मेलम्चीको पानी उपत्यकामा वितरण शुरु, राष्ट्रपतिबाट शुभारम्भ

-



     सफल आवाज    
     चैत्र २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण गर्दै स्वच्छ खानेपानीको सेवा उपलब्ध भएकाेमा खुसी ब्यक्त गरेकी छन । मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले ३ ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन ।

मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पानीकाे स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन । “प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे पालामा सम्पन्न भएको छ ।

पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उनले भनिन । केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो । परीक्षण सफल भएपछि आजदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ । गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो ।

पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ ।

केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ ।