वविद्यालयको अवधारणासहित अघि बढी लगातार १३ वर्षको लडाइँले विश्वविद्यालय स्थापना भएको उनी सम्झिन्छिन् । उनी २ वर्षसम्म विश्वविद्यालयको सिनेटर पनि भए । २७४० रोपनी जग्गा तत्कालीन शिशुवा आदर्श गाविसमा त्यही बेला रोकिएको हो । हाल विश्वविद्यालयले १३४० रोपनीमात्र आफ््नो लालपूर्जामा पार्न सफल छ । त्यसबेला विश्वविद्यालयका पदाधिकारी र तत्कालीन मेयरको समझदारी अभावमा बाँकी जग्गा लालपूर्जामा पार्न नसकिएको उनको भनाइ छ । जसले पहिले व्यापारीले विश्वविद्यालय खोल्न लाग्यो भन्थे, उनीहरु नै अहिले तलब खाने स्टाफ भएका छन् । प्राज्ञीक मानिसहरु पढाउन छोडेर राजनीतिको पछि लाग्नु गलत हुने उनको भनाइ छ ।
पालिखेकै अनुसार २०३२÷३२ सालमै पोखरामा तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर क्षेत्री हुँदा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा, चिप्लेढुंगा–न्यूरोड, पृथ्वीचोक–लेकसाइड त्यसबेलाको योजनाअन्तर्गत निर्माण भएका हुन् । तीमध्ये कतिपय योजना राम्रो भए, कति हुन सकेनन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउनुपर्छ भनी पटक–पटकका आन्दोलनमा अग्रमोर्चामा रहे । राष्ट्रिय गौरवको सो आयोजना निर्माणाधीन छ ।

होटल म्यानेजमेन्ट कलेजको अवधारणा
उनीसहित पोखराका १ सय १५ जना उद्योगी, व्यवसायी, राजनीतिकर्मीहरुको लगानीमा नेपालमै पहिलोपल्ट सन् १९९९ मा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) स्थापना भयो । पालिखे सो कलेजको संस्थापक अध्यक्ष छन् । यो कलेज मोडल कलेजको रुपमा चिनिन्छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा दक्ष जनशक्ति पाउन मुस्किल परिरहेको बेला सोको अध्ययन गर्न ठूलो रकम खर्चेर विदेश जानुपर्ने बाध्यता अहिले हटेको छ । उत्तीर्ण विद्यार्थी कोही पनि बेरोजगार बस्नुपरेको छैन । हालसम्म ४३ देशमा यहाँबाट उत्पादित विद्यार्थी गएको रेकर्ड कलेजसँग छ । पोखरा, काठमाडौंका तारेहोटलमा म्यानेजरसम्म पुगेका छन् । अन्यको तुलनामा सस्तोमा तर गुणस्तरीय पढाइ हुने भएकोले यहाँ यति आकर्षण छ कि भर्ना आह्वानको ४ घण्टामै भर्ना प्रक्रिया बन्द गर्नुपर्छ । पोखरा–४, गैह्रापाटनमा समेत सिटी कलेज संचालित छ ।
प्लस टू होटल म्यानेज्मेन्ट र ब्याचलर अफ होटल म्यानेज्मेन्ट (बीएचएम) प्रोग्रामका कक्षा मुख्य कलेज छिनेडाँडामै हुन्छ भने ब्याचलर अफ बिजनेस एड्मिन्ट्रेसन (बीबीए) र बिजनेस एड्मिन्ट्रेसन इन बैंकिङ एण्ड इन्स्योरेन्स (बीबीए–बीआई) का कक्षा गैह्रापाटनमा हुँदै आएको छ । सुरुवातमा बीएचएमका कक्षा हुने गरेकोमा विद्यार्थीको माग र समयको आवश्यकताअनुरुप सन् २००३ देखि प्लस टु, २००४ देखि बीबीए र सन् २००९ देखि बीबीए–बीआई कक्षा थपियो ।
सिकाइमा नाफामूलकभन्दा सेवामूलक भावना आत्मसात गरिएको उनी बताउँछन् । कलेजमा लिफ्ट सुविधा छ । कलेज तथा विद्यालयमा लिफ्ट सुविधा रहेको पोखरामै यो एकमात्र हो । नेपालमै उत्कृष्ट प्रयोगात्मक ल्याबहरु, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, बास्केटबल, भलिवल कोर्ट, सुविधासम्पन्न रेष्टुरेन्ट लगायत सुविधा छन् । विद्यार्थीलाई लञ्च र बसभाडा निःशुल्क छ । पोखरा–१४ मा २६ रोपनी क्षेत्रफलमा यो कलेज फैलिएको छ । शिक्षक र कर्मचारी गरी ९५ जना कार्यरत् छन् । यसरी ब्रान्डिङ गर्न क्वालिटीलाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।
प्रदेशकै नमुना स्कुल कुमुदिनी होम्स्
पोखरामा चालीसको दशकताका खासै बोर्डिङ थिएनन् । खुलेका पनि केही सीमित थिए । मुख्यबजार महेन्द्रपुलनजिकै गैह्रापाटनमा २०४४ पुस २ गते कुमुदिनी होम्स् खुल्यो । सरकारीको तुलनामा निजी स्कुलहरुले विस्तारै गुणस्तरीय नतिजा पस्किन थालेपछि अभिभावकमा पनि बोर्डिङतर्फ आकर्षित हुन थाले । कुमुदिनी होम्स् पनि सबैको नजरमा पर्दै गयो । २०५९ सालमा एकल स्वामित्वमा अशोक पालिखेले लिए । त्यसबेला विद्यालयको एक इञ्च जग्गा पनि थिएन । बिल्डिङ केही थिएन । सबै बहालमा चलेको थियो ।
अहिले स्कुलको ८ रोपनी जग्गा छ । विद्यालयबाट २४ ब्याच एसएससी (हाल एसइई) निस्के । २०५९ सालमा नेपालमै ‘बोर्ड टेन्थ’ भयो । कास्की जिल्लामा पाँच पटकसम्म स्कुलले सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यार्थीको खुबै आकर्षण रहने सहरको बीच भागको यो स्कुलमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म १३ सय विद्यार्थी पढिरहेका छन् । ८३ जना शिक्षक र ४७ जना कर्मचारी छन् । काठमाडौंबाहिर इन्टरनेश्नल प्राइमरी करिकुलम (आइपीसी) कोर्स सहित सिकाइका विभिन्न प्रयोग यहाँ हुने गरेको छ । पढाएर हैन, बुझाएर पढाउने मान्यता आत्मसात गरिएको विद्यालय संस्थापक÷अध्यक्ष पालिखेले बताए । यहाँ नमुना आर्ट म्यूजियम छ । १७० जना वरिष्ठ चित्रकारदेखि युवा चित्रकारको गरी २७० चित्र संग्रहित गरिएको छ ।
पोखरा घुम्न आउनेहरु विद्यार्थीहरु कुमुदिनी होम्स जान छुटाउँदैनन् । भक्तपुरको झ्याल तथा विविध सम्पदा, चराचुरुङ्गी, विभिन्न बोटबिरुवा तथा जडिबुटी यहाँ देख्न पाइन्छ । विद्यालयको हाल १० सुविधासम्पन्न बिल्डिङ् छन् । कुमुदिनी होम्स् माविले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम समेत गर्दै आएको छ । पोखरा–१९, पुरुञ्चौर हिमालयन प्राविमा विद्यार्थी पोशाक, शैक्षिक सामग्री, दिवा खाजा, फर्निचर लगायत सहयोग गर्दैआएको छ । विद्यालयसम्म पुग्न सहजहोस् भनी पुल निर्माण गरिदिएको छ, कुमुदिनीले । त्यसबेला १३ जनामात्र विद्यार्थी पढ्ने दुर्गमको सो स्कुलमा हाल विद्यार्थी संख्या बढेर ३३ जना पुगेका छन् ।
त्यस्तै, माछापुच्छे« गाउँपालिकाअन्तर्गत भुर्जुङखोलाको बाराही प्राविमा पनि त्यस्तै प्रकारको सहयोग उपलब्ध गराउँदैआएको छ । सो सुविधाका कारण पहिलो १९ जनामात्र विद्यार्थी संख्या रहेको बाराहीमा अहिले ३५ जना विद्यार्थी पढ्छन् । उता, पोखरा–११, काँहुडाँडास्थित कालिका माविसहित हिमालयन प्रावि र बाराहीमा बेञ्च–टेबल सहयोग गरिएको छ । यसको सबै नेतृत्व पनि पालिखेले नै गरेका छन

स्वास्थ्य क्षेत्रमा लगानी
पालिखे उद्योग वाणिज्य संघमा छँदा पोखरालाई शिक्षा, पर्यटन र स्वास्थ्यको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने अभियान चलाइयो । त्यसबेला पोखरामा पद्म नर्सिङ होममात्र थियो । डा. वसन्त ताम्राकार भर्खरै भर्खरै एमडी सकेर फर्केका थिए । उनीसहितको सहकार्यमा गैह्रापाटनमा सन् १९९९ मा फिस्टेल अस्पतालमा खोलियो । २०६९ सालदेखि फिस्टेल नर्सिङ क्याम्पस रुपमा संचालनमा आयो । उनी नर्सिङ क्याम्पसको अध्यक्ष हुन् भने अस्पतालको बोर्ड अफ डाइरेक्टर । यहाँ डिप्लोमा इन नर्सिङ पढाइ हुन्छ । रिजल्टमा उत्कृष्ट नतिजा ल्याएको भन्दै सीटीइभिटीले प्रमाणपत्र दिएको छ । फिस्टेल अस्पतालमा सबै रोगको उपचार हुन्छ । पोखराका अस्पतालमध्ये निजीमा सबैभन्दा भिड लाग्ने अस्पताल फिस्टेल रहेको पालिखेको दाबी छ । दक्ष तथा अनुभवी चिकित्सक छन् । गत महिनादेखि कोभिड–१९ को उपचार समेत सुरु गरिएको छ । कोरोना संक्रमितको उपचारमा २० बेड छुट्टाइएको उनी बताउँछन् ।
कसरी जन्मियो पोखरा पर्यटन परिषद् ?
२०५२ साल साउन १० गते पोखरा पर्यटन परिषद् स्थापना भएको हो । त्यसको उनी संस्थापक अध्यक्ष हुन् । २०५६ सम्म गरी २ कार्यकाल पूरा गरे । त्यसताका पालिखे पोखरा उद्योग वाणिज्य संघको नेतृत्व हाँकिरहेका थिए । पोखराको बसपार्कमा पर्यटकप्रति राम्रो व्यवहार नभएको, ट्याक्सी व्यवस्थित हुन नसकेको भन्दै व्यवस्थित बनाउन त्यसबेला पोखराका ६ संस्था (पोखरा उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, नाट्टा, टान, रेवान र ट्याक्सी व्यवसायी समिति) मिलाएर परिषद् बनेको थियो । अहिले १२ संस्था परिषद्मा आबद्ध छन् । नेपालमै टुरिजम क्षेत्रमा ६ वटा संस्था मिलेर काम गरेको पहिलो संस्था भएको दाबी गरिन्छ । परिषद् पोखराको प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।
अब्बल बन्यो हिमालय आँखा अस्पताल
उद्योग वाणिज्य संघमा सफल कार्यकालसँगै उनी २०५४ सालतिर हिमालय आँखा अस्पतालमा जोडिए । त्यसबेला नेत्रज्योति संघ अध्यक्ष पदेनअध्यक्ष हुने व्यवस्था थियो । उनी नेत्रज्योति संघमा आबद्ध भइसकेका थिए । हिमालयमा अध्यक्ष भइसकेपछि उनी अस्पताललाई अगाडि बढाउन सक्रिय बने । सुरुवात भएर होला, बिरामी आउँदैनथे । आँखाको सुरक्षा र सचेतना कमी थियो । तसर्थ स्कूल–स्कुलमा शिविर चलाउन थाले । सुरुवातमा निःशुल्क जाँच भएकोले अभिभावकले बेवास्ता गरे । पछि प्रतिविद्यार्थी २ रुपैयाँ लिन थालियो । अनि केको लागि पैसा ? भनेर अभिभावकले सोध्न थालेपछि थप चासो र सुरक्षा सचेतना बढ्दै गयो र आँखा जचाउने बिरामीको भिड बढ्न थालेको पालिखे सम्झिन्छन् । अहिले भने हिमालय आँखा अस्पताल नेपालकै उत्कृष्ट आँखा अस्पतालको रुपमा विकास भएको छ । दैनिक ५÷६ सय बिरामी उपचारका लागि आउने गरेका छन् । सो अस्पतालमा उनी दुई कार्यकाल (२०५४–०६०) सम्म आबद्ध रहे
नेवारी संस्कृति जोगाउन दत्तचित्त
पोखरामा २६७ वर्ष पहिले तत्कालीन राजा सिद्धिनरसिंह मल्लले भक्तपुरबाट २६ कुरिया (घर) पोखरा बगालेटोलदेखि सिंहनाथटोलसम्म बसाएको इतिहासमा पाइन्छ । नेवारहरु यहाँको मुख्य रैथाने जाति हुन् । उनीहरुले आफ्नो भाषा, धर्म, संस्कृति रक्षाका लागि विविध कार्यक्रम गदै आएका छन् । २०५२ सालमा सर्वज्ञमान प्रधानाङ्गको अध्यक्षतामा नेवाः खलः कास्की गठन भयो । पछि सो संस्थामा २०७० देखि पालिखे स्वयम् अध्यक्ष छन् । संस्थाकै पहलमा पोखराको भीमसेनटोलमा तीनतले नेवाः छेः भवन निर्माण भएको छ । पोखराका विभिन्न ४३ स्थानमा नेवाः खलको गठन गरिएको छ । तायमचा नृत्य, कुमारी नृत्य, मञ्जुश्री नृत्य, बज्रयोगिनी नृत्य, भैरवनाच, माघेजात्रा, धिमे बाजा, बाँसुरी संरक्षणमा संस्था लागिपरेको छ । साथै केही वर्षदेखि मिस नेवाः पनि आयोजना गर्दै आएको छ । त्यसबाट भर्खरैका नेवारी युवतीलाई आफ्नो संस्कृति, भाषा, चालचलन, संस्कृति बुझाउन सकियो भने भोलिका दिनमा छोराछोरीलाई पनि सिकाउन सक्छन् भन्ने विश्वास छ ।
र, यो पनि
चालीसको दशकमा पोखरामा पीएन क्याम्पसबाहेक अर्को क्याम्पस थिएन । तसर्थ पब्लिक तहबाट क्याम्पस खोल्नुपर्ने स्वर मुखरित भयो । तत्कालीन अञ्चलाधीश नरेन्द्रकुमार चौधरीको पालामा २०४४ सालमा पोखरा बहुमुखी क्याम्पस स्थापित भयो । क्याम्पस स्थापनामा पालिखे महत्वपूर्ण सहयोग छ । क्याम्पसको संस्थापक सदस्य उनी लगातार २० वर्षसम्म संचालक समिति सदस्य रहेर सेवा गरे ।
त्यस्तै, पोखरा–११ स्थित माउन्ट अन्नपूर्ण साइन्स क्याम्पसमा पनि उनको संलग्नता छ । यो पोखराको पहिलो प्राइभेट क्याम्पस हो, जहाँ साइन्सको पढाइ हुन्छ । विद्यार्थीले यहाँ बीएस्सी माइक्रोवायोलोजी र प्लस टू साइन्स पढिरहेका छन् ।
निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकीको पनि उनी अध्यक्ष छन् । यस प्रदेशका स्थापित अस्पतालको सेवासुविधा र त्यसको गुणस्तरीयता वृद्धि गर्न, प्रगतिको मूल्यांकन गर्न तथा आइपर्ने विभिन्न समस्या समाधानका लागि निजी अस्पतालहरु यसरी एकजुट भएका हुन् । कोभिड–१९ को महामारीको बेलामा संगठित हुनुले काम गराइमा सहजता मिलेको छ ।
उनी जिल्ला शिक्षा समन्वय परिषद्मा निजी विद्यालयको तर्पmबाट सदस्य छन् । परेको बेला गण्डकी प्रदेशका विभिन्न मन्त्रालयबाट उनीसँग विज्ञको रुपमा सल्लाह सुझाव माग्छन् । जानेको र देखेको प्रष्ट बोल्छन् । पोखराको विकासका लागि स्पष्ट खाका हुनुपर्ने सुझाउँछन् ।
उनले युवाकालमा पोखरा जेसिजको विभिन्न पदमा रहेर काम गरे । अध्यक्षको पालो थियो, तर खाएनन् । किनकि उनको लक्ष्य त्यसबेला पोखरा उद्योग वाणिज्यको नेतृत्वमा जानु थियो । संघमा अध्यक्ष भइछाडे । उनी भैरहवा जेसिजका संस्थापक जनसम्पर्क अधिकृत हुन् । २०२८ देखि २०३० सम्म भैरहवामा बसेका उनले त्यहाँ पश्चिमाञ्चल पुस्तक भण्डार चलाएका थिए । पोखराको काहुँडाँडामा धर्मकाय बुद्ध मण्डला बनाउने पहल पनि थालिएको उनी बताउँछन् । ७ अर्बको सो योजनामा उनी सल्लाहकार छन् । खेलकुद क्षेत्रमा पनि उनको उत्तिकै लगाव हो । पोखरा रंगशाला क्रिकेट मैदान निर्माणको अध्यक्ष भएर पनि उनले आर्थिक संकलनमा सहयोग पु¥याएका थिए ।
सफलताको सूत्र–काममा समर्पण
उनको विचारमा सफलताको एउटै सूत्र हो–कामप्रति समर्पित । पालिखे भन्छन्, ‘आफूले सकेको बेलामा समाजलाई केही गर्नुपर्छ । कुनै पनि काममा समर्पित लागेमा अवश्य सफल भइन्छ ।’ उनको विचारमा मुलुकमा जेसुकै व्यवस्था आएपनि नेताहरु गतिलो भएनन् । भ्रष्टाचार न्यूनीकरण हुन सकेन । नेता गतिलो नहुँदा कर्मचारीलाई तह लगाउन सकिन्न ।’
राम्रो मानिस सधैँ पछि पर्नुपर्ने अवस्था विद्यमान छ । २०५४ मा पोखरामा काँग्रेसले मेयरमा उनलाई टिकट नदिएकोमा चित्त दुखाइ अझै रहेछ । भन्छन्, ‘त्यसबेला एमालेबाट कृष्ण थापा आउँदा, मलाई टिकट दिएको भए मैले अवश्य जित्ने थिएँ ।’ टिकट पाउन नेताको वरिपरि घुम्नुपर्ने । पैसा खुवाउनुपर्ने परिपाटीको सधैँ विरोधी उनी सम्भावित मेयरको अवसरबाट वञ्चित बने । अझै पनि राजनीतिमा तपाईका अवसर छन् नि ? भन्ने जिज्ञासामा उनले अब सक्रिय राजनीति नगर्ने स्पष्ट पारे । उनले भने, ‘सचेत नागरिकको हैशियतले जुनसुकै पार्टीले राम्रो काम गरे सहयोग गर्ने छु।’