शोरुमका गाडीको अब शुल्क लाग्दैन: मेयर जिसी

-


     सफल आवाज    
     चैत्र १८ गते २०७७ मा प्रकाशित


पोखरा, १८ चैत । पोखराको सार्वजनिक सडकमा महानगरले पार्किङ शुल्क उठाउन थालेपछि विभिन्न गुनासो आइरहेका छन् । यतिसम्म कि शोरुममा राखिएका गाडीको समेत शुल्क नछाडेपछि व्यवसायीहरु गुनासोसहित महानगर पुगेका छन् ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष मोहनबाबु खड्का सहितको टोलीले बुधबार मेयर मानबहादुर जिसीलाई भेटेर शोरुममा राखिएका र नम्बर प्लेट नभएका नयाँ गाडीको पार्किङ नलिन आग्रह गरे । वाडाको आग्रहमा मेयर जिसीले बिक्रीका लागि शोरुम तथा पसल अगाडि प्रदर्शनीमा सजाएर राखिएका गाडीको पार्किङ शुल्क नलाग्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयर जिसीले महानगरले समेत पोखराका मुख्य क्षेत्रहरुमा पार्किङ शुल्क उठाउन ठेक्का दिइएकोमा अनधिकृतरुपमा शुल्क उठाइएको आफूले जानकारी बताउँदै सो आश्वासन दिएका हुन्।

गाडी र मोटरसाइकलको पार्किङ शुल्क लिने क्रममा पसल तथा शोरुम अगाडि बिक्रीका लागि राखिएका गाडीको समेत यतिबेला पार्किङ शुल्क लिने गरिएको छ । जसबाट व्यवसायीहरु आजित छन् । वाडा कास्की अध्यक्ष मोहनबावु खड्काले आफूहरुले त्यस्तो प्रकृतिका गाडीको शुल्क नलिन पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि मेयरसमक्ष पुगेको बताए । मेयर जिसीले आफूहरुसँगको भेटमा छिट्टै यसको कार्यान्वयन हुने आश्वासन दिएको खड्काले सफल आवाजलाई जानकारी दिए ।

खड्काको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा वाडाका सल्लाहकार माधवप्रसाद पौडेल र अटो मोवाइलका समस्या समाधान उपसमिति संयोजक छबि सुवेदी लगायत संलग्न थिए ।