कास्कीका सामुदायिक क्याम्पस संचालन गरिने निर्णय

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



पोखरा, १ पुस । नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आवद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थीको पठनपाठन भौतिक उपस्थितिनै गर्ने भएका छन् । जिल्लामा रहेका सामुदायिक क्याम्पसहरुको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघ कास्कीको बैठकले प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई ध्यान दिँदै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा वसेको सो बैठकले त्रिवि रजिष्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मसिर १४ गते जारी गरेको सूचनालाई अवलम्वन गर्दै पुस १३ देखि पठनपाठन गर्ने निर्णय गरेको हो । सो सूचना बमोजिम नै क्याम्पसहरुले आवश्यक सतर्कता र मापदण्ड पूरा गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको नेपाल पब्लिक क्याम्पस संघ कार्यसम्पादन समितिका सदस्य बीरञ्जी गौतमले बताए । उक्त निर्णयसँगै ९ महिनादेखि बन्द क्याम्पसहरुमा प्रत्यक्ष कक्षा सञ्चालन हुने भएका छन् ।

कोभिड–१९ को कारण कास्कीका सामुदायिक क्याम्पसहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएको भए तापनि प्रभावकारी हुन सकेको पाइँदैन । त्रिविले सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसहरुको नाममा सूचना जारी गरीसकेको छ । जसको कारण काठमाडौ उपत्यका र पोखराबाहेक अधिकांश स्थानमा प्रत्यक्ष कक्षा सञ्चालन भइसकेको छ ।

कास्कीस्थित सरकारी विद्यालयहरुले पनि विद्यार्थीको पठनपाठन गत सातादेखि भौतिक उपस्थितिमै शुरु गरिसकेका छन् । पोखरा महानगरपालिकाले पनि मंसिर तेस्रो साता सूचना प्रकाशित गरी विद्यालयलाई भौतिक रुपमा कक्षा सञ्चालन गर्ने मोडालिटी तय गर्दै भौतिक रुपमा कक्षा सञ्चालनको लागि बाटो खुला गरिसकेको छ ।