व्यापारिक र सामरिक महत्वको शहर पोखरा

- विकासको प्रमुख कारण उत्तर र दक्षिण क्षेत्रको केन्द्रको रुपमा विकसित गर्ने रणनिति

-


     आनन्दराज मुल्मी    
     मंसिर २७ गते २०७७ मा प्रकाशित


प्रत्येक देशको भूगोल (नदी नाला पहाड, जमिन) परिवर्तन हुन हजारौं वर्ष लाग्दछ । तर प्राकृतिक विपद्का कारणले समुन्द्रमा रहेका द्विपहरु नजिकका ठाउँहरु, सामुद्रिक आँधिवेहरीले पहाडी क्षेत्रका भूभाग भुस्खलन-पहिरोले, नदिकटान बाढीले शक्तिशाली भूकम्पले, हिमताल फुटेर वा हिमस्खलन वा परस्पर युद्धले भूगोल आशिंक वा धेरै ठूलाे आकारमा परिवर्तन हुन सक्दछ तर सामान्यतया भूस्थिती छिटै परिवर्तन नहुने भएकोले कास्की वा पोखराको भूगोल हजारौं वर्षदेखि नै अहिलेकै स्वरुपको हो भनेर यकिन गर्न सक्छौं । तर भूगोलको ठाउँ विशेषको नामजस्तै कास्की पोखरा कसरी रहन गयो छुट्टै विषय हो । यहाँको सभ्यता, बसोबास कसरी भयो, बस्ती विकासको ऐतिहासिक तथ्यहरु अनुसन्धानकर्ता खोजकर्ताहरुले गहिरो अध्ययन उत्खनन् र अनुसन्धानबाट स्थापित गरिएको हुन्छ ।

नेपालकै कुरा गर्दा इशापूर्व ५८९ (२६०० वर्ष अगाडी यलम्वरनामक किराँती राजाले राजकाज चलाएको भनिएको छ तापनि धेरै तथ्यहरु पाउन सकिएको छैन । किराँती शासन झन्डै १००० वर्ष रहेको र इस्वि सम्वंत ४६४ मा अन्त भई लिच्छविकालिन युग शुरु भएको मानिन्छ । हामी बसोबास गरेको कास्कीमा १८०० वर्ष अगाडि उत्तरी क्षेत्र र संभवत् अहिलेको तिब्बतबाट तिब्बेतोबर्मि भाषा बोल्ने मानिस झन्डै १५०० मिटरदेखि २५०० मिटर उचाइ भएको क्षेत्रमा बसोबास गरेका मंगोल आर्य मुलका मानिसहरु नै यहाँका मुलबस्ती हुन् भनेर फ्रेन्च विद्धान बर्नाड पिग्नेडेले आफ्नो शोधकिताबमा उल्लेख गरेका छन् । तिनिहरु बुढीगण्डकी नदिको पश्चिम मोदी कालीगण्डकी को पूर्व बसोबास गर्दथे ।

आफूसँग भएका जनावर गाइ, भैसीं, भेडाचाङग्रा चराउन ४००० मिटर अग्लो ठाउँसम्म पुग्ने, उनीहरुकै ऊनबाट आफूलाई चाहिने लुगाफाटा, राडीपाखी बनाउने गर्दथे भनेर उल्लेख गरेको छ । बुढीगण्डकी, मस्र्याङदी मादी, सेती, मोदी, काली नदीहरुको दायाँबायाँ उत्तरदक्षिण ३५–४० किमी र पूर्वपश्चिम १५० किमीसम्म ससाना समूहमा एकैठाउँमा बस्ने गरेको र प्रमुख अग्लो ठाउँमा कोट बनाएर बस्दथे भनि उल्लेख छ ।

इतिहासकार एलेन मेकफलनि ले पनि यस कुराको पुष्टी गर्दै आफ्नो किताबमा लेखेका छन् । यि सबै वर्णनबाट कास्की वा मुल बासीहरु तमु (अहिले गुरुङ) बासी नै हो मुलत उदगमस्थल भनेर भनिएको कोल्हा सोथर दुधपोखरी भन्दा तल रहेको काहोल कोट नै घले राजाको मुलस्थान हो भनिएको छ । त्यसबाहेक पोन्जोकोट, लमजुङकोट, देउमादीकोट, थानथापकोट, सिक्लीस, घान्द्रुकमा विभिन्न घले राजाहरु थिए भनि उल्लेख गरेको पाउछौं । तसर्थ कास्की इसं २०० बाट घलेराजाहरुद्धारा शासित क्षेत्र हो र अन्तिम घले राजा राकेश जो बास्तलेकोट (पाउँदुुर) मा बसेर शासन गर्दथे ।

इस्वि संवत १५०२ मा मिचाखाँ विचित्रखाँद्धारा पराजित भएपछि जगाती खाँ कास्कीको राजाको रुपमा स्थापित भए । ती जगाती स्वयंले नै कुलमण्डल शाहको नाममा शासन चलाए । घले राजाहरुको पालामा पनि बलियो सैन्य शक्ति थियो, तसर्थ भिरकोटका खान राजाहरुले घले राजाहरुको गतिविधि बुझ्न आफ्ना मानिसहरुलाई व्यापारीको रुपमा १४ औं शताब्दीमा नै कास्कीको विभिन्न ठाउँमा रेकी गर्न बुझ्न पठाएका थिए । ती व्यापारीहरु घरघरमा पुगी सामानहरु देखाउने बेच्ने काम गर्दथे र तिनीहरुको सूचनाको आधारमा भिरकोटे खाँ बन्धुहरुले कास्कीमाथि हमला गरेका थिए । पहिला काहोलका घले राजा रितु घलेलाई पराष्त गरेपछि मात्र कास्कीका राजा राकेश घलेमाथि आक्रमण गरेर विजय प्राप्त गरेको उल्लेख छ। ती सूचना संकलन गर्नेहरु मुस्लिम जातिकै थिए र क्षेत्र जीतेपछि रुपाकोटमै बसोबास गरेर बसेको उल्लेख छ र आजका दिनमा पनि रुपा गाउँपालिकामा मुस्लिमहरुको ठूलो बस्ती छ । कास्की त्यसबेलादेखि नै सामाजिक रुपले महत्वपूर्ण क्षेत्रमा रुपमा लिने गरेको पाइन्छ ।

घले राजाका सेना इमान्दार लडाकु बलिया थिए । त्यसैले बलियो सैन्यशक्ति भएको कारणले कास्कीमाथि विजय प्राप्त गर्ने चाहना त्यसताका राजाहरुमा भएको पाउँछौं । कुलमण्डल शाहको समयमा पनि यी सेना भएकोले बलियो राज्यको रुपमा गनिन्थ्यो । छिमेकका राज्यहरुले दरिलो साथ दिएको हुनाले अन्य राज्यले आवश्यक पर्ने बेलामा सहयोग माग्ने गरेबाट पनि कास्कीको सामरिक महत्व रहेको देखाउँछ ।

पृथ्वीनारायण शाहले धेरै राज्यहरु जिते र एकीकृत गर्ने प्रयास गरे तर कास्कीमा ३ पटक आक्रमण गरे पनि विजयप्राप्त गर्न नसकेको ऐतिहासिक तथ्य छ । सिद्धिनारायण शाहले इस्वि संवत १७५२ मा पोखरालाई राम्रो बस्ती विकास गर्न थालनी गर्नुअघि सातमुहाने, सुनपदेंली, ढुगेंसागुँ, बैदाम, जरेबर जस्ता ठाउँहरु व्यापार केन्द्रको रुपमा स्थापित थिए । उत्तरबाट नुन तथा जडिबुटीहरु ल्याउने व्यापारिकमार्ग थाकखोला टुकुचे हुँदै दाना बनेको थियो । पोखरा उपत्यकामा बस्ती विकासको पछाडिको प्रमुख कारण उत्तर र दक्षिण क्षेत्रको केन्द्रको रुपमा विकसित गर्ने रणनिति अन्तर्गत नै भएको हुनुपर्दछ भनेर भन्न सकिन्छ ।

कास्की र पोखरा सामरिक महत्वको ठाउँ हो भनेर मनन गर्दै जगंबहादुर राणाले आफूलाई कास्कीको राजा घोषित गरी श्री ३ को पदवी आफैं लिएबाट पनि पुष्टि गर्न सक्दछौं । यही समयमा नेपाली फौजको भारतमा बसेका बेलायती सेनासँग धेरै ठाउँमा धेरै पटक लडाइँ भयो । अन्तत: इसं १८१६ मा सुंगौली सन्धीपछि लडाइ अन्त भयो । त्यसैबेलादेखि बेलायती सरकारले पहिलो पटक गैरब्रिटिसको रुपमा कास्कीका गुरुङ जातिलाई आफ्नो सेनामा भर्ति खुला गरेको र ठूलो संख्यामा भर्ति हुन गएका थिए ।

यो पनि एउटा प्रमुख कारण हो, जस्ले कास्की पोखराको सामरिक महत्व झनै बढाएको पाउँछौं । त्यसैकारणले आज पनि पोखरामा भारतीय र बेलायत सरकारको सैनिक सम्पर्क कार्यालय छन् र पूर्व सैनिकहरुलाई पेन्सन बाँड्ने, नयाँ भर्ति लिने काम गर्छन् । क्रमशः

लेखक नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् ।