नयाँ वर्षको स्वागतमा सांगीतिक कार्यक्रम

-


     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित


पोखरा, १६ पुस । अंग्रेजी नयाँ वर्ष-२०२१ स्वागतको लागि पोखरा व्यग्ररुपमा कुरिरहेको छ । सन् २०२० कोरोना कहरले अस्तव्यस्त बने पनि आगामी वर्ष सुखद् होस् भन्ने कामनाका लागि पोखरेलीले नयाँ वर्षको भव्य स्वागत गर्दैछन् ।

यसैक्रममा पोखरामा विगत २२ वर्षदेखि निरन्तर आयोजित पोखरा सडक महोत्सवलाई कोभिड-१९ प्रभावितबीच पनि निरन्तरता दिइएको छ । फेवाताल किनार लेकसाइडमा बुधबारदेखि सुरु महोत्सव शुक्रबासम्म चल्नेछ । महोत्सवमा विदेशी पर्यटकको उपस्थित हुन नसके पनि आन्तरिक पर्यटक भरमै कोरोनाबाट थला परेको पर्यटन व्यवसाय केही भए पनि उकास्ने कोसिसमा आयोजक रेवान पोखरा लागिपरेको अध्यक्ष लक्ष्मण बरालले बताए ।

महोत्सवकै छेको तथा नयाँँ वर्ष सन्दर्भमा विभिन्न होटल, रेष्टुरेन्ट तथा रिसोर्टले सांगीतिक कार्यक्रम पस्किने भएका छन् । फेवाताल किनार पोखरा–१८ सेदीस्थित दी कल्चर रिसोर्टले चर्चित गायिका इन्दिरा जोशीलाई निम्ता दिएको छ ।

कल्चर रिसोर्टमा इन्दिरा जोशीको हिट प्रस्तुति हुनेछ।

न्यू इयर इभ अवसरमा बिहीबार साँझ ६ बजेदेखि चल्ने न्यू इयर सेलिब्रेसनमा गायिका जोशीले चर्चित गीत पस्किने कार्यक्रम रहेको रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले जानकारी दिए । सो अवसरमा लोकल ब्याण्ड, डिजे सेसन, बीबीक्यू हुनेछ । पाहुना तथा दर्शकका लागि कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको उनले बताए । जसको लागि मास्क प्रयोग र आवश्यक सेनिटाइज गरिने छ ।

यस्तै, पोखराको होटल बाराहीले नयाँ वर्ष स्वागतमा डिजे सेसन चलाउँदैछ । बाराहीचोकस्थित सो होटलमा पाहुनाको स्वागतका लागि गाला डिनरसहित डिजे सेसन हुने संचालक विप्लव पौडेलले जानकारी दिए ।

उता, माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा अदृश्य किरण ब्याण्डसहित डिजे सेसन हुने होटलका सेल्स एण्ड अपरेसन डिपार्टका डाइरेक्टर किरण तुलाधरले बताए ।

पोखरामा हाल संचालित एकमात्र पाँचतारे पोखरा होटल ग्राण्डमा भने विगतमा जस्तो यसपालि कुनै सांगीतिक कार्यक्रम छैन । पोखरा होटल ग्रान्डका महाप्रबन्धक रोशन खवासले कोरोना कहरका कारण यसपालि विगतमा जस्तो कार्यक्रमलाई निरन्तरता दिन सकेनौं, आगामी वर्ष सहज हुने वित्तिकै यसप्रकारका कारण चल्नेछन् । सांगीतिक कार्यक्रम नभए पनि आएका पाहुनाले नयाँ वर्षलाई आ–आफ्नो ढंगले भव्य रुपमा स्वागत गर्न सक्ने छन् ।

यसैबीच सडक महोत्सव अवसरमा नेपालीको मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

विगतमाझैं तामझामका अलावा गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेजमा विविध सांगीतिक कार्यक्रम चल्ने महोत्सव संयोजक वसन्त गौतमले बताए । तीमध्ये एकमा गन्धर्व समूहको प्रस्तुति हुनेछ भने अन्य ३ मा विशुद्ध मौलिक संस्कृति, भेषभूषा, कला संस्कृति झल्किने विभिन्न जातजातिको नाच हुुनेछ ।

महोत्सवका लागि भनेर ताल किनारमा आउने दर्शकले सन् २०२० को बिदाइ र नयाँ वर्ष २०२१ को भव्य स्वागत गर्नेछन् ।