सातै प्रदेशमा ५० चार्जिङ स्टेशन : एडिबिले ३७ करोड ७९ लाख लगानी गर्दै

-


     सफल आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित


काठमाडौं, २ वैशाख । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा देशका ७ वटै प्रदेशका ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । विद्युतीय सवारी साधनहरूमा चार्जिङका लागि चार्जिङ स्टेशन स्थापन गर्न विद्युत प्राधिकरणले चाईनिज कम्पनी वानव्याङ डिजिटल इनर्जीसंग ठेक्का सम्झौता गरेकाे छ ।

प्राधकिरणका अनुसार देशमा विद्युत उत्पादनको परिमाण बढ्न लागेको र सरकारले विद्युतीय सवारी साधन चलाउनका लागि प्रोत्साहन गरेकोले नेपाल विद्युत प्राधिकरणले चाईनिज कम्पनीसंग चार्जिङ स्टेशन निर्माणको लागि सम्झौता गरेको हो ।

चार्जिङ स्टेशन प्रदेश नं १ मा पाँच वटा निर्माण हुने भएका छन् । दमक, भद्रपुर, कन्काई, विराटनगर तथा इटहरीमा निर्माण गरिने भएको हाे ।

प्रदेश नं २ का सात स्थानमा रहने भएका छन् । बिरगञ्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिवास तथा राजवीराजमा निर्माण हुने भएको छ ।

बागमती प्रदेशमा १३ वटा निर्माण गरिने भएको छ । मुग्लिन देखि कुरिनटारसम्म ४ वटा, मलेखु, सिन्धुली, हेटौंडा तथा भरतपुरमा दुईदुई वटा रहने भएका छन् । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाका विभिन्न सात स्थानमा चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशमा ६ वटा निर्माण गरिने भएको छ । पोखरामा ३, नवलपुरमा १, दमौली र स्याङ्जामा एकएक वटा निर्माण हुने भएका छन् । लुम्विनी प्रदेशमा ८ वटा चार्जिङ स्टेशन बन्ने भएका छन् । नेपालगञ्जमा १, भालुवाङमा १ तथा दाङमा १ रहने भएको छ । बुटवलमा ३ वटा, बर्दघाटमा दुई र सुनवलमा पनि दुइवटा निर्माण गरिने भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा एउटा स्थापना गरिने भएको छ भने सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी र डडेल्धुरामा एक एकवटा चार्जिङ स्टेशन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।