बरेङमा बिहान-बेलुका अतिरिक्त कक्षा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



बागलुङ, २९ मंसिर। बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए।

कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन र पाठ्यक्रम समयमै सक्नका लागि गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेको उनको भनाइ छ ।

सरकारले शैक्षिक सत्र सकाउनका निम्ति निर्देशन दिएपछि समयमै पाठ्यक्रम नसकिने भएपछि विद्यार्थीको उच्च मनोबल बनाउन र सिकाइ बढवा दिन कक्षा शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

पुस १ देखि कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए। शर्माले गाउँपालिकाले बजेट विनियोजन गरेर कक्षा सञ्चालनको थालनी गरेको जानकारी दिए । अतिरिक्त कक्षा सञ्चालनका लागि गाउँपालिकाले रु तीन लाख ५० हजार छुट्याएको छ । उक्त रकमबाट शिक्षकलाई अतिरिक्त कक्षा लिएबापत प्रदान गरिनेछ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत शर्माका अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुनेछ भने बिहान एक घण्टा र बेलुका एक घण्टा अतिरिक्त कक्षा लिइनेछ ।