बजेटलाई हामीले ऐतिहासिक मानेका छौं : दुलाल

- बजेट सर्वोत्कृष्ट भएको अटोमोबाइल्स व्यवसायीको प्रतिक्रिया

-


     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित


काठमाडौं, १८ जेठ । अध्यादेशमार्फत सरकारले बजेट सार्वजनिक गर्दा विपक्षी दलबाहेक सबै क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएका छन्। अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को तर्फबाट भन्नुपर्दा यसपालिको बजेटलाई हामीले ऐतिहासिक भनेका छौं। हाम्रो लागि यो बजेट सर्वोत्कृष्ट नै हो। यो बजेट अटोमोबाइल क्षेत्रमा मात्र नभएर सबै क्षेत्रका लागि राम्रो छ।

राम्रोका लागि राम्रो भनेको होइन। यो बजेटमा व्यवसायिक मैत्री, उद्योग मैत्री योजनालाई प्राथमिकता दिइएको छ। हामीले मात्र होइन यो बजेटको स्वागत सबै व्यवसायीले गरिसकेका छन्। यो निजी क्षेत्रका व्यसायीका लागि उत्साहित बजेट हो।

बजेट निर्माण अगाडि सरकारसँग भएका छलफल र बहसमा दिएका सुझावलाई कार्यान्वयन गरिएको छ। हामीले दिएका सुझाव सबै समेटिएका छन्। सबैभन्दा ठूलो कुरा त खोप ल्याउने कुरामा बजेट आएको छ। खोप आयो भने स्वास्थ्यको सुरक्षा हुनेछ। स्वास्थ्यको सुरक्षा भयो भने देश अघि बढ्नेछ। स्वास्थ्य सुरक्षा भएपछि विस्तारै बजार हुँदै सम्पूर्ण क्षेत्र खुला हुनेछ।

व्यवसायीका लागि सहयोगी बजेट
बजेटले अहिले करको दायर, राजश्वको वृद्धिलाई व्यवसायिक ढंगले प्रस्तुत गरेको छ। यसले व्यवसाय सुधार गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ। बजेट प्रस्तुत भएपछि कार्यान्वयन भएकै मानिन्छ। बजेट अनुसार नै सरकारले पूर्वाधार तयार गर्नुपर्छ। पूर्वाधार खर्च सरकारी पाटो हो। नीतिगत कुरा परिवर्तन भएपछि व्यवसायीलाई समेटेको मानिन्छ। यो बजेट भाषण आइसकेपछि स्वत लागू भएको नै मानिन्छ। करका कुराहरु स्वत लागू हुने भएकाले यसले व्यवसायीलाई ठूलो प्रभाव पर्छ भन्ने मलाई लाग्छ।

अटोमोबाइल क्षेत्रमा विद्युतीय सवारी साधनमा लाग्दै आएको सम्पूर्ण कर हटेको छ। जुन पहिला थियो त्यही नै अवस्थामा पुर्‍याइएको छ। अघिल्लो वर्ष बढाइएको सबै घटाइएको छ। त्यसबाहेक अरु पनि अटोमोबाइल्स क्षेत्रमा कामहरु भएका छन्। आयकर छुटका कुराहरु भएका छन्। तर अधिकृत विक्रेता नभएका व्यक्तिले २० प्रतिशत जरिवाना तिरेर ल्याउन पाउने प्रावधान राखिएको थियो। यसले उपभोक्ता ठगिएको अवस्था थियो। त्यो पनि खारेज भएको छ। अब सबै अधिकृत विक्रेताले मात्रै आयात गर्न पाउनेछन्। त्यही अनुसार व्यवसाय अगाडि बढ्छ। यो बजेटले अटोमोबाइल्स क्षेत्रलाई केही न केही राम्रो अवस्थामा पुर्‍याएको छ।

कोरोना महामारीले नेपालको व्यवसाय र अर्थतन्त्रमा मात्र असर गरेको होइन विश्व नै महामारीको चपेटामा परेको छ। गतवर्ष जेठ २५ गते खुलेपछि लकडाउन, निषेधाज्ञा खुलेको थियो। त्यसपछि राजश्व पनि उठेको थियो। व्यवसाय पनि रिकभर भएको थियो। त्यस्तै यसपालि पनि जेठ २५ सम्ममा निषेधाज्ञा खुल्यो भने राजश्व पनि उठ्छ र व्यवसाय रिकभर भइहाल्छ। निषेधाज्ञा खुल्नासाथ अटोमोबाइल छिटो रिकभर हुन्छ। पर्यटन, होटललाई समय लाग्नसक्छ। तर अरु व्यवसाय चलेपछि देश आफैँ अघि बढ्छ भन्ने मलाई लाग्छ।

विद्युतीय सवारी सरकारको इज्जत
विद्युतीय सवारी साधनको मूल्य बढी भएकाले यसको आफ्नै क्षेत्र छ। यो एउटा सरकारको इज्जतको कुरा हो। आफ्नो देशमा उत्पन्न भएको ऊर्जा प्रयोग गरेर वातावरणमैत्री गाडी चलाउने सरकारको चाहना हो। तर त्यो अनुसार हामीसँग सडक पूर्ण रुपमा तयार भएको छैन। त्यो अनुसार रकम पनि महंगो पर्ने भएकाले हामीसँग क्रयशक्ति पनि छैन। त्यही भएर यसले पनि बजार लिँदै गर्छ। तत्कालका लागि अरु पनि चल्दै गर्छन्। अब १५–२० वर्षमा विद्युतीय र इन्धनबाट चल्न सवारी साधनको बजार बराबरी हुन्छ। विद्युतीय सवारीका लागि सहज अवस्था नआएसम्म अन्य सवारी साधनलाई पनि अप्ठ्यारो पर्दैन। विद्युतीय सवारी सधानको संख्या बढ्दै गएमा हामी त्यही अनुसार अगाडि बढ्नुपर्छ।

अहिलेसम्म विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनको समस्या थियो। चार्जिङ स्टेशन त अब सरकारले बनाउने भइहाल्यो। आगामी आर्थिक वर्षमा ५ सय वटा चार्जिङ स्टेशन बनाउने भनेर बजेट नै विनियोजन गरेपछि त्यो भइहाल्छ। अहिले पनि ४ सय किलोमिटरसम्म चल्नसक्ने विद्युतीय गाडीहरु आइसकेका छन्। त्यसको पनि समस्या हुँदैन। अब ५ सय वटा चार्जिङ स्टेशन नेपालमा बन्दा त्यसको पनि समस्या हुँदैन। सय वटा जति काठमाडौंमै चलाउने भनेको छ।

विद्युतीय सवारी साधनले एउटा त सरहरको सुन्दरता थपिन्छ। वातावरण मैत्री भएकाले स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ। सहरको सुन्दरताका लागि यत्तिले मात्र पुग्दैन। बढी जाम हुने बाटामा फ्लाइओभर, अन्डरपास, पुरानो रिङरोड, नयाँ रिङरोड बनाउने भन्ने कुरा भएको छ। यसले काठमाडौं जस्तो सहरलाई व्यवस्थित बनाउन सहयोग पुग्छ।

बजेटले स्पष्ट भाषामा राम्रा कार्यक्रम ल्याएको छ। अब भनेको कार्यान्वयनको पाटो महत्वपूर्ण हुन्छ। सरकारको आफ्नै कारणले वा राजनीतिक कारणले कार्यान्वयन गर्न सकेनन् भने अर्कै कुरा हो। कार्यान्वयनको पक्षलाई छोडेर हेर्दा व्यवसायिक दृष्टिकोणले बजेट उत्कृष्ट छ।

सामान्यता पूर्वाधारका कुरामा बजेट खर्च भएन भने बजारमा क्रयशक्ति घट्छ। क्रयशक्ति घटेमा बजारमा कारोबार कम हुनसक्छ। नभए अरु कुराबाट हामी सन्तुष्ट छौं। सबैले स्वागत गरेका छन्। राजनीतिक हिसावले चुनाव केन्द्रित भन्ने आरोप लागेको छ। तर हरेक वर्ष यस्तै बजेट आओस भन्ने हाम्रो चाहना हो।

(अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालसँग गरिएको कुराकानीमा आधारित)