सिटिजन्स बैंकले घरैमा दुई लाखसम्मको कर्जा दिने

-


     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित


काठमाडौं, २५ जेठ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई ३० दिनसम्मका लागि बढीमा २ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ।

बैंकले तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकलाई बढीमा २ लाख रुपैयाँसम्म कर्जा दिने भएको हो।

यो कर्जा लिन कुनै पनि निवेदन दिन र कानुनी कागजात गरिरहनुनपर्ने बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ एपमा लग-इन गरेर काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा घरबाटै रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरिसकेको जनाएको छ।

बैंकले देशभरमा १ सय ६८ शाखा, १ सय ११ एटिएम र १ सय ९ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ।

विनाधितो, विनाकागजी प्रक्रिया, विनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो सेवा लोकप्रिय हुने बैंकले विश्वास लिएको छ।