डेनमार्कको कोपन्हेगन नगरपालिकामा नेपाली युवाको उम्मेद्वारी

-



     -प्रकाश सापकोटा, कोपनहेगन (डेनमार्क)    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



डेनमार्क,२१ बैशाख । डेनमार्कमा रहेका नेपाली समुदायमा परिचित नाम हाे- हरि न्यौपाने। सक्रियताका हिसावले नेपाली चाडपर्व, उत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद जताततै भ्याइदिन्छन् उनी। सरसहयोगका हिसावले नेपालीलाई परेको पीर, मर्कामा कसरी मल्हम लगाउन सकिन्छ भनेर दौडधुपमा लागिहाल्छन्। यतिमा सिमित छैन उनको परिचय, डेनमार्कको राजनीतिमा पनि सक्रिय छन्।

को हुन् हरि ?

नेपालमा चितवनको भरतपुर नगरपालिका-२२ बाट सन् २००८ मा डेनमार्क प्रवेश गरेका हुन्- हरि न्यौपाने। पढाइको सिलसिलामा डेनमार्क प्रवेश गरेका उनले यहाँको परिस्थिति बुझ्दै गएपछि राजनीतिक बाटोबाट समाजका लागि केही गर्न रुची बढ्न थालेसँगै सन् २०१२ बाट डेनिस राजनीतिक कार्यकर्ता बनेका हुन्। 

डेनमार्कका नेपालीहरु बीच निकै लोकप्रिय न्यौपाने अभियान नेपाल नामक नेपाली सामाजिक संस्थाका पूर्व कार्यक्रम संयोजक, नेपाली कलाकारहरुको संस्था इनास डेनमार्कका पूर्व प्रबक्ता लगायतमा सक्रिय सामाजिक अभियानता समेत हुन्। न्यौपानेले डेनमार्कमा सरकारी कम्पनीमा ग्राहक सेवा प्रतिनिधि, डेनिसबाट नेपाली, हिन्दी, उर्दु भाषाको दोभासे तथा कोपन्हेगन नगरपालिकाको भाषा पाठ्शालाहरुमा सिकारुका अनुभव संकलन गर्ने ‘मेन्टर’ का रुपमा कार्यसम्पादन गरेका छन्। यहाँको ‘जब सेन्टर’मा समेत काम गरेका उनलाई डेनिस रोजगारी बजारका सम्भावना, चुनौती र रोजगारीका पूर्वाधारबारे राम्रो ज्ञान छ।

कोपनहेगन नगरपालिकाबाट उम्मेदवारी:

डेनमार्कको सबैभन्दा ठूलो र अहिले सरकार चलाइरहेको पार्टी सोसियल डेमोक्र्याटस्बाट उनै हरि न्यौपानेले कोपनहेगन नगर सदस्य पदका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। चितवनबाट अध्ययनका लागि डेनमार्क छिरेका न्यौपाने कसरी डेनिस राजनितीमा जोडिए होलान् ? उनी भन्छन्- ‘रुचीको कुरा हो, नेपाल हुँदा देखि नै राजनीतिप्रति सचेत थिएँ। यहाँ आएर अरुलाई सहयोग र सेवा गर्दागर्दै राजनीतिको एउटा तहमा पुग्न पाए अझ आफूले आफ्नो समुदायलाई लक्षित गरेर गर्नसक्ने धेरै कामहरु हुनसक्छन् भन्ने बुझेँ र तात्तिएँ।’


अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि कोपेनहेगन नगरपालिकाबाटै उम्मेदवारी दिएका न्यौपानेले झिनो मतले पराजय ब्याहोर्नुपर्यो। ‘तर यसपाली जितको सम्भावना धेरै छ’ आशा व्यक्त गर्दै अगाडि भने- ‘अघिल्लो चोटी अन्तिम समयमा उम्मेदवारीको निर्क्यौल भयो र तयारीमा हतार र अव्यवस्थित जस्तो भयो। तैपनि सम्बन्धित क्षेत्रका सबै नेपालीहरुबाट राम्रो सहयोग पाएँ। यसपाली अझ बढी सहयोगको अपेक्षा गरेको छु र निर्वाचन तयारीबारे विगतका कमजोरी सच्याएर अघि बढिएको छ।’

डेनमार्कको स्थानीय राजनीतिमा सक्रिय हुँदै स्थानीय तहको जनप्रतिनिधिको लागि उम्मेदवारी दिने न्यौपाने इतिहासमै पहिलो नेपाली हुन्। चुनाब जितेमा उनी यहाँको स्थानीय तहको नीति निर्माण तहमा पुग्ने पहिलो नेपाली हुनेछन्।

उम्मेदवारी किन ?

डेनमार्कको सबैभन्दा ठुलो पार्टी सोसियल डेमोक्र्याट्सको सदस्यता सन् २०१२ मा लिएका न्यौपानेले सो पार्टी छान्नुको पनि कारण छ। उनले सदस्यता लिँदाको समयमा आप्रवासीहरुको पक्षमा वकालत गर्ने ठुलो पार्टी थियो, सोसियल डेमोक्र्याट्स। राजनीतिमा अभिरुचि भएका न्यौपानेको डेनमार्कमा अध्ययनको विषय पनि ‘लिडरशिप’ अर्थात् नेतृत्व बारे नै पर्यो।

डेनिस भाषा राम्रो बुझ्न थालेपछि उनले अनलाइनमा उपलब्ध हुने राजनीतिक सामाग्रीहरु खोजी खोजी पढ्न थाले। भन्छन- शुरुवात त गुगल खोजीबाटै गरें। पढ्दै, बुझ्दै जाँदा आप्रवासीको हक र हितका लागि अरुभन्दा बढी झुकाव राख्ने सोसियल डेमोक्र्याट्स पार्टी उनलाई मन पर्यो र त्यसको सदस्यता लिए। अहिले राजनीतिक पार्टीको रणनीति बदलिएको छ तर उनी भन्छन्- ‘आप्रवासीलाई अप्ठ्यारो पार्ने प्रावधानहरूको बिरोध म पार्टी भित्रै बसेर पनि गरिरहेको छु।’


अहिले पार्टीभित्र अलग विचार राख्ने खरो व्यक्तिका रुपमा चिनिएका न्यौपाने कमसेकम आफू बसेको क्षेत्रका आप्रवासीका हक र हितमा नीति निर्माण गर्न आतुर रहेको बताउँछन्। सोही नीति निर्माणमा आफ्नो र आफ्नो समुदायको प्रभाव जमाउन उम्मेदवारी दिएकाले आफ्नो जीत व्यक्तिगत मात्र नहुने बरू हाम्रो नेपाली समुदायकै जीत जस्तै हुने न्यौपानेको तर्क छ।

कस-कसले भोट हाल्न पाउँछन ?

डेनमार्कको स्थानीय निर्वाचनमा भोट हाल्न डेनिस नागरिकता वा पासपोर्ट लिएको वा स्थाइ बसोवास अनुमति पाएको हुन पर्ने प्रावधान छैन। डेनमार्कको स्थानीय निर्वाचनमा १८ वर्ष माथिका जुनसुकै ‘स्ट्याटस’का नेपाली र अन्य विदेशी एबम् आप्रवासीहरुले समेत मतदानमा भाग लिन पाउनेछन्। भिजिट भिसामा डेनमार्क प्रवेश गरेका र अन्य देशबाट घुम्न आएकाहरु बाहेक अन्य प्रक्रियाबाट आएका वालिग नागरिकले आफ्नो सिपिआर (बैधानिक बसोबासको आधिकारिक पत्र) देखाएर आफ्नो क्षेत्रका पुस्तकालय वा त्यहाँ अवस्थित सिटिजन सेन्टरमा गएर मताधिकार प्रयोग गर्न पाउने कुरा न्यौपानेले प्रष्ट पारेका छन्।


‘मतदानका लागि बिरामी, असक्त अर्थात मतदानस्थलमा जान नसक्नेहरुका लागि समेत विशेष व्यबस्था हुनेछ। मतदान केन्द्रमै गएर तथा चिठी मार्फत गरी दुइ किसिमबाट मतदान गर्न पाइनेछ। आउँदो नोभेम्बर १६ मा सम्पन्न हुने निर्वाचन त्यसको छ हप्ता अगाडि देखि नै घरकै पत्र मन्जुषामा प्राप्त हुने मतपत्र वा कोपन्हेगनको मुख्य नागरिक सुबिधा केन्द्र (Citizen Service Centre) मा उपलब्ध हुने मतपत्रमा आफूले चुनेको व्यक्तिलाई मतदान गरी सो केन्द्रमा बुझाउने व्यबस्था मिलाइएको हुनेछ।मतदानको प्रक्रिया, मताधिकार इत्यादिबारे कुनै पनि जिज्ञासा भए कुनै पनि बेला आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्।

जितको आधार:
एक नेपाली युवाले इतिहासमै पहिलोपटक डेनमार्कको राजनीतिमा उदाउने अभ्यास गरेकोप्रति नेपालीहरुको चासो र गर्व बढ्नु स्वाभाविक छ। बिभिन्न कार्यक्रमहरु, खेलकुद, समाजसेवाका कामहरुमा नेपालीहरु माझ मज्जैले भिजेका न्यौपानेलाई योग्य नेपाली मतदाताले त मतदान गर्ने नै अपेक्षा छ।


डेनमार्कका नेपाली सामाजिक, राजनैतिक संघ-संस्था, संगठित समुदायसंग सहकार्य गर्दै शिव कार्की र यमलाल सुवेदीको अगुवाइमा चुनावी अभियान सञ्चालन भइरहेको छ। ‘एक नेपाली सबै नेपालीका लागि’ भन्ने उच्च मनोबल सहित यो जीत नेपाली समुदायकै प्रतिष्ठा भएको कुरा समुदायले पनि बुझेको छ भन्नेमा विश्वास पनि ब्यक्त गरिएको छ।

अर्कातिर पार्टीभित्र रहेर पार्टीले आप्रवासी नीतिमा कडाइको वकालत गरेको सन्दर्भमा अलग धार खडा गरेर त्यसमा अडान लिएकाले पार्टी भित्रको एक खेमाले हरिलाई अगाडि ल्याउन पनि चाहन्छ। यी नै आधार र मुख्यतः कोपनहेगन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले ‘हाम्रो उम्मेदवार’ ठानेर सबैले माया गरिदिए त्यसको परिणाम नै सुखद् हुने न्यौपानेको जिकिर छ। आग्रह गर्छन्- ‘बदर नहोस् भनेर चनाखो भई तपाइँहरू मतपत्रमा मेरो नामको छेउमा तोकिएको चिन्ह प्रष्ट हुनेगरी लगाइदिनुहोस्, ठाउँमा पुगेँ भने तपाइँ-हाम्रो समुदायका लागि निर्वाचित जनप्रतिनिधिले दिन सक्ने जति म दिनेछु।

किन जित्नुपर्छ ?

‘त्यसो त म राजनीतिमा भए पनि नभए पनि, यो चुनाव जिते पनि हारे पनि नेपाली समुदायमा आवश्यक पर्ने सहायताका लागि सदैव तत्पर छु। यद्यपि बाहिर बसेर माग्नु भन्दा चुल्होमा आफैँ भान्से लाग्नुको अन्तर महत्व बेग्लै छ नि ! त्यसैले मेरो जित समुदायकै लागि पनि आवश्यक ठान्छु।’ न्यौपानेले प्रष्ट्याए- ‘पहिलो र महत्वपूर्ण कुरा त आप्रवासीको हक र हित नै मेरो प्राथमिकता हो।त्यसमा पनि नेपाली समुदायमा हुर्कँदै गरेको दोस्रो पुस्तालाई डेनिस रोजगारी बजारमा कसरी सशक्त र गौरवमय स्थानहरूमा पुर्याउन सकिन्छ भनेर म सम्भावनाको खोजी र परिणाममुखी पहल गर्नेछु।’  

नेपाली सांस्कृतिक केन्द्र (कल्चर हाउस)को स्थापना गर्न माथिल्लो निकायसँग समन्वय गरी पहल गर्ने योजना पनि सुनाए। डेनमार्क बसोबास गर्ने र भ्रमण गर्ने अन्य देशका बौद्ध धर्मावलम्बीलाई समेत चासोको केन्द्रका रुपमा नेपालमा जन्मिएका गौतम बुद्धका नाममा कोपनहेगनभित्र एक उपयुक्त स्थानमा ‘बुद्ध पार्क’ निर्माण गराउने पनि उनको लक्ष्य छ। ‘हिन्दूका मन्दिर र मुस्लिमका मस्जिद भएको ठाउँमा यो काम सम्भव छ, केवल सम्बन्धित निकायमा पहल गर्ने मान्छे हुनु जरुरी छ र यो जितले मात्र मलाई त्यहाँ पुर्याउन सक्छ’- उनले भने।

अध्ययन, स्वास्थ्य लगायतका समुदायको विकाशका लागि ल्याइएका परियोजनाहरू नेपाली समुदाय तिर तान्न पनि कोसिस रहने उनले थपे। डेनमार्कका पुस्तकालयहरुमा नेपाली तथा नेपाली लेखकका अनुवादित पुस्तकहरूको उपलब्धता‌ सुनिश्चित गर्ने बिचार पनि छ उनको। त्यस्तै, विशेषत: कामका सिलसिलामा डेनमार्क आइपुगेका नेपालीहरुका लागि सम्भावित कामका क्षेत्र र अवसरबारे सचेत गराउने ‘जब एजेन्ट’ का रुपमा समेत आफ्नो भूमिका सक्रिय रहने पनि विश्वाश दिलाए। 

डेनिस भाषामा पूर्णत: पारङ्गत भइसकेका र सो भाषामा पुस्तक नै लेखिरहेका न्यौपानेले डेनिस भाषामा प्रकाशित, प्रशारित नियम, कानुन, सावधानी आदि  महत्वपूर्ण जानकारीहरु नेपाली समुदायलाई बुझ्न सजिलो होस् भनेर अनुवाद गरी धेरै भन्दा धेरै नेपाली माझ पुर्याउन दिनरात नभनी सकेसम्म चाँडो अपडेट गराउँदै आएका छन्।  भन्छन्- डेनमार्कको सरकारी तवरबाट यो देशमा बसोबास गर्ने सम्पूर्ण नागरिक, विशेष गरी नेपाली आप्रवासीका लागि प्राप्त हुने सेवा-सुबिधा ‌लगायतका महत्वपूर्ण कुरामा नियमित जानकारी दिनु म कर्तव्य ठान्दछु र दिइरहनेछु । (बार्तामा आधारित )