शेयर बजारमा चम्किएका अम्बिका

-


     रेविका आचार्य    
     चैत्र १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । अम्बिका पौडेल, नेपाली पुँजी बजारको एउटा परिचित नाम हो । सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र पुँजीबजार फोरमका सभापति समेत हुन् ।

हो, उनैले हालै एउटा इतिहास रचेका छन् । केही दिन अघि उनी नेपाल टेलिकमको सञ्चालक समितिमा सर्वसम्मत चयन भए । उनी पहिलो व्यक्ति हुन्, जो सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै टेलिकमको सञ्चालक सदस्य बने । सर्वसाधारण शेयरधनीतर्फबाट टेलिकमको सञ्चालक समिति सदस्यमा उनलाई टेलिकमको चैत १३ गतेको वार्षिक साधारणसभाले निर्विरोध चयन गरेको छ ।
टेलिकममा ८.४८ प्रतिशत शेयर सर्वसाधारणको छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ । नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर छ ।

सर्वसाधारणमा गएको शेयरमध्ये पनि साढे ४ प्रतिशत त्यहीँका कर्मचारीको भएका कारण आमसर्वसाधारणबाट सञ्चालक समितिमा जाने कोही थिएनन् । पौडेल पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएर इतिहास बनाउन सफल भएका हुन् ।

अहिलेका ठूला र चर्चामा रहेका लगानीकर्ता पौडेल शेयर बजारमा राम्रैसँग जमेका छन् । छँदाखाँदाको सरकारी जागिर नै छाडेर उनी शेयर बजारमा पूर्णकालीन रूपमा सक्रिय छन् । पेन्सन हुन केही वर्ष बाँकी छँदै उपदान लिएर सेवाबाट बाहिरिए । ‘म शेयर बजारमै पूर्णकालीन रूपमा लाग्ने उद्देश्यका साथ जागिर छाडेको थिएँ’ उनले भने, ‘मैले जुन सोचले जागिर छाडेको थिएँ, त्यही अनुसार अहिले बजारमा सक्रिय छु ।’

करिब ४ दर्जन कम्पनीहरूको शेयरधनी रहेका उनी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत चार कम्पनीको त सञ्चालक नै छन् । अब एनटीसीमा पनि चुनाव जितेसँगै पाँचौं सूचीकृत कम्पनीको सञ्चालक समितिमा उनी पुगेका छन् ।

स्याङ्जाको सामान्य परिवारमा २०२८ सालमा जन्मिएका थिए, पौडेल । इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष रहेका पौडेल पूर्व निजामती कर्मचारी समेत हुन् । उनले एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरे ।

उच्च शिक्षाका लागि पोखरा झरेका उनले आइकम अध्ययनपछि स्नातक गर्न काठमाडौं आए । काठमाडौंको शंकदरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पूरा गरे । उनले पछि सार्वजनिक प्रशासनमा पनि स्नातकोत्तर गरे ।

सरकारी जागिर छाडे, टेलिकममा इतिहास रचे

पुँजी बजारमा २०४९ सालदेखि नै जोडिएका उनी २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामती सेवा प्रवेश गरेका थिए । महालेखापरीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमा भने सरकारी जागिर छाडेका हुन् । जागिरको सिलसिलामा महालेखा नियन्त्रकको कार्यालयमा पोष्टिङ हुँदा मातहतको कार्यालय काभ्रेमा उनी हाजिर भए । त्यसपछि शिक्षा विभाग, महालेखा नियन्त्रकको केन्द्रीय कार्यालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयहरूमा काम गर्दै उनले ११ वर्ष बिताए । पेन्सन हुन एक दशक पनि सेवा गर्नुपर्ने थिएन । तर उनले पेन्सन नखाने विचार गरे र २०६५ सालमा सरकारी सेवाबाट बाहिरिए । सरकारी जागिर छाड्नुको एउटा मात्रै उद्देश्य थियो, शेयर बजारमा पूर्ण रूपमा लागिपर्ने । शेयर बजारमा लगानीमात्रै होइन नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति देखाउने गरेका पौडेल त्यसयता सधैँ व्यवसायमा केन्द्रित भए ।

हुन त अम्बिका सरकारी जागिर सुरू गर्नुभन्दा अघि नै शेयर बजार प्रवेश गरिसकेका थिए । व्यवस्थापनको विद्यार्थी भएका कारण पनि उनलाई अध्ययन गर्दागर्दै शेयर बजारबारे रुचि थियो । साथीभाइको सल्लाहले उनी शेयर बजारमा पहिले नै प्रवेश गरिसकेका थिए । तर उनले आम्दानीको मुख्य स्रोत नै शेयर बजार बनाउँछु भन्ने पहिले नै सोचेका भने थिएनन् । शेयरमा लगानी गर्दै गए । कहिले घाटा कहिले नाफा यसलाई उनि स्वाभाविकै मान्छन । तर उनले खासै घाटा भने बेहोर्नु परेको छैन ।

शेयर बजार एउटा जोखिमको लगानी क्षेत्र हो । यो प्राविधिक विषय पनि भएकाले कसैले कमाएकै भरमा म पनि कमाउँछु भन्ने सोच्नेहरू भने समस्यामा पर्न सक्ने उनी बताउँछन् । आफूले भने बजारबारे केही बुझ्ने मौका पाएका कारण घाटा धेरै बेहोर्नु नपरेको उनी सुनाउँछन् ।

जब उनी निजामती सेवाबाट बाहिरिए, त्यसपछि भने सक्रियता झन् बढ्यो । आफ्नो क्षमताले भ्याएसम्म शेयर बजारमै लगानी गरे । आफ्नो क्षमता र बैंकले पत्याउनेसम्मको ऋण लिएर समेत उनले लगानी गरेको सुनाउँछन् । लगानी गर्नुअघि जोखिमबारे आफूले धेरै अध्ययन गर्ने गरेको उनी बताउँछन् ।

अम्बिकाको आवद्धता
एक दर्जन हाराहारीका कम्पनीहरुमा सञ्चालक उनी धेरै कम्पनीहरुको शेयर होल्ड गरेका छन् । तत्कालीन हाथवे फाइनान्सको अध्यक्ष पौडेल काठमाडौं नजिकैको चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्सको सञ्चालक हुन् ।

हाल उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर प्रालिका अध्यक्ष छन् । यसका अलावा आइएमई जनरल इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लि, हाथवे इन्भेष्टमेन्ट नेपाल लि, बूढानीलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग र ग्रेट हाइड्रोपावर कम्पनीको सञ्चालक रहेका छन् । उनी निर्माण व्यवसायसँग समेत आवद्ध छन् ।

अहिले ठूला लगानीकर्ता र शेयर बजारबाट निकै राम्रो प्रगति गरेका भनेर चिनिने अम्बिकाको शेयर बजार प्रवेशको पहिलो खुड्किलो भने सुखद हुन सकेको थिएन । पहिलोपटक उनले हिमालयन बैंकमा साधारण शेयर (आइपिओ) का लागि आवेदन दिएका थिए । अहिले घर वा अफिसमै बसेर मोबाइलबाटै पनि आइपिओ भर्न सकिन्छ तर त्यसबेला सहज थिएन । आइपीओ भर्न निकै लामो लाइन लाग्नुपथ्र्यो । तैपनि घण्टौं लाइन लागेर उनले आइपिओका लागि आवेदन दिए । त्यतिबेला अहिलेको जस्तो लाखौं आवेदक पनि हुँदैनथे । तरपनि पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात् उनलाई एक कित्ता पनि शेयर परेन । भनिन्छ, सफलताको पहिलो खुट्किलो नै असफलता हो । अम्बिकाले सायद, यस्तै सोचे । पहिलो गाँसमा ढुंगा लाग्यो भन्दैमा खानै खान भने छाडेनन् ।

दोस्रो पटक नेपाल एसबीआई बैंकको आइपिओका लागि आवेदन दिए । त्यसपछि नेपाल बंगलादेश बैंकका लागि पनि । यी दुवै बैंकको शेयर अम्बिकाले हात पारे । गोलाप्रथाबाट उनलाई १०/१० कित्ता शेयर प¥यो । यसबाट उनलाई उत्साह जाग्यो र शेयर बजारमा लगानी गर्न हौसला मिलेको उनी बताउँछन् । समय बित्दै गयो । उनी प्राथमिक बजारमा मात्रै सीमित हुन सकेनन् । दोस्रो बजारमा पनि प्रवेश गर्ने योजना बनाए । पहिलो पटक उनले २०५० सालमा नबिल बैंकको ५० कित्ता शेयर दोस्रो बजारबाट खरिद गरे । अनि सुरु भयो उनको दोस्रो बजारको यात्रा । त्यसपछि लगातार उनी किनबेचमा लागे ।

२०५४ सालमा शेयर बजार निकै ठूलो अंकले घट्यो । त्यसपछि भने उनी लोक सेवाको तयारीमा जुटे । २०५५ सालमा लेखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरे । जागिर खाएको केही वर्ष उनले दोस्रो बजारमा कारोबार गरेनन् तर शेयरमा राम्रै भिजिसकेका उनको मनले कहाँ मान्थ्यो र ? ३ वर्षपछि उनले शेयर बजारमा पुनः सक्रियता देखाउन थाले । सरकारी जागिर छाडेर उनले ‘हाथवे इन्भेष्टमेन्ट’ नामक लगानी गर्ने कम्पनी खोले । अहिले पनि उनले यही कम्पनीबाट समेत कारोबार गर्दै आएका छन् ।

पुँजी बजारमै सक्रिय रहने चाहना
कुनै एउटा समयमा पुगेपछि पेसा वा व्यवसायबाट रिटायर्ड हुने धेरैको चाहना हुन्छ । तर अम्बिकाले भने पुँजी बजारबाट रिटायर्ड हुने सोचेका छैनन् । आफूले सकेसम्म सधैँ पुँजी बजारमै सक्रिय रहने बताउँछन् ।

५ वटा सूचीकृत कम्पनीको त सञ्चालक नै भइसकेका छन्, उनी । अहिले पनि दैनिक सेयर कारोबार समेत आफै गर्छन् । आफू स्वस्थ, तन्दुरुस्त रहञ्जेलसम्म पुँजी बजारमा सक्रिय रहने उनको चाहना छ ।